७ वैशाख २०८१ शुक्रबार
अर्थ

संसारभरका पर्यटक स्वागत गर्न नेपाल तयार

मकाउ (चीन)- विनाशकारी भूकम्पपछि गति लिँदै गएको नेपाली पर्यटन क्षेत्र अब संसारभरका पर्यटकलाई स्वागत गर्न सक्ने गरी तयार भएको छ ।
२०७२ वैशाख १२ मा गएको भूकम्पले गम्भीर क्षति बेहोरे पनि पर्यटन उद्योग संसारभरका पर्यटकलाई स्वागत गर्न सक्ने गरी तयार भएको हो । चीनको मकाउमा सुरु तीनदिने ‘पाटा ट्राभल मार्ट २०१७’ मा सहभागी नेपालका प्रतिनिधिहरुले यही सन्देश दिँदै संसारभरका पर्यटकलाई नेपाल स्वागत गर्न आतुर रहेकोे बताएका छन् ।
पाटामा सहभागी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई विश्वास गरेर पर्यटकले भ्रमणलाई महŒव दिइरहेको बताए । ‘पछिल्ला दिनमा पर्यटक आगमनबाट हामी थप हौसिएका छौं,’ जोशीले बिहीबार भने, ‘नेपाल सुरक्षित, भरपर्दो र उत्कृष्ट गन्तव्य भन्ने यसले पुष्टि गरेको छ ।’
उनका अनुसार संसारका धेरै माध्यमले नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेका छन् । संसारकै प्रख्यात ट्राभल वेबसाइट लोन्ली प्लानेटले ‘बेस्ट भ्यालु डेस्टिनेसन २०१७’, अमेरिकाको नेसनल जिओग्राफीले ‘बेस्ट स्प्रिङ ट्रिप्स २०१७’, ट्रिप एड्भाइजरले ‘बेस्ट डेस्टिनेसन’, फोब्र्सले ‘बेस्ट भ्यालु डेस्टिनेसन’ मा गणना गरेका छन् । ‘यस्ता सफलतालाई हामी अझै विश्व बजारमा क्यास गरिरहेका छौं,’ जोशीले भने, ‘यसका लागि सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी छ ।’
पर्यटक आकर्षित गर्न नेपालमा सर्वोच्च शिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनीमात्र नभई संसारकै लामो जिपलाइन, संसारकै दोस्रो गहिरो बन्जी जम्पिङ जस्ता स्थान प्रशस्त रहेको उनको भनाइ छ ।
पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो ६ महिनामा चार लाख ६० हजार दुई सय ३७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको पहिलो ६ महिनाको दाँजोमा साढे ४१ प्रतिशतले बढी हो । आठ महिनामा भने ६ लाखभन्दा बढी पर्यटक आएका छन् ।
त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरका अध्यक्ष सुमन पाँडेले नेपाली ट्राभल कम्पनी यस किसिमका अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी नभए पछाडि पर्ने बताए । ‘व्यापार विस्तार गर्न प्रवद्र्धन गर्नैपर्छ र नहुँदा नाम चलेका कम्पनी पनि बन्द भएका उदाहरण छन्,’ उनले भने, ‘यो निरन्तर प्रक्रिया हो ।’
पछिल्लोपटक नेपाल वायुसेवा निगम र पर्यटन बोर्डसँगको सहकार्यका कारण उल्लेख्य प्रभाव परेको उनले बताए । व्यापार, ब्रान्ड, समुदाय, सञ्जाल र सूचना प्रवाह गरी पाँच उद्देश्य लिएर पाटा अगाडि बढेको पाँडेले बताए । ‘नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने एकमात्र माध्यम अहिले पाटा–नेपाल च्याप्टर भएको छ,’ उनले भने, ‘यसमा हामी गर्व गर्छौं ।’
नेपालको पहिलो पाँचतारे होटल सोल्टीका महाप्रबन्धक उपौल मजुमदारले पर्यटन आकर्षित गर्न नेपालमा धेरै सम्पदा, गन्तव्य र गतिविधि रहेको बताए । नेपालमा समुद्र सतहबाट ५० मिटरदेखि संसारकै अग्लो आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा हिमालसम्म रहेको उनले बताए । ‘यस्ता गन्तव्य डेढ सय किलोमिटरको दुरीमा छन्,’ उनले भने, ‘छोटो दुरीमा यस्ता प्राकृतिक धरोहर संसारमा कहीँ पनि छैनन् ।’
त्यसैगरी पाटाका प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले मकाओमा सुरु पाटाको ४०औं मार्टमात्र नभई दशकौंदेखि पर्यटन क्षेत्रका क्रेता र विक्रेतालाई एउटा राम्रो मञ्च उपलब्ध गराएको जानकारी दिए । पाटा मार्ट अहिले पर्यटन सम्बद्ध व्यवसायी, कम्पनी, वायुसेवा र सरकारी कम्पनीका लागि विश्वासिलो माध्यम बनेको उनले बताए ।
त्यसैगरी, पाटाका उपाध्यक्ष क्रिस बट्रिलले नेपाल संसारकै उत्कृष्ट पर्यटन गन्तव्य भएको बताए । उनले २५ वर्षअघि ‘हनिमुन’ मनाउन नेपाल गएको स्मरण गर्दै संसारभरका पर्यटकलाई नेपाल घुम्न जान आग्रह गरे ।
‘नेपालमा पर्यटक आकर्षित गर्न मन लोभ्याउने गन्तव्य, सम्पदा, धरोेहरमात्र नभई संसारकै अग्लो सगरमाथा, बुद्ध जम्नस्थल लुम्बिनी छन् तर सबैभन्दा महŒवपूर्ण कुरा नेपालीहरू सधैं हाँसिरहेका हुन्छन् ।’
पाटा ट्राभल मार्टमा ६० भन्दा बढी देशका एक हजारभन्दा धेरै प्रतिनिधि सहभागी छन् । नेपालबाट मार्टमा वायुसेवा निगम, पर्यटन बोर्ड, विभिन्न होटल, ट्राभल एजेन्सी लगायत सहभागी छन् ।

प्रकाशित: ३० भाद्र २०७४ ०५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App