coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनए अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

एनअारएनए अध्यक्षको उम्मेदवारी घोषणा कार्यक्रममा भवन भट्ट (दायाँबाट दोस्राे)

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए। महिला फोरमलाई सशक्त बनाउने एवं नयाँ लगानीकर्ताका लागि स्टार्टअप फन्डको व्यवस्था गर्ने योजना उनले अघि सारेका छन्।

वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमुना बस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा भएका एनआरएनए शाखा (एनसीसी) ले एउटा परियोजना निर्माण गर्ने परिकल्पना पत्रकार सामु सुनाएका थिए। ′हरेक एनसीसीका एक विशेष परियोजना परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवा सहभागिता वृद्धि गरिने कार्यक्रम रहनेछ′, उनले भने। हाल गैरआवासीय नेपाली संघका विश्वभरि ७७ एनसीसीहरु रहेका छन्। ती सबैले एउटा—एउटा परियोजना सञ्चालन गर्दा गैरआवासीय नेपालीका नेपालमा ७७ परियोजना हुनेछन्।

गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भित्र्याउन एवं वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने उनको भनाइ थियो। हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब दुई करोड ५० लाख रुपैयाँ रहेको छ। 
वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमुना बस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

संस्थागत संरचना परिवर्तनका लागि अध्यक्ष शेष घलेले प्रस्ताव गरेको भिजन ट्वान्टी ट्वान्टीबारे गैरआवासीय नेपाली संघमा मत विभाजनको स्थिति छ। 

‘साथीहरुको विवाद सो प्रस्तावको कन्टेन्टमा हो। संस्थाको गतिशीलताका लागि भिजन आउनु सामान्य प्रक्रिया हो′, उनले भने, ‘यसलाई सकेसम्म पहल गर्छु। दुवै पक्षलाई ब्यालेन्स गर्ने ट्रिकी गेमको रुपमा मैले यसलाई प्रस्तुत गरेको छैन।′  
सम्भवतः आगामी ग्लोबल सम्मेलनमा वर्तमान अध्यक्ष शेष घले सो प्रस्ताव पेश गर्नेछन्। सम्मेलनले त्यसलाई पारित वा अस्वीकृत गर्न सक्नेछ। २०७३ भदौ ११ गते अमेरिकाको न्युजर्सीमा भएको क्षेत्रीय सम्मेलनमा अध्यक्ष घलेले संस्थागत पुनःसंरचनाबारेको सो प्रस्ताव छलफलमा ल्याएका थिए।

सामाजिक उद्यमशीलता प्रवद्र्धन र महिला तथा युवा सहभागिता वृद्धि आफ्नो प्राथमिकता रहेको भट्टले बताए। 
एनआरएनए जापानको अध्यक्ष रहिसकेका उनी एनआरएन आइसीसी कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। 
अध्यक्षको उम्मेदवारी घोषणा गरेका भट्टको मुख्य व्यवसाय जापान आधारित रहेको छ। नेपालमा टिबीआई समूहमार्फत् उनको लागनी छ। जापानमा रेष्टुराँ र रिसोर्ट व्यवसायमा ख्याती कमाएका उनको युरोपका केही होटल एवं रेष्टुराँहरुमा समेत लगानी रहेको छ।

 

गैरआवासीय नेपाली संघ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै भवन भट्टले दिएको लिखित मन्तव्यको पूर्ण पाठ

‘नेपालीका लागि नेपाली’ भन्ने मुल मन्त्रका साथ विगत १४ वर्षदेखि समृद्घ नेपालको सपना साकार पार्न लागिपरेको गैरआवासीय नेपाली संघको अभियानमा म शुरुका दिनदेखि नै सकृयतापूर्वक संलग्न हुँदै आइरहेको कुरा यहाँहरुमा अवगत नै छ ।

विदेशमा रहेका हामी नेपालीमूलका तथा नेपाली नागरिकहरुलाई आफूले आर्जन गरेको ज्ञान, सिप र पूँजीलाई मातृभूमिको विकासका लागि अधिकतम उपयोग गर्ने पूनित उद्देश्यका साथ एउटा साझा संगठनमा गोलबन्द गर्ने यो अभियानमा मैले जापानबाट स्थापनाकालदेखि नै सक्रिय भूमिका निभाउँदै आइरहेको छु। गैरआवासीय नेपाली संघ जापानको स्थापनाकालको र दोस्रो कार्यकालको कार्यसमिति सदस्य, त्यसपछि राष्ट्रिय समन्वय परिषद्को अध्यक्षको अनुभव लिएर अन्तर्राष्ट्रिय समन्वय परिषद्मा कोषाध्यक्ष हुदैँ लगातार दोस्रो पटक उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारीमा छु । मेरो यही निरन्तरता र जिम्मेवारी बोधले मलाई सिंगो गैरआवासीय अभियानको नेतृत्व लिन अभिप्रेरित गरिरहेको छ । मेरा अग्रजहरु, सहयात्रीहरु र यस अभियानमा आइरहनुभएका नयाँ मित्रहरु सबैको अभिप्रेरणाले पनि मलाई थप उत्साहित बनाइरहेको छ। 

मैले सुरुदेखि नै सबै गैरआवासीय नेपालीसाथीहरुको सक्रिय सहयोग र सद्भाव पाउदै आएकाले अहिलेसम्मका पदीय जिम्मेवारीहरु पूरा गर्दै आएको छु र अब आउने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि सबै एन आर एन साथीहरुबाट थप उत्साहका साथ सहयोग र सद्भावको अपेक्षा गर्दछु। संस्थाको जिम्मेवारीमा स्वाभाविक रुपमा खुड्किला उक्लदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढि जिम्मेवारी  सम्हाल्न मलाई सबैको सहयोग रहने विश्वास गरेको छु।

गैरआवासीय अभियान अहिले विश्वका ७७ राष्ट्रहरुमा संगठित भैसकेको छ। हाम्रो यो संजाल जति बढिरहेको छ त्यति नै हामी नेतृत्ववर्ग लगायत सबै अभियन्ताहरु उत्तिकै जिम्मेवार हुँदै परिवर्तित परिस्थिति अनुसार अगाडि बढ्न आवश्यक छ। म स्थापना कालदेखि आजसम्म यही अभियानमा निरन्तर सक्रिय भैरहेको कारणले पनि संस्थापकहरुको भावनादेखि वर्तमान नेतृत्वको आगामी सोचसम्मलाई नजिकबाट अनुभव गरिरहेको छु। त्यसकारण पनि यो अभियानलाई स्वाभाविक रुपमा अघि बढाउने चुनौतिलाई मैले सहजतापूर्वक स्वीकार गरेको छु। 

गैरआवासीय नेपाली संघले अहिले सम्म लिएका निर्णयहरु र पूरा हुन बाँकी कार्यहरु जस्तै लाप्राक नमूना बस्ती, एन आर एन भवन निर्माण, भिजन ट्वान्टी–ट्वान्टी एन्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भवः, वैदेशिक रोजगारकोषको विस्तार, क्प्क्ष् कमिटी मार्फत नेपालको वौद्घिक पलायन रोकी बाहिरिएकालाई नेपाल फर्काउन व्यापक पहल गरिने जस्ता कार्यक्रमहरुलाई पूर्ण रुपमा निरन्तरता दिंदै अघि बढ्ने कुरा यस अवसरमा अवगत गराउन चाहन्छु ।

साथै, मेरो कार्यकालका लागि केही नयाँ एजेन्डाहरु पनि तयार गरेको छु। जस्तै: वैदेसिक रोजगारी आपत्कालिन कोषलाई सदुपयोग गरि गैर आवासीय नेपाली संघमा आवद्ध वैदेसिक रोजगारीमा रहेका नेपालीहरुको वीमा गरिनेछ, महिला फोरमलाई शसक्त बनाइने छ, स्टार्टअप फन्डको ब्यवस्था गरिनेछ, स्मार्ट एनआरएन बनाइने छ, हरेक एनसिसिका एक विशेष परियोजनाको परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गरि महिला तथा युवाको सहभागिता बृद्धि गरिने कार्यक्रम रहने छ ।       

भर्खरै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुले नयाँ नेतृत्व पाएको   छन् । मैले यस अभियानमा स्थापनाकालदेखि सक्रियतापूवक खटिइरहनुभएका र यस अभियानमा नयाँ उमंगका साथ जोडिनुभएका सम्पूर्ण साथीहरुसँगको सहकार्यलाई अघि बढाउँदै आगामी कार्यकाल (२०१७–१९) का लागि विस्तृत एजेन्डाहरु तयार पारेर छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता प्रकट गर्दछु । 

आज एन आर एन अभियानले जुन उचाई प्राप्त गरेको छ, त्यो तपाई पत्रकारहरु साथीहरुको सकारात्मक र सक्रिय सहयोग विना सम्भव हुने थिएन । त्यस निम्ति पनि म तपाईहरु प्रति धेरै आभारी छु । साथै मेरो आगामी कार्यकालमा यहाँहरुको सहयोग विगतमा भन्दा अझ बढी पाउने अपेक्षा गर्दछु ।

धन्यवाद !
जय एन आर एन !!

काठमाडौं, नेपाल

प्रकाशित: ३१ भाद्र २०७४ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App