८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४को मृत्यु

कवालालम्पुर – मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको छ। 

यस आगलागीमा परी २२ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त विद्यालय बालकहरुका लागि मात्र हो। 

यस आगलागीमा परी मृत्यु भएका व्यक्तिमा अधिकांश १३ देखि १७ वर्षका रहेका जनाइएको छ। अधिकारीहरुका अनुसार केही बर्षयता भएका भीषण आगलागी मध्ये यो सबैभन्दा खतरनाक हो। 

आगलागी बिहीबार बिहानको मिर्मिरेपूर्व नै भएको थियो । त्यस समयमा बालकहरू सुतिरहेको अनुमान गरिएको छ। 

मर्निङ वाकका लागि नागरिकहरु सडकमा गएका बेला उक्त विद्यालयको माथिल्लो तलामा आगोको मुस्लो निस्किएको देखेका थिए। 

साथै बालकहरुले भित्रबाट बचाउ बचाउ भन्दै रोइरहेको आवाज पनि उनीहरुले सुनेका थिए। त्यसपछि उनीहरुले नै प्रहरी र दमकललाई खबर गरेको बताइएको छ। 

मलेसियाको राजधानी क्वालालम्पुरको मध्य भागमा रहेको इस्लामिक धार्मिक विद्यालय ताहफिजमा बिहीबार विहानै आगलागी सुरु भएको थियो। 

स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यहरुमा आगलागीको कारण ठूलो धुवाँको मुस्लो र खरानी उडेको तथा सो विद्यालयबाट किशोरहरु भाग्ने कोशिस गरिरहेका र भागेका देखिन्छ। 

क्वालालम्पुरका प्रहरी प्रमुख अमर सिंहका अनुसार सो आगलागीमा परी मृत्यु भएका व्यक्तिको शरीर पूरै जलेको थियो। 

दुर्भाग्यवस यस विद्यालयमा एउटै मात्र प्रवेशद्वार रहेको र सवै शवहरु एकको माथि अर्को गरी त्यहीँ थुप्रिएको दृश्य पनि टेलिभिजनहरूले देखाएका छन्। 

मलेसियाको आगलागी उद्धार विभागका निर्देशक खिरुदिन ड्राहम्यानले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुुसार यो यस देशको २० वर्षयताको सबैभन्दा भीषण आगलागी हो। 

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुमानमा उक्त विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ। 

प्रकाशित: २९ भाद्र २०७४ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App