coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुरक्षा व्यवस्था चुस्त : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । 

रिपोर्टर्स क्लबको साक्षात्कारमा शनिबार  गृहमन्त्री शर्माले मतदाताका लागि आवश्यक सुरक्षा प्रबन्ध गरिएको स्पष्ट पारेका हुन् । शर्माले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरे। 

गृहमन्त्री शर्माले प्रदेश नम्बर २ का मतदाता मत हाल्न उत्साहित रहेको बताउँदै भने, ‘मतदाता स्वयंले मोहोर लगाउन हामी आतुर छौं भन्नुभएको छ, सरकारले सबै मतदान केन्द्रमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेको छ, यहीअनुसार मतदान सम्पन्न हुन्छ ।’ उनले निर्वाचन सुरक्षाको पहिलो आधार नै जनताको उत्साह भएको स्पष्ट पारे। 

गृह मन्त्रालयले निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा नीतिअनुसार नै जिल्लास्तरमा सुरक्षा योजना कार्यान्वयन गरिसकेको र यसअनुसार पहिलो घेरामा नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइएको मन्त्री शर्माले जानकारी दिए। 

यो निर्वाचन वर्ष भएकाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न हुनुले आगामी प्रदेश र प्रतिनिधि सभाका दुईवटा निर्वाचन सफल रूपमा सम्पन्न हुने सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे ।  उनले भने, ‘यो निर्वाचनको मतदान प्रक्रियालाई सम्पन्न गर्न आम मतदाताको उल्लेखनीय सहभागिता हुनुपर्छ र यो सबै दलको जिम्मेवारी पनि हो।’

सरकारकै जिम्मेवार मन्त्री तथा अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको सम्बन्धमाउनले सरकारले आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताए । मन्त्री शर्माले निर्वाचन आयोगलाई जस्तोसुकै सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाए। 

उनले कर्मचारीको सरुवा गर्दा आयोगको स्वीकृति लिएर नै गरिएको स्पष्ट पारे । उनले भने, ‘हालै गरिएको मन्त्रिमण्डल विस्तारमा पनि प्रधानमन्त्रीले आयोगसँग समन्वय गर्नुभएको होला भन्ने विश्वास छ ।’

त्यस्तै उनले निर्वाचन अत्यन्तै खर्चिलो र भड्किलो भएको भनेर पनि गुनासो छ नि भनेर सोधिएको अर्को प्रश्नमा भने, ‘निर्वाचनलाई खर्चिलो बनाउनुहुँदैन, कानुनी र व्यावहारिक रूपमा यसको सही उपयोग गर्नुपर्छ, यसप्रति सरकार पूर्ण सचेत छ ।’

प्रदेश नम्बर २ का आठवटै जिल्ला भारतीय सीमावर्ती क्षेत्रमा पर्ने भएकाले मतदानका बेला कुनै पनि अप्रिय घटना र अपराधजन्य क्रियाकलाप नहोस् भनेर मतदान हुनुभन्दा ७२ घन्टाअघिदेखि नै सबै नाका सिल गरिसकिएको पनि उनले जानकारी दिए । 

५० हजार सुरक्षाकर्मी परिचालन 

राससका अनुसार गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले स्थानीय चुनावमा प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिएका छन् । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।

उनले भने, ‘केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ । सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन् ।’

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । 

प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको जानकारी दिए । उनले भने, ‘केही समयअघि आएको बाढी, पहिरोले २ नम्बर प्रदेशमा पु¥याएको क्षति मात्रै हाम्रा लागि चुनौती हो, अरु त्यस्तो कुनै चुनौती अहिलेसम्म देखिएको छैन ।’

सीमा नाका बन्द 

शुक्रबार राति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ।

प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घन्टाअघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए ।

निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो।

खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।

अवैध हतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालिम प्राप्त कुुकुर परिचालन भएका थिए ।

दुई हेलिकप्टर तयारी अवस्थामा

धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । 

यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए । 

प्रकाशित: १ आश्विन २०७४ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App