coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

भृकुटीमण्डपमा क्यान कमटेक सुरु

काठमाडौं- बिहीबारदेखि काठमाडौं भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी मेला ‘क्यान कमटेक २०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको प्रदर्शनी असोज १ गतेसम्म चल्नेछ । सूचना, सञ्चार तथा प्रविधि क्षेत्रको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यसपालि पनि क्यान कमटेक हुन लागेको हो ।
बिहीबार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मेला उद्घाटन गर्दै क्यान महासंघले हरेक वर्ष गर्ने विभिन्न मेलालाई सहरमा मात्र नभएर जिल्ला स्तरमा पनि गर्नुपर्ने बताए । ‘ग्रामीण क्षेत्रसम्म सूचना तथा प्रविधिको विकास नगर्दासम्म मुलुकले यस क्षेत्रमा फड्को मार्न सक्दैन,’ मन्त्री बस्नेतले भने, ‘जबसम्म सूचना–प्रविधि राज्यको प्राथमिक योजनामा पर्दैन तबसम्म देश विकास सम्भव पनि छैन ।’
क्यान महासंघका कार्यबाहक सभापति हेमन्त चौरासियाले क्यानको शाखा ५४ जिल्लामा विस्तार भएको र सूचना प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्भर झाले ग्रामीण दूरसञ्चारमा क्षेत्रमा सूचना तथा प्रविधिको विकास गर्न विभिन्न योजना अघि बढाएको जानकारी गराए ।
कार्यक्रममा बोल्दै महासंघकी सचिव सुनैना घिमिरे पाण्डेले हरेक वर्षको मे २ लाई अब सूचना प्रविधि दिवसका रुपमा मनाउन लागेको जानकारी गराइन् । ‘सरकारले हामीलाई मे २ लाई सूचना प्रविधि दिवस मनाउन स्वीकृति दिइसकेको छ,’ घिमिरेले भनिन्, नेपालमा पहिलोपटक कम्प्युटर भित्रिएको दिनका अवसर पारेर उक्त दिवस मनाउन लागिएको हो ।’
सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट यस क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तक्र्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको महासंघ सचिव घिमिरेले बताइन् । प्रदर्शनीमार्फत विकसित देशहरुमा भएको सञ्चार सम्बन्धी विकासलाई नेपाल भिœयाउने उद्देश्य महासंघले राखेको छ ।  सुबिसु क्यान कमटेक २०१७ मा साना–ठूला गरेर ८७ स्टल छन् ।
प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, पेमेन्ट सोलुसन र अन्य स्टल छन् ।  
विश्वविख्यात स्वदेशी तथा विदेशी सर्भिसेस एन्ड सोलुसन र ब्रोडब्यान्ड इन्टरनेट र कम्प्युनिकेसन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिने क्यान कमटेक २०१७ को टाइटल स्पोन्सर सुबिसु केबलनेट छ । प्रदर्शनीमा विशेष गरी ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिएको छ । जस अन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियत सहित हाई स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् ।
नेपाल सरकारका विभिन्न निकायले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिको प्रदर्शनी पनि सुबिसु क्यान कमटेक २०१७ को आकर्षणका रुपमा रहनेछ । यस प्रदर्शनीको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैयाँ, विद्यार्थीलाई २५ रुपैयाँ र सरकारी विद्यालयले चिठीसहित आएमा निःशुल्क प्रवेश दिने महासंघले जनाएको छ ।
गत वर्षको क्यान कमटेकमा एक लाख ७० हजार सात सय ७६ अवलोकनकर्ता रहेकोमा यसपटक दुई लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा महासंघले गरेको छ । साथै क्यान महासंघको सबै जिल्ला शाखाका प्रतिनिधित्वसमेत यो मेलामा छ ।

प्रकाशित: ३० भाद्र २०७४ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App