५ वैशाख २०८१ बुधबार
समाज

घुम्तीमा ब्रेकफेल हुँदा दुर्घटना, १३ को मृत्यु

धनकुटा- कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा बजारनजिकै बिहीबार बस दुर्घटना हुँदा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा २८ यात्रु घाइते छन्।

संखुवासभाको मुढेशनिश्चरेबाट धरानका लागि बिहान साढे ११ बजे छुटेको बा२ख ७३६६ नम्बरको डाँफे–मुनाल बस दिउँसो १२ बजे दुर्घटना भएको थियो। हुस्सुसहित पानी परिरहेका बेला ब्रेक फेल भएको बस घुम्ती मोड्ने क्रममा करिब ८० मिटर तल खसेर क्षतविक्षत भएको स्थानीयले बताए।

सात जनाको घटनास्थलमै र ६ जनाको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ३८ सिटे बसमा ४१ जना यात्रु सवार थिए। 

मारेकटहरेमा आफन्त भेटेर फर्केका हात्तीखर्क–६ का पूर्व अर्थराज्यमन्त्री खेवा चित्रेबजारबाट बस चढेका थिए। प्रहरीका अनुसार खेवासहित परेवादिन–७ की तारादेवी बस्नेत र उनकी ३ वर्षीया छोरी रेश्मा, सोही ठाउँकी अतिमाया तामाङ, खिनमाया भट्टराई र धरान उपमहानगरपालिका–२ का व्यापारी वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको थियो। 

तेह्रथुम, फुलेक–६ की होमा पौडेल, धनकुटा लेगुवाका तेजबहादुर थापा, मारेककटहरेका वीरबहादुर काफ्ले, संखुवासभा, मादीका टंक कटुवाल र धनकुटा, चालक बुढीमोरङ–८ का सोनम तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका एसपी विभूतिराज पाण्डेका अनुसार मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन। 

 घाइतेमध्ये २७ जनाको बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान र एक जनाको जिल्ला अस्पताल, धनकुटामा उपचार भइरहेको एसपी पाण्डेले जानकारी दिए। घाइतेलाई नेपाली सेनाको श्रीमेहर गण धनकुटा, जिल्ला प्रहरी कार्यालय, धनकुटा, सिधुवा प्रहरीचौकी, इलाका प्रहरी कार्यालय, वसन्तपुरबाट खटिएका प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए।

धनकुटा जिल्ला अस्पतालमा उपचार गराइरहेकी घाइते कमला पोखरेलले सिधुवा बजारनजिकै आएपछि ब्रेक फेल भएर बस अनियन्त्रित हुँदै भिरतर्फ खसेको बताइन्। 'ब्रेक फेल भएपछि यात्रुबीच कोलाहल मच्चियो, नालीमा हाल भनेर कराए पनि ड्राइभरले सकेन, एकैचोटि गाडी डिल नाघेर तल खस्यो,' उनले भनिन्, 'त्यसपछि के भयो थाहै पाइनँ।'

माइतीबाट फर्किएकी धनकुटा–१० की पोखरेल संखुवासभा र तेह्रथुमको संगमस्थल टुटेदेउरालीबाट बस चढेकी थिइन्।

संयुक्त बस व्यवसायी संघद्वारा  सञ्चालित उक्त बस डेढ वर्षदेखि धरान–मुढेशनिश्चरे रुटमा गुड्थ्यो। साँघुरो पहाडी बाटो अप्ठ्यारो हुँदाहुँदै पनि त्यहाँ चल्ने गाडीले सिटभन्दा बढी यात्रु बोक्ने भएकाले दुर्घटना भएको एसपी पाण्डेले जनाए।  

प्रकाशित: १४ श्रावण २०७३ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App