coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भद्रगोल पशुपति क्षेत्र

पाशुपत क्षेत्रमा गरिएकाे माेटरसाइकल पार्किङ

शान्त वातावरण, घन्टाको सुमधुर ध्वनि, भजनकीर्तनको माहोल र धुप नैवैद्यको बास्ना । पशुपति क्षेत्र भन्नेबित्तिकै धेरैको दिमागमा आउने तस्बिर हो यो । अहिले भने पशुपति क्षेत्रमा यस्तो तस्बिर देखिँदैन। 

सहरवासी शान्ति खोज्दै मन बहलाउन समेत पुग्ने पशुपतिनाथ क्षेत्र अहिले अस्तव्यस्त बसपार्कजस्तै भएको छ । पशुपति मन्दिर आसपास क्षेत्रमा जताततै अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ भइरहेको देखिन्छ। 

प्रवेशद्वार जाने र परिसरभित्रका सडक भत्किएका छन् । हरेकजसो सडकमा खाल्डाखुल्डी छन् । बाटो र पेटीभर देखिन्छन्, असरल्ल थुपारिएका निर्माण सामग्री। 

मन्दिर दर्शनार्थीले प्रवेशद्वारतर्फ बढ्दा छिचोल्नुपर्छ, बाटो छेकेर राखिएका सवारीसाधन, असरल्ल छरिएका निर्माण सामग्री, धुलो, धुवाँ, फुटेको ढलबाट निस्केको दुर्गन्ध, मगन्तेको लाइन र फूल तथा पूजा सामग्री बेच्न बसेका व्यापारीको तानातान । यसले हिन्दू धर्मावलम्बीको आराध्यदेवकै प्रतिष्ठामा दाग लागिरहेको छ । अचेल पशुपति क्षेत्र पुग्ने जो–कोहीले देख्न सक्छ, उफ् गर्दै नाक थुनेर हिँड्दै गरेका विदेशी पर्यटक। 

सहरवासी शान्ति खोज्दै मन बहलाउन समेत पुग्ने पशुपतिनाथ क्षेत्र अहिले अस्तव्यस्त बसपार्कजस्तै भएको छ । पशुपति मन्दिर आसपास क्षेत्रमा जताततै अव्यवस्थित रूपमा सवारीसाधन पार्किङ भइरहेको देखिन्छ । 

विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रको यो अवस्थाले तीर्थयात्रीलाई समेत खल्लो लाग्न थालेको छ । ‘यहाँको भद्रगोल अवस्था देखेर मनै रुन्छ,’ पशुपतिनाथ मन्दिर परिसरमा भेटिएका ७५ वर्षीय रमेशनाथ उपाध्यायले भने, ‘पशुपतिनाथ पहिलाको जस्तो छैन, जताततै फोहोरमैला मात्रै देखिन्छ, यसले पशुपतिनाथको गरिमामा आँच आइराखेको छ ।’ 
युवा अवस्थादेखि पशुपति क्षेत्र आइरहने उनी पुराना दिन सम्झँदै भन्छन्, ‘ऊबेला कस्तो हराभरा हुन्थ्यो, बाग्मतीको पानी पिउन मिल्थ्यो, अहिले छुन पनि घिन मान्नुपर्छ ।’ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्दा पशुपतिनाथकै बेइज्जत भएको उनी बताउँछन्।  

‘हाम्रो आस्थाको केन्द्र पशुपतिनाथ बसपार्कजस्तै भएछ, जहाँ पायो त्यहीँ गाडी पार्किङ हुँदो रहेछ,’ धनुषाबाट पशुपति दर्शनमा आएका रामप्रीत यादवले भने, ‘अन्यत्रका मन्दिर कस्तो व्यवस्थित हुन्छन्, पशुपतिनाथ परिसरलाई व्यवस्थित गर्ने बेला भइसकेछ ।’ यादव अव्यवस्थित पार्किङले पशुपतिकै शोभा घटेको बताउँछन्। 

पशुपति क्षेत्र विकास कोषले सवारीसाधन पार्किङको जिम्मा स्थानीय सिर्जनशील युवा क्लब र अमरकान्तिश्वेर क्लबलाई दिएको छ । दुवै क्लबले व्यवस्थित पार्किङ गर्न सकेका छैनन्। 

सिर्जनशीलका सदस्य प्रदीप थापा कोषले पार्किङका लागि निश्चित ठाउँ नतोक्दा समस्या भएको बताउँछन् । ‘पार्किङका लागि निश्चित ठाउँ तोकिएको छैन, त्यसैले सवारीसाधन व्यवस्थापनमा समस्या थपिएको छ,’ उनले भने, ‘कोषले पार्किङका लागि ठाउँ तोकिदिए त्यसैमा मात्र पार्किङ गराउन सकिन्छ।’ 

पशुपति क्षेत्रमा पार्किङबाट संकलन भएको रकममध्ये  ४० प्रतिशत क्लब, ४० प्रतिशत कोष र २० प्रतिशत संस्कृति तथा जात्राका लागि जान्छ । तर, पार्किङ व्यवस्थित नहुँदा जताततै सवारीसाधन मात्र देखिन्छन् । मन्दिरछेउमा गरिने पार्किङलाई समेत कसैले रोक्दैन। 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकाल पनि पार्किङ व्यवस्थित नभएको स्विकार्छन् । ‘अस्तव्यस्त पार्किङले पशुपति क्षेत्रकै शोभा घटाइरहेको छ,’ उनले भने, ‘एक साताभित्र पशुपति क्षेत्रको पार्किङ व्यवस्थित गर्ने तयारीमा छौँ ।’ 

उनले केही दिनभित्रै पशुपति परिसरबाट अव्यवस्थित पार्किङ हटाइने बताए । ‘अबदेखि वनकालीमा मात्रै सवारीसाधन पार्किङ गर्न पाइने व्यवस्था गर्न लागेका छौँ,’ उनले भने, ‘अबदेखि तोकिएको ठाउँबाहेक अन्यत्र पार्किङ गर्दा सुरक्षाकर्मी खटाएर कारबाही गर्छौं ।’

‘१५ दिनभित्र सुधार’
कोषले १५ दिनभित्रै पशुपति क्षेत्र सुधारको योजना ल्याउने भएको छ । सदस्यसचिव ढकालले १५ दिनभित्रै पशुपतिनाथ परिसरमा तीर्थयात्रीले परिवर्तनको आभास पाउने दाबी गरे । ‘अबको १५ दिनभित्रै तीर्थयात्रीले पशुपति परिसर फेरिएको अनुभूति गर्नेछन्,’ उनले भने, ‘अबदेखि अस्तव्यस्त पार्किङ देखिनेछैन।’
कोषले पशुपति क्षेत्रका माग्नेलाई पनि एकै स्थानमा मात्र राख्ने प्रबन्ध मिलाउन लागेको जनाएको छ । पशुपतिनाथ क्षेत्रका मगन्तेलाई अबदेखि वरुणधारा परिसरमा मात्रै राखिनेछ । मन्दिर परिसरको जुत्ता–चप्पल भण्डारण स्थललाई समेत वरुणधारामा सारिनेछ । कोषले पशुपति क्षेत्रमा फूल तथा  पूजा सामग्री व्यापारीलाई पनि व्यवस्थित गर्न लागेको उनले बताए । उनीहरूलाई छुट्टै स्टल दिइनेछ। 

तयार भएन गुरुयोजना
कोषले पशुपति क्षेत्र बृहत् गुरुयोजना बनाउन भने ढिलाइ गरेको पाइएको छ । समयमै गुरुयोजना नबन्दा पशुपति क्षेत्रको बृहत्तर व्यवस्थापनमा समस्या भएको छ । 

काठमाडौं महानगरपालिका– ८ का वडाध्यक्ष दिनेशकुमार डंगोल कोषले समयमै गुरुयोजना तयार नगर्दा पशुपति क्षेत्रमा निर्माण तथा व्यवस्थापनमा समस्या भएको बताउँछन् । ‘लाखौँ स्वदेशी र विदेशी धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ परिसर अझैसम्म व्यवस्थित हुन सकेको छैन,’ उनले भने, ‘भर्खरै सदस्यसचिव आउनुभएको छ, उहाँसँग समन्वय गरेर विकास निर्माण अघि बढाउनेछु ।’ 

वडाले समन्वय र पहल मात्र गर्न सक्ने उनी बताउँछन् । कोषका सदस्यसचिव ढकाल भने बृहत् गुरुयोजना निर्माणका क्रममा रहेको बताउँछन् । उनले एक वर्षभित्र गुरुयोजना बनिसक्ने बताए । 

सरसफाई अभियान

कोषले पशुपति मन्दिर परिसरमा सरसफाई अभियान भने सुरु गरेको छ । कोषले भदौ १८ गतेदेखि परिसरमा सरसफाई अभियान सुरु गरेको हो । जताततै फोहोर भएकाले अभियान सुरु गरिएको कोषका कोषाध्यक्ष मिलनबहादुर थापाले बताए । पशुपति क्षेत्रको सरसफाईमा विभिन्न संघ–संस्था समेत सहभागी छन् । खेम क्लिनिङ सर्भिस, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बाग्मती सरसफाई अभियान लगायतको सहभागितामा अभियान थालिएको हो । ‘पशुपतिनाथ मन्दिरवरपर सरसफाई गरिरहेका छौँ,’ उनले भने, ‘अब सरसफाई अभियानलाई निरन्तर अघि बढाउनेछौँ ।’ कोषका सदस्यसचिव ढकालले पशुपति क्षेत्रका चौपाया व्यवस्थापन गरिसकिएकाले अरु योजना पनि सँगै अघि बढाइने बताए । 

प्रकाशित: ३० भाद्र २०७४ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App