coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'उत्तर कोरिया आफ्नो उद्देश्यमा पुग्छ'

उत्तर कोरियाली शासक किम जोङ–उन र सेनाका उच्च अधिकारी शुक्रबार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण सफल भएपछि खुशीयाली मनाउँदै । तस्बिर : रोयटर्स

सोल– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक शक्ति सम्पन्न बन्ने आफ्नो देशको महत्वकांक्षी योजनामा पुगेरै छोड्ने प्रतिबद्धता गरेका छन्। 

राज्य सञ्चालित समाचार एजेन्सी केसिएनएले किमलाई उद्धृत गर्दै जनाएअनुसार उत्तर कोरियाको आणविक कार्यक्रमको उद्देश्य संयुक्त राज्य अमेरिकाको सैन्य बलसँग सन्तुलन कायम गर्नु रहेको छ। 

उत्तर कोरियाले हालसम्म गरेको क्षेप्यास्त्र परीक्षणमध्ये सबैभन्दा लामो दूरीमा गरिएको शुक्रबारको क्षेप्यास्त्र परीक्षणको भोलीपल्ट किमको नयाँ धारणा आएको हो । उत्तर कोरियाले शुक्रबार जापानको हकाइदो टापुको आकाशमाथि एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। 

सेप्टेम्बर ३ का दिन उत्तरले शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सर्वसम्मत रुपमा उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाएको चार दिनपछि शुक्रबार उसले नयाँ क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाको पछिल्लो कदमले केही दिन अघि मात्रै एक भएका विश्वशक्ति राष्टहरु पुनः एक पटक विभाजित हुने देखिएको छ।

‘सीमारहित रुपमा गरिएको प्रतिबन्ध र नाकाबन्दीको बाबजुत पनि उत्तर कोरियाले कसरी आफ्नो महत्वकांक्षी आणविक उद्देश्य प्राप्त गरे भनेर हामीले हाम्रो राष्ट्रवादको शक्तिमार्फत् देखाउनुपर्नेछ,’ नेता किमको भनाई उद्धृत गर्दै केसिएनएले जनाएको छ। उनले अमेरिकी शासकहरुले उत्तर कोरियाविरुद्ध सैन्य विकल्पको चेतावनी दिन नसकुन् भनेर उत्तर कोरियाको उद्देश्य अमेरिकाको सैन्य बलसँग सन्तुलन कायम गर्नु पनि रहेको बताएका छन्। शुक्रबार जापानी आकाशमाथि गरिएको ह्वासङ–१२ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको नेता किमले प्रत्यक्ष रुपमा नै अवलोकन गरेको राज्य सञ्चालित सञ्चारमाध्यम केसिएनको जानकारी उल्लेख गर्दैै बिबिसीले जनाएको छ । राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले होकाइदो टापु पार गरेर समुद्रमा खस्नु अघि सात सय ७० किलोमिटर उचाइ र तीन हजार सात सय किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । 

शुक्रबार प्रक्षेपण गरिएको क्षेप्यास्त्रले प्यासिफिक क्षेत्रमा रहेको अमेरिकी भूभाग गुवामसम्म पुग्ने क्षमताको रहेको बताइएको छ । विशेषज्ञहरुका अनुसार हालसम्म उत्तर कोरियाले जमिनमाथिबाट प्रहार गरेको ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये शुक्रबारको क्षेप्यास्त्र शक्तिशाली रहेको छ।
 
शुक्रबार जापानी आकाशको प्रयोग गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको थियो । बैठकमा सबै राष्ट्रले सर्वसम्मत रुपमा उत्तरको कदमको निन्दा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले पुनः एक पटक उसका छिमेकीहरु र समग्र विश्वप्रति घृणा गरेको बताएका छन् । उनले यदि आवश्यक परेमा उत्तर कोरियामा सैन्य विकल्प खोज्ने विषयमा अमेरिका सदैव तयार रहेको पनि बताएका छन् । रुसले भने वार्ता र सम्झौतामा जोड दिएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले क्षेप्यास्त्र प्रक्षेपण लगायतका चेतावनी मुलक कार्य रोकिनुपर्छ भन्नेमा रुसको मान्यता रहेपनि वार्ता र सम्झौता मात्रै समस्या समाधानको उपाय रहेको बताएका छन् । चीनले भने कोरियाली प्रायद्विपमा बढिरहेको समस्या समाधानको जिम्मेवारीबाट अमेरिका भागिरहेको आरोप लगाएको छ । 

‘साँच्चीकै भन्नुपर्दा मलाई लाग्छ, संयुक्त राज्य अमेरिका अहिलेभन्दा धेरै जिम्मेवारी लिनुपर्छ । त्यसैले कोरियाली प्रायद्विपको समस्या समाधानका लागि प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको छ,’ संयुत्तर राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधि कुई टियान्कीको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । दुवै पक्षले एक अर्कालाई चेतावनी दिने कार्य बन्द गरेर वार्ता र सम्झौतालाई सुरु गर्न प्रभावकारी माध्यम खोज्नुपर्ने उनले बताएका छन् । 

 

प्रकाशित: १ आश्विन २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App