७ वैशाख २०८१ शुक्रबार
विचार

डलर-क्रान्ति

राजा वीरेन्द्रको शासनकालमा काठमाडौँमा जन्मिएका एक बालक अहिले कुनै एउटा स्वतन्त्र राष्ट्रका राजा भएका छन् । ती बालक र उनको परिवार विदेशी भए पनि राजा वीरेन्द्रले आफन्तलाई झैँ माया गर्थे, उनीहरूलाई ।

जापानका सम्राट् हिरोहितोले राजा वीरेन्द्रलाई लेखेका व्यक्तिगत पत्रहरू पढ्दा नेपाल र जापानबीच घनिष्ट सम्बन्ध रहेको बुझ्न सकिन्छ । जापानी सम्राट् हिरोहितोले राजा वीरेन्द्रलाई लेखेका पत्रमा ‘मेरो भाइ’ (माई ब्रदर) भन्ने सम्बोधन गरेका छन् । राजदरबारमा धेरै वर्ष सेवा गरेका एकजना सचिवमार्फत प्राप्त त्यस्तो पत्रको प्रतिलिपि पंक्तिकारसँग सुरक्षित छ ।

नेपालले सनातन धर्म, संस्कृति, परम्परा एवं बौद्ध–बोनजस्ता सभ्यताको रक्षा गर्न सकेन भने केही वर्षपछि काठमाडौँ दक्षिण एसियाको भ्याटिकन सिटी बन्न सक्छ ।


जापानी सम्राट्ले सन् १९७५ को फेब्रुअरी १५ तारिखमा राजा वीरेन्द्रलाई पठाएको पत्रमा “सर, माई ब्रदर” सम्बोधन गरिएको छ । सम्राट्को पत्रको अन्त्यमा पनि “सर, माई ब्रदर, गुड ब्रदर” (महाशय, मेरा भाइ, असल भाइ) भनेर अगाध माया देखाएका छन् । दोस्रो विश्वयुद्धभन्दा पहिले नै सम्राट् भएका हिरोहितोले राजा वीरेन्द्रलाई कति माया गर्दा रहेछन् भन्ने यो सानो उदाहरण हो । जापानी सम्राट्द्वारा प्रदान गरिएको सर्वोच्च विभूषण स्वीकार गरिदिन आग्रह गरिएको सो पत्रमा राजा वीरेन्द्रको खुसी र नेपाली जनताको समृद्धिको कामना गरिएको छ ।
दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा प्रारम्भिक शिक्षा लिएर बेलायतको इटन कलेज र अक्सफोर्ड तथा हार्वड विश्वविद्यालयमा अध्ययन गरेका राजा वीरेन्द्रले टोकियो विश्वविद्यालयमा अध्ययन गर्दा त्यहाँको राजपरिवारसँग परिचय भएको बुझिन्छ भने नेपाल र जापान दरबारबीचको सम्बन्ध त्यो भन्दा पुरानो रहेको पाइन्छ ।
ब्रिटेनकी महारानी एलिजाबेथले राजा महेन्द्र तथा राजा वीरेन्द्रको शासनकालमा दुईपल्ट नेपाल भ्रमण गरिन् भने राजा महेन्द्र तथा वीरेन्द्रले ब्रिटेनको राजकीय भ्रमण गरेर दुई देशको सम्बन्धलाई सुदृढ बनाउन विशिष्ट योगदान गरेको पाइन्छ । बेलायतकी महारानीको पछिल्लो नेपाल भ्रमणको बेला पंक्तिकार काठमाडौँमा पत्रकारितामा संलग्न रहेको हुँदा धेरै कुरा राम्ररी सम्झना छ । महारानीको स्वागत–सत्कारमा कुनै भुलचुक र कमी नहोस् भनेर सम्बन्धित सबै व्यक्तिलाई पटकपटक ब्रिफिङ गरिन्थ्यो । सिंहदरबारको बेलायती बैठकमा आयोजित रात्रिभोजदेखि लिएर सम्पूर्ण आतिथ्यको ब्रिटेनका सञ्चारमाध्यमहरूले प्रशंसा गरेका थिए ।
२०४२ साल फागुन ६ गते महारानी एलिजाबेथ र उनका पति फिलीप नेपाल आउँदा झन्डै एक महिना अघिदेखि काठमाडौँमा व्यापक तयारी गरिएको थियो । ब्रिटेनकी महारानीले नेपाल भ्रमण गरेपछि ब्रिटिस पर्यटकहरू निक्कै बढे । त्यसपछि २०४३ साल फागुन २७ गते जापानका नवयुवराज नारुहितो नेपाल आए । २०४४ साल साउन ३ गते जर्मन चान्सलर डा. हेल्मुट कोल र उनकी पत्नी हाभ्लोरले नेपाल भ्रमण गरे । २०४४ मंसिर ६ गते स्पेनका राजा हुआँ कार्लोस् र उनकी पत्नी सोफिया नेपाल आए । २०४४ चैत २५ गते श्रीलंकाका राष्ट्रपति रणसिंघे प्रेमदास र उनकी पत्नी हेमा काठमाडौँ आए । राजा वीरेन्द्रले पचासौँ राष्ट्र भ्रमण गरे र कैयन् राष्ट्राध्यक्ष, प्रधानमन्त्री, विद्वान्–विदूषीलाई नेपालमा स्वागत गरे । भनिन्छ, “असल कूटनीति भनेको विनम्र तथा सभ्य व्यवहार हो ।” अशिष्ट, अभद्र, अपरिपक्व, अभिमानी, अज्ञानी र अमर्यादित व्यक्तिहरूबाट सफल र असल कूटनीतिको आशा अपेक्षा गर्न सकिँदैन । नेपाली राजनीतिजस्तै कूटनीति पनि आज पतनोन्मुख छ । यसको उत्तर राजनीतिज्ञहरूको व्यवहारमै पाइन्छ ।
इतिहासमा ‘ससाना’ भनिएका अभिलेखहरूको पनि गहिरो अर्थ लाग्छ । सुब्बा हीरालाल झाले उनका बाबु कुलानन्द झा (दानी सुब्बा) मरेपछि संवत् १८५७ मा पशुपतिनाथ मन्दिर परिसरमा सुनको सालिक बनाइदिए । रणबहादुर शाहकी रानी कान्तवती तराईकी मैथिल ब्राह्मणकी छोरी थिइन् । उनीबाट जन्मेका गीर्वाणयुद्धविक्रम शाहले हनुमानढोकामा पहिलो पुस्तकालय खोले । “मधिसेका भान्जा” राजा भएका कारणले मात्र नेपाल दरबारमा मधिसे बाहुनहरू (झा वा मिश्र) काठमाडौँ आएका होइनन् । प्रताप मल्लकी आमासमेत मैथिल थिइन् भने उनले छोरालाई मैथिलीलगायतका भाषा सिकाएको पाइन्छ । जसको प्रभावले उनी साहित्यकार भए । हजाराँै वर्ष अघिदेखि काठमाडौँसँग तराई, पहाड र हिमाली क्षेत्रको अटुट सम्बन्ध रहेका अभिलेख छन् । श्री ३ चन्द्र शमशेरले सोलुुखुम्बुका सांघे शेर्पासँग मित लगाएर हिमाली क्षेत्रको सुरक्षा व्यवस्था हेरिदिन आग्रह गरेका थिए भने कास्की घान्द्रुकका खड्गसिंह गुरुङसँग निकट सम्बन्ध राखेर जंगबहादुरले सो क्षेत्रको सुरक्षा लगायतका कैयन् विषयमा उनलाई विश्वास गरेको पाइन्छ ।
विदेशीको द्रव्यमोहमा परेका कतिपय लेखक, विश्लेषक, चिन्तक, पत्रकार, मानव अधिकारकर्मीले आज बिखण्डनको आगो सल्काएर फाइदा लिन खोजेको देखिन्छ । तराईका केही पृथकतावादीका पक्षमा वकालत गर्ने र चीनबाट टुक्र्याएर तिब्बतलाई पृथक राष्ट्र बनाउनुपर्छ भन्नेका पक्षमा केही मानव अधिकारवादी (?) सक्रिय देखिएका छन् । राष्ट्रवादी सरकार भइदिएको भए सोह्र श्राद्धमै उनीहरूका नाममा सन्तानले पिण्ड र तर्पण दिनुपथ्र्यो ।
चेतनाले मानिसलाई उद्वेलित बनाउँछ । स्वतन्त्रता, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा उभ्याउँछ । १९९७ सालमा काठमाडौँको टेकुमा राणा शासकले शुक्रराज शास्त्री (जोशी) लाई मृत्युदण्ड दिएको केही घन्टामै घटनास्थलमा पुगेर सबै दृश्य हेरेपछि “मेरो अन्तरस्करणमा राणाशासन विरोधी भावनाको झिल्को पैदा भयो ।” पुराना राजनीतिज्ञ प्रयागमानसिंह सुवाल सम्झिन्छन् । “रुखमा झुन्डिएको शुक्रराजको निर्जीव शरीरको परिक्रमा गरेर ढोगेपछि एकजना वृद्धले भने –‘स्याबास् छोरा, छोरो हुनु त तिमी जस्तो । राष्ट्र र जनताका लागि प्राणोत्सर्ग ग¥यौ । म अत्यन्त खुसी छु ।’ ती वृद्ध थिए सहिद शुक्रराजका पिता माधवराज जोशी ।” सुवाल भन्छन् ।
ओमबहाल (काठमाडौँं) स्थित आफ्नै निवासमा पंक्तिकारसँग कुरा गर्दै सुवालले पुराना कुराहरू सम्झे । बेलाबेलामा नेवारी भाषामै प्रश्न गरेर पत्रकार कुमार रञ्जितले सहजकर्ताको भूमिका निर्वाह गर्दा सुवाललाई झन्डै सत्तरी–असी वर्ष पुराना कुरा सम्झिन सजिलो भयो । कीर्तिनिधि विष्टको प्रधानमन्त्रित्वकालमा मन्त्री भएका ८८ वर्षीय सुवाल भन्छन्, “त्यति बेला नैतिकता, आदर्श, अनुशासन, सिद्धान्त, सच्चरित्र, दायित्वबोध सबै चाहिन्थ्यो । अचेल राजनीति गर्न पैसा मात्र भए पुग्छ ।” उनी सानो बालकझैँ खुलेर हाँसे ।
इतिहासको अपमान र अपव्याख्या गरिएकामा सुवालजस्ता कैयन् शिक्षित, सभ्य र संस्कारीहरू आज अप्रसन्न छन् । उनीहरूको तर्क छ, “अहिले नेपाली राष्ट्रियता र सभ्यतामाथि ग्रहण लागेको छ । त्यसैले इतिहास छोपिएको छ ।”
आजको भियतनाम जन्मिनुभन्दा धेरै वर्षअघि इन्द्रबर्मनले सन् ८७५ मा त्यहाँ इन्द्रपुरी सहर बसाएका थिए । अमेरिकाले भियतनाममा बमले हमला गर्दा कैयन् प्राचीन मन्दिर र सम्पदा खरानी भए । खमेर हिन्दु राजा यशोबर्मनले कम्बोडियामा बनाएको अंकोर (एङ्गोर) मन्दिर ‘विश्व सम्पदा’ मानिन्छ । एघारौँ र बाह्रौँ शताब्दीमा त्यहाँँ बैष्णव धर्मको प्रभाव बलियो भएकाले विष्णु भगवान्का मन्दिर बने । बिस्तारै महायान सम्प्रदाय बलियो देखियो । पछि थेरवादको प्रभाव बढ्यो । सन् १२९६ मा कम्बोडिया पुगेका चीनका विद्वान् दागुआनले त्यहाँ थेरवादी बौद्धहरू धेरै पाइएको उल्लेख गरेका छन् । नेपालले सनातन धर्म, संस्कृति, परम्परा एवं बौद्ध–बोनजस्ता सभ्यताको रक्षा गर्न सकेन भने केही वर्षपछि काठमाडौँ दक्षिण एसियाको भ्याटिकन सिटी बन्न सक्छ । नेपाली सभ्यता धुलिसात् बन्न सक्छ । त्यसका लक्षणहरू स्पष्ट देखिएका छन् ।
‘नेपाल एन्ड द नेप्लिज’ पुस्तकमा गिम्लेटले “नेपालका हिन्दुहरू जातिच्युत भएपछि मुसलमान बन्छन्” भनेका छन् । यो सरासरी हावादारी कुरा हो । उन्नाइसौँ शताब्दीको सुरुसम्म नेपालका किसानसँग जग्गा–जमिन थिएन भनेर ‘द साइलेन्ट क्राई’ पुस्तकमा स्टिलरले लेखे, त्यो कसले पत्याउँछ ? पर्सिभल ल्यान्डनले तामाङहरूको पुख्र्यौली पेसा भरिया नै हो भनेर झुटो लेखे । ओल्डफिल्डले पृथ्वीनारायण  शाहलाई  कायर, धूर्त र अमानवीय भन्दै गाली गरेर सन् १८८० मा किताब लेखे । यो इतिहासको अपव्याख्या मात्र थिएन, नेपालबाट फिरंगीहरूलाई लखेटेको प्रतिशोध र विषवमन थियो । त्यसैले डलरले क्रान्ति गर्ने अठोट गरे पश्चिमाहरूले ।
इसाईहरूले नेपालमा हिन्दु र बौद्ध लगायत प्राचीन सभ्यता मास्ने मिसन चलाएकै हुन् । वि.सं. २००८ मा नेपालमा एकसय जनाभन्दा बढी इसाई थिएनन् । २०५९ साल पुस २० देखि २७ गतेसम्म काठमाडौँ बुढानिलकण्ठस्थित पार्क भिलेज होटलमा तिब्बत, सिक्किम, दार्जिलिङका साथै नेपालका चौध अञ्चलका इसाई प्रतिनिधिहरूको सम्मेलनले राजतन्त्र तथा हिन्दु धर्म निर्मूल गर्दै धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न राजनीतिक दलहरूलाई दबाब दिने निर्णय गरेको सञ्चारमाध्यमहरूमा आयो । हिमालयन पार्टनर्स नामको संस्थाले आयोजना गरेको सो सम्मेलनमा दातृ निकायको भेषमा बसेका सबै आइएनजिओलाई सक्रिय गराएर हिन्दु राष्ट्राध्यक्ष हटाएपछि मात्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामार्फत आफ्नो लक्ष्य पूरा हुने ठहर गरेको सम्मेलनका एकजना सहभागीले बताए । उनी भन्छन, “वकील, पत्रकार, राजनीतिक दलका भ्रातृ संगठन, इन्जिनियर लगायत विभिन्न पेसाकर्मीहरूलाई पश्चिम राष्ट्रहरूले आर्थिक लगानी गरेर सडकमा उतारे । त्यसपछि जनताको आवाज यही हो भन्दै संसारभरि प्रचार गरियो ।”
गाउँगाउँमा बाइबल पु¥याउन तामाङ, थारु, राई, लिम्बू, गुरुङ, नेवारी, मैथिली, तिब्बती, मगर, सतार, राजवंशी आदि भाषामा बीस लाख बाइबल छाप्ने निर्णय गरिएको ती सहभागीले बताए । राष्ट्रलाई नै तहसनहस पार्ने गुप्त योजनाअनुसार माओवादीमार्फत पश्चिमाहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गराउन ठूला दलमा करोडौँ रुपियाँको लगानी गरेको उनको तर्क छ । मानवशास्त्री सौभाग्य शाहले लेखेका छन्, “नेपाल धर्मनिरपेक्ष घोषणा गरिएपछि क्रिश्चियनलाई धेरै सजिलो भएको छ ।”
२०६३ जेठ ४ गते पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, सुवास नेम्वाङलगायतका नेताको सक्रियतामा नेपाल ‘धर्मनिरपेक्ष’ घोषणा गरियो । २०६५ साल भित्रमा ललितपुरमा १ सय ३८ चर्च स्थापना भए भने मकवानपुरमा १ सय ३६ चर्च खुले । देशका विभिन्न भागमा बितेका १० वर्षमा झन्डै सात हजार चर्च स्थापना भइसकेको काठमाडौँस्थित इसाई अगुवाहरूको भनाइ छ । चर्च धेरै भएका जिल्लामा माओवादी नै क्रिश्चियन र क्रिश्चियन नै माओवादी रहेछन् भन्ने यथार्थ उजागर हुँदै आयो । तराई, पहाड र हिमाली जिल्लामा झन्डै तीन सयभन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जातीय उत्थान, महिला अधिकार, गरिबी निवारण, स्वास्थ्य, शिक्षा, सञ्चार, उपकार आदिका नाममा अबौँ रुपियाँ खर्च गरेको अभिलेखले देखाउँछ । यस्तै नेपालमा तीन सयभन्दा बढी एफएमहरूले अन्तर्राष्ट्रिय इसाई संस्थाहरूबाट आर्थिक सहायता पाइरहेको पनि सार्वजनिक भइसकेको छ ।
राष्ट्र बचाउनुपर्छ भन्ने स्वाभिमान र सचेतना भइदिएको भए सरकारले विदेशीको हस्तक्षेप रोक्न सक्थ्यो । डलर र युरोको भेलमा पौडी खेलिरहेका अधिकांश राजनीतिज्ञ, उच्चपदस्थ कर्मचारी, कूटनीतिज्ञ, सुरक्षाकर्मी, मानवअधिकारवादी, सञ्चारकर्मीलगायत अंग नै राष्ट्रका अहितमा सक्रिय रहेको देखिन्छ । राष्ट्रका हितमा निर्जीव जस्तो देखिने र परिवर्तनको बहनामा राष्ट्रलाई बिस्तारै पराधीन बनाउने रणनीति उजगार हुँदै गएको छ । यसरी डलरले ल्याएको क्रान्तिले राष्ट्रको अस्तित्व नै आज संकटमा परेको छ । तर राष्ट्रलाई संकटमा धकेलेर आफूलाई क्रान्तिकारी देखाउन खोज्नेहरूलाई कसले निर्वस्त्र तुल्याउने ? उनीहरूका विरुद्ध कसले आवाज उठाउने ?

प्रकाशित: ३० भाद्र २०७४ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App