७ वैशाख २०८१ शुक्रबार
कला

११ वर्षपछि ‘शत्रु गते’

काठमाडौं–नेपाली समाजमा ‘बाह्र वर्षपछि खोला फर्किन्छ’ भन्ने उखान प्रचलित छ । यही उखानसँग मेल खाने गरी हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एघार वर्षपछि फिल्म निर्माणमा पुनरागमन गरेका छन् । एघार वर्षअघि महको ब्यानर महसञ्चारबाट फिल्म ‘जे भो राम्रै भो’ बनाएर एकाएक फिल्म निर्माणबाट हराएको यो जोडीले नयाँ फिल्म ‘शत्रु गते’बाट निर्माणमा पुनरागमन गर्ने घोषणा गरेको छ।

राजधानीमा शुक्रबार आयोजित फिल्म घोषणा कार्यक्रममा फिल्मका कलाकारसमेत रहेका हरिवंशले देशको प्रतिकूल अवस्थाका कारण फिल्म बनाउन ढिलाइ भएको बताए । ‘फिल्म ‘जे भो राम्रै भो’ बनाएपछि फिल्म बनाउने वातावरण मिलेन । त्यो बेलाको राजनीतिक अवस्था पनि एउटा कारक बन्यो । हामी आफैं टेलिसिरियल निर्माणतिर लाग्यौं,’ हरिवंशले भने, ‘हामीले फिल्म बनाउने सोच पनि बनाएका हौं । तर, समय मिलेन । देशदेखि विदेशका कार्यक्रममा व्यस्त भइयो ।’ उनले अब भने हिमाल, पहाड र तराई जोड्ने गरी फिल्म निर्माणमा फर्किएको बताए ।

एक दशकअघि ‘जे भो राम्रै भो’ निर्माणपछि फिल्म निर्माणमा सुस्ताएको महसञ्चार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगै अधिकांश हास्यकलाकारलाई समेट्दै फिल्म निर्माणमा फर्किएको छ । फिल्ममा पल शाह र आँचल शर्माको पनि जोडी रहनेछ ।

महले बनाउन लागेको फिल्ममा मह सञ्चारकै उत्पादन प्रदीप भट्टराईको निर्देशन हुनेछ । ‘जात्रा’ निर्देशन गरेका उनले महले निर्माण गरेका सबै उत्पादनमा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।  ‘प्रदीप मह सञ्चारको सदस्य भए पनि ऊ हाम्रा लागि छोरा सरह हो,’ हरिवंशले कार्यक्रममा गम्भीर हुँदै भने, ‘हाम्रो ब्यानरबाटै उसलाई फिल्म निर्देशनमा डेब्यु गराउने योजना थियो । तर, विविध कारणले गर्दा उसलाई डेब्यु गराउन सकेनौं । तर, अब ‘शत्रु गते’को क्याप्टेन प्रदीप नै भएको छ।’

हरिवंशका जोडी मदनकृष्णले पनि लामो समयपछि फिल्म निर्माणमा पुनः आउन पाउँदा खुसी लागेको बताए । दोस्रो फिल्म निर्देशन गर्न लागेका प्रदीपले फिल्म आफ्ना लागि कठिन परीक्षा रहेको बताए । ‘मेरो लागि यो अवसर र चुनौती दुवै हो । यो फिल्मबाट मेरो अघिल्लो फिल्म ‘जात्रा’का दर्शक र नयाँ दर्शक पक्कै आउनेछन्,’ प्रदीपले भने ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौडेल, अन्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकारको अभिनय रहनेछ।

फिल्मकी अभिनेत्री आँचल शर्माले सानैदेखि टेलिभिजनमा मदनकृष्ण र हरिवंशको कमेडी हेरेर हुर्किएकी आफूले अहिले उनीहरूकै फिल्ममा काम गर्न पाउँदा गौरव लागेको बताइन् । अभिनेता पल शाहले पनि दिग्गज कलाकारको समूहमा आबद्ध भएर फिल्ममा अभिनय गर्न पाउनु खुसीको कुरा भएको बताए।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल निर्माता रहेको फिल्ममा किरण केसी प्रस्तुतकर्ता छन्।

कार्तिक ६ गतेबाट फ्लोरमा जाने फिल्ममा हरिवंशकै कथा, दीपकराज र प्रदीपको पटकथा, हरिवंश र प्रदीपको संवाद, कविराज गहतराजको नृत्य, राजनराज शिवाकोटीको गीत र संगीत तथा दीर्घ गुरुङको छायांकन छ । फिल्म चैतमा ९ मा रिलिज हुनेछ।

 

प्रकाशित: १ आश्विन २०७४ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App