८ वैशाख २०८१ शनिबार
खेल

चेल्सीलाई बदलाको अवसर

लन्डन – चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले आइतबार प्रिमियर लिगमा आर्सनलविरुद्धको खेल गत सिजन एफए कप फाइनलमा हारेको बदला लिने राम्रो अवसर भएको बताएका छन् ।

गत सिजन प्रिमियर लिग र एफए कप गरी दोहोरो उपाधि जित्ने लक्ष्यमा रहेका कोन्टेको चेल्सीलाई आर्सनलले फाइनलमा २–१ ले स्तब्ध बनाएको थियो ।

‘अझै त्यो खेल राम्रोसँग सम्झन्छु । त्यो खेलमा भएको पहिलो गोल निकै अनौठो थियो । त्यति बेला हामी दुर्भाग्यको सिकार भयौं,’ चेल्सीका प्रशिक्षक कोन्टेले भने, ‘हार सधैँ पीडादायी हुन्छ । तर मेरा खेलाडीमा हारबाट पाठ सिक्दै अघि बढ्ने मानसिकता र क्षमता मैले देखेको छु, जुन सुखद पक्ष हो । हामीले बर्नलीसँगको हारसँगै सिजन सुरु गरेका थियौं । त्यसपछि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।’

मंगलबार च्याम्पिन्स लिगअन्तर्गत वराबाजमाथि ६–० को विजय हासिल गरेको चेल्सी उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

यता लिगको पछिल्ला २ खेलमा पराजित आर्सनल हारको शृंखला रोक्ने लक्ष्यमा छ । स्टोकसँग १–० को अप्रत्याशित हार बेहोरको आर्सनलले लिभरपुलसँग ४–० को लज्जास्पद नतिजा निकालेको थियो। 

तर बुधबार युरोपा लिगमा कोलोनमाथि हात पारेको जितले आर्सेन वेंगरलाई केही राहत मिलेको छ । पछिल्लो १३ वर्षसम्म लिग उपाधि जित्न नसकेको आर्सनल गत सिजन शीर्ष चारमा पर्न नसक्दा २० वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो 

‘म आर्सनलको पछिल्लो प्रदर्शनमा कुनै प्रतिक्रिया दिन चाहन्नँ । किनभने एकै खेलमा जे पनि हुन सक्ने स्थितिबारे हामी जानकार छाैँ,’ साबिक विजेता चेल्सीका प्रशिक्षक कोन्टेले थपे, ‘आर्सनल इङ्ल्यान्डकै शीर्ष क्लबमध्येको एक हो । उनीहरू लिग उपाधि जित्न सक्षम छन्।’

वेंगरको आर्सनललाई उपाधिमा दाबेदारी प्रस्तुत गर्नका लागि यो खेलमा गल्ती क्षम्य हुने छैन । आर्सनलका रक्षक पेर मर्टेसकरले स्ट्राइक एलेक्सिस सान्चेज छिटोभन्दा छिटो लयमा फर्कनुपर्ने बताए।

‘उनी टोलीका सदस्य हुन् । सबै खेलाडीले आफ्नो क्षमता र लयअनुरूपको प्रदर्शन गर्न जरुरी छ । पक्कै पनि सान्चेज टोलीका महत्वपूर्ण सदस्य हुन्,’ मर्टेसकरले भने।

उनले लिभरपुलविरुद्ध रक्षापंक्तिमा भएको गम्भीर गल्ती चेल्सीविरुद्ध नदोहोरिने बताए । मार्टेसकरले थपे, ‘पछिल्लो खेलमा गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्नुपर्छ । फेरि त्यो गल्ती दोहोर्‍याए, त्यो क्षम्य हुने छैन ।’ 

प्रकाशित: १ आश्विन २०७४ ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App