१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘लिली बिली’ खेल्दै प्रदीप

काठमाडौं- जेठमा फिल्म ‘दीपेन्द्र सरकार’को घोषणा हुँदा फिल्मका मुख्य अभिनेता प्रदीप खड्का चार नेपाली सुरक्षागार्डसहित कार्यक्रमस्थलमा आएका थिए । प्रदीपकै अभिनय रहने अर्को फिल्म ‘लिली बिली’को घोषणा कार्यक्रममा पनि प्रदीप उसैगरी चार अफ्रिकी मूलका सुरक्षागार्ड लिएर पत्रकार सम्मेलनमा देखापरे । नेपालमा विरलै देखिने यस्तो अभ्यासले मंगलबार नै बहस निम्त्यायो । घोषणा कार्यक्रमको समाचार लिन गएका पत्रकारले औपचारिक कार्यक्रम लगत्तै प्रदीपसँग सुरक्षागार्डको औचित्यबारे प्रश्न गरे । प्रदीपले सुरक्षागार्ड आफूले मागेको नभई निर्माताले दिएको बताए ।
पत्रकार सम्मेलनमा प्रदीपसँगै नवनायिकाद्वय जसिता गुरुङ र रेबिका गुरुङ पनि सुरक्षागार्डका साथ आएका थिए । निर्देशक मिलन चाम्सले नेपाली कलाकारलाई सम्मान दिन सुरक्षागार्डसहित कार्यक्रममा उपस्थित गराएको बताए ।
प्रदीपले फिल्मको स्क्रिप्ट र काम गर्ने टिम राम्रो लागेकाले ‘लिली बिली’मा अनुबन्धित भएको बताए । ‘यो फिल्मबाट मैले ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा बनाएको छविभन्दा राम्रो छवि बनाउनेछु,’ उनले भने, ‘मलाई कलाकारको ग्रेडिङ र उसले लिने पारिश्रमिकको रेटिङमा बस्नुभन्दा पनि दर्शकको मनमा बस्नुछ । त्यसमा म अवश्यै सफल हुनेछु ।’
फिल्मकी नवनायिकाद्वय जसिता र रेबिकाले फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताए । निर्देशक चाम्सले प्रेमकथा ‘कमेडी फ्लेबर’ रहेको बताए । ‘हामी इंग्ल्याण्ड र स्कटल्यान्डमा फिल्म सुट गर्नेछौं । त्यसकारणले पनि दर्शकलाई ती लोकेशन भर्जिन लाग्नेछन्,’ मिलनले भने, ‘मैले यसअघि बनाएका फिल्ममा प्रेमकथा रहे पनि यो फिल्ममा ती कथाभन्दा फरक किसिमको प्रेम हुनेछ ।’
चाम्सको यो छैटौं फिल्म हो । चाम्सका ‘हँसिया’ र ‘वीरबिक्रम’ रिलिज भइसकेका छन् भने ‘ह्याप्पी डेज’, ‘ब्लाइन्ड रक्स’ र ‘बब्बी’ प्रदर्शनका लागि तयार छन् ।
काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा बन्ने फिल्ममा गोविन्द शाही र सुदीप खड्काको लगानी रहनेछ । गोविन्द र सुदीपले फिल्मले युवापुस्ताको प्रेमलाई प्रतिनिधित्व गर्ने बताए । फिल्ममा अनुपविक्रम शाही र हलिउडकी कलाकार जेनी इको पनि अभिनय रहनेछ । फिल्ममा प्रदीप भारद्वाजको पटकथा र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

प्रकाशित: २९ भाद्र २०७४ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App