८ वैशाख २०८१ शनिबार
अर्थ

आठ महिनामा ६ लाख पर्यटक

काठमाडौं- दुई वर्षअघिको भूकम्पका कारण घटेको पर्यटक आगमनमा पछिल्लो समय सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख  पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१६ को पहिलो ६ महिनामा तीन लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष ६ महिनामा चार लाखभन्दा बढी पर्यटक आएका छन् ।
पर्यटक आगमनको पछिल्लो तथ्यांकले यो वर्ष पोहोरको तुलनामा पर्यटक दोब्बर हुने देखाएको छ । अगस्टपछि विदेशी पर्यटक आउने क्रम बढेको बोर्डले जनाएको छ ।
यस वर्षको पर्यटकीय यामसँगै काठमाडौंका होटल भरिभराउ हुन थालेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । पोहोर यो बेला ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द भएका थिए ।
होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए । अनुमान अनुसार पर्यटक आए अहिलेसम्मकै बढी हुनेछ । सन् २०१२ मा आठ लाख हाराहारी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।
यस याममा भारतीय र चिनियाँ पर्यटक नेपाल भ्रमणमा बढी आउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा विभिन्न मुलुकबाट झन्डै ६ लाख पर्यटक नेपाल आएका छन् । सन् २०१६ को ६ महिनामा तीन लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१७ को ६ महिनामा भारतबाट मात्रै ९३ हजार पर्यटक नेपाल भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै, चीनबाट सन् २०१७ को ६ महिनामा ५४ हजार पर्यटक आएका छन् । सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यतिबेला नेपालमा पर्यटकीय समय र चाडपर्व सुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानका अनुसार अहिले नेपालका होटलमा करिब ४५ हजार बेड छन् । चार हजार बेड थपिने क्रममा छन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरूङले पछिल्लो समय पर्वतीय पर्यटक  आवागमनमा पनि सुधार आएको बताए । ‘अहिले अटम सिजन हो । पर्वतारोही कमै आउँछन् तर यस वर्ष अनुमति लिन इमेल आइसकेको छ । धेरै व्यवसायीले अनुमति लिन थालिसकेका छन्,’ महासचिव गुरूङले भने, ‘अक्टोबरबाट स्प्रिङ सिजन सुरू हुन्छ ।
उनका अनुसार अटम सिजनमा आरोहीले साना हिमाल आरोहणलाई प्रशिक्षणकोरुपमा लिने भएकाले अहिलेको सिजनमा पर्वतारोहीको संख्या बढेको हो । यो वर्ष मौसमले साथ दिएकाले आरोही बढ्ने उनको अपेक्षा छ ।
ट्रेकिङ गर्न चाहने विदेशी, पर्वतारोही पर्यटक आउने विगतको तुलनामा वृद्धि हुने उनको भनाइ थियो । एलाइन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक समेत रहेका गुरूङले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा एनएमएले नयाँ धारबाट प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय अल्पाइन संस्थासँग समन्वय गर्ने बताए । ‘पछिल्लो समय जापानी र कोरियाली पर्वतारोहीको संख्यामा बढेको छ,’ उनले भने ।
गत हप्तामात्रै दक्षिण कोरियाली आरोही होङ साङ टेक ल्होत्से हिमाल (८,५१६) आरोहणका लागि प्रस्थान गरेका छन् । सगरमाथा आरोहण गरिसकेको होङले चारपटक प्रयास गर्दा पनि ल्होत्से आरोहण सफल बनाउन नसकेपछि पाँचौंपटक प्रयास गर्दैछन् । उनको टोलीमा १४ जना सहभागी छन् ।
मनास्लु आरोहणका लागि २० टोलीमा दुई सय ५५ जनाले अनुमति लिइसकेका छन् । अधिकांश आरोही मनास्लुको आधार शिविरमा पुगिसकेको नेपाल पर्यटन विभागले जनाएको छ । यस टोलीमा जापानी आरोही छन् । जापाजी आरोहीले नै पहिलोपटक मनास्लु आरोहण गरेका कारण धेरै जापानी आरोही मनास्लु आरोहणमा जाने गरेको एनएमएले जनाएको छ ।
यस्तै, धौलागिरि (८१६७), आरोहणका लागि दुई टोली पुगिसकेका छन् । यसमा १० विदेशी आरोही छन् । मुस्ताङका विभिन्न हिमाल आरोहणका लागि तीन समूहमा १७ जना विदेशीको साथ एक्सपिडिसन गाइडहरु त्यसतर्फ लागेको विभागले जनाएको छ ।
यस्तै, धौलागिरि क्षेत्रकै पुथा हिउँचुली आरोहण आठ विदेशी, सरिवुङमा चढ्न सात आरोही र तारे खाङ उक्लिन दुई आरोहीले अनुमति दिएका छन् । नागपी गोसुम हिमाल आरोहणका लागि दुई विदेशीले अनुमति लिइसकेका छन् । अरनिको चुली आरोहणका लागि सात विदेशीले अनुमति लिएका छन् ।
अटम सिजनको १५ सेप्टेम्बरसम्म ३२ समूहका तीन सय २१ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् । मकालु (८४८५) आरोहणका लागि ६ जनाले अनुमति दिएका छन् ।

प्रकाशित: ३० भाद्र २०७४ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App