coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

शताब्दी पुरुषको अभिनन्दन

वसन्तपुर दरबार क्षेत्रमा बिहीबार दिउँसो अरु दिनभन्दा भिन्न चहलपहल देखियो । नेवारी परम्परागत बाजागाजाको आवाजले दरबारक्षेत्र गुञ्जायमान भयो । धा, खिँ, धिमेलगायत बाजाको आवाज र घिन्ताङघिसीले वसन्तपुर क्षेत्रमा छुट्टै रौनक थियो ।

परबाट हेर्दा लाग्थ्यो, वसन्तपुरमा कुनै जात्रा लाग्दैछ । तर, बिहीबार वसन्तपुरमा कुनै जात्रा नभएर संस्कृतिविद् सत्यमोहन जोशीको अभिनन्दन तयारी हुँदै थियो । गत वैशाख २१ गते सरकारले वाङ्मय शताब्दी पुरुष उपाधि दिएका उनलाई बिहीबार उपत्यकावासीले अभिनन्दन गर्दै थिए ।

आँखामा सदावहार चमक र ओठमा मुस्कानका साथ हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको कार्यालयबाट निस्केका जोशीको शीरमा सधैं लगाउने टोपी ढल्किएकै थियो ।

दिउँसो १२ बजेदेखि नै काठमाडौंका विभिन्न टोलवासी वसन्तपुर जम्मा हुन थाले । उपत्यकामा होली आगमनको संकेत गर्न फागु पूर्णिमाका बेला कुमारी घरको दायाँपट्टि चीर ठड्याउने चलन छ । त्यस स्थानमा बिहीबार भने दुई सेता घोडाले तान्ने नेपाली सेनाको बग्गी तयारी अवस्थामा राखिएको थियो ।
केही बेरमा खरानी रङको दौरासुरुवाल र खैरो रङको कोटमा सजिएका जोशीको आगमन भयो । आँखामा सदावहार चमक र ओठमा मुस्कानका साथ हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको कार्यालयबाट निस्केका जोशीको शीरमा सधैं लगाउने टोपी ढल्किएकै थियो ।
जोशीको पहिरनमा बिहीबार पहिरनमा थपिएको थियो– ताजा फूलका दुई थान माला, अनि निधारमा रातो टीका । जब उनी बग्गीमा चढे, बाजागाजामा मंगल धून अझ चढ्न थाल्यो । बग्गीसँगै लामबद्ध भए, काठमाडौंका नेवार जनसमुदाय । बग्गीका अघिपछि बाजा तथा नाच समूह लामबद्ध थिए । त्यस्तै लामबद्ध थिए नेवार समुदायले मान्ने अष्टमात्रिकाका साथै अन्य देवीदेवताका झाँकीहरू ।
अभिनन्दनको यात्रा वसन्तपुर दरबार क्षेत्रबाट मखनटोल हुँदै इन्द्रचोकतिर बढ्यो । बाटाभरि टोलका विभिन्न समूहले शताब्दी पुरुष जोशीको सुस्वास्थ्य र दीर्घायूको कामना लेखिएको ब्यानर टाँगेका थिए । इन्द्रचोक पुग्दा टोलबासी अघिदेखि नै फूल र अबिर लिएर पर्खिरहेका थिए । उनीहरूले जोशी बसेको बग्गीमा फूल र सिन्दुरको वर्षा गराइदिए । जोशीले मुस्काउँदै नमस्कार गरी नागरिकको अभिनन्दन स्वीकार गरे ।
जब बग्गी असन हुँदै भोटाहिटी निस्क्यो, सेनाको ब्याण्डले बाजासहित अभिनन्दन यात्रालाई ‘लिड’ ग¥यो । नागरिक अभिनन्दन समारोहको औपचारिक कार्यक्रम राखिएको राष्ट्रिय सभागृहको बाहिरी गेटदेखि नै जोशीको स्वागतार्थ रेड कार्पेट बिछ्याइएको थियो । हाकुपटासी लगाएर कलशमा फूल बोकेका लामबद्ध नेवार महिलाको पुष्पवृष्टिसँगै जोशीलाई कार्यक्रम स्थल प्रवेश गराइयो । कार्यक्रममा उनलाई फेटा बाँधी, दोसल्ला ओढाएपछि सगुन पिलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा जोशीको अभिनन्दनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन् ।
राष्ट्रपति भण्डारीले जोशीले नेपाली वाङ्मयको क्षेत्रमा पु¥याएको यो प्रशंसा गर्दै भनिन्, ‘उहाँ समग्र राष्ट्रकै अमूल्य निधि हुनुहुन्छ । राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई अभिनन्दन गर्नु राष्ट्रकै गौरव हो ।’ सानै उमेरदेखि नेपाली कला, संस्कृति र साहित्यमा लागेको जोशी जीवित ज्ञानकोष भएको राष्ट्रपति भण्डारीले बताइन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सत्यामोहन जोशी सिङ्गो राष्ट्रको सम्पदा भएको बताए । उनले भने, ‘कतिलाई सत्यमोहन जोशी नेवारको मात्र हो भन्ने भ्रम छ । तर, उहाँ नेवार भएर जन्मिए पनि सिङ्गो राष्ट्रको सम्पदा र सम्पत्ति हो ।’ नेपाल भाषाको मात्र नभई सबै भाषाको सेवा गरेकाले जोशी सबै नेपालीको सम्माननीय व्यक्ति भएको शाक्यले बताए ।
अभिनन्दित जोशीले अभिनन्दनले भावी पिँढीका लागि प्रेरणा भएकोे बताए । उनले भने, ‘मैले पाएको सम्मान मेरो निम्ति नभई देशको विविध भाषा, भाषाले ओगटेको संस्कृति र राष्ट्रियताको क्षेत्रमा काम गर्ने स्रष्टाका लागि ठूलो उपलब्धी हो ।’ कार्यक्रममा जोशीको नाममा अक्षयकोष स्थापना गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले जोशीको सम्मानमा लेखिएको नेपाल भाषाको गीतबाट पनि उनको अभिनन्दन गरिएको थियो । त्यस्तै उनको अभिनन्दनमा बुद्ध र हिन्दू धर्ममा स्वस्ती पाठ गरी उनको सुस्वास्थ्य र दीर्घायूको कामना गरिएको थियो ।
जोशीको अभिनन्दन उपत्यकाको नेवार समुदायको तर्फबाट आयोजना गरिएको हो । हाल ९७ वर्षका जोशीका नेपाल भाषा र नेपाली भाषाको वाङ्मयमा महाकाव्यदेखि विभिन्न अनुसन्धानमूलक कृति प्रकाशित छन् । नेपाल भाषामा ३८ र नेपाली भाषामा २४ वटा मौलिक कृति प्रकाशित छन् ।

प्रकाशित: ३१ भाद्र २०७४ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App