८ वैशाख २०८१ शनिबार
अर्थ

जलविद्युत् आयोजनामा ३६ अर्ब लगानी

काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले आगामी पाँच वर्षभित्रमा ३५ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् आयोजना निर्माणमा लगाउने भएको हो ।

एचआइडिसिएलले शुक्रबारसम्म १९ वटा जलविद्युत् आयोजनामा सात अर्ब १२ करोड रुपैयाँ लगानी गरिसकेको छ । सबै आयोजनामा सहवित्तीयकरणमा लगानी गरेको हो ।

कम्पनीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा हालसम्म गरेको कार्य र भावी योजनाको फेहरिस्त प्रस्तुत गरेको थियो । ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको कम्पनीले आगामी योजनाका उपलब्धि हसिल गर्न स्वदेशी तथा विदेशी वित्तीय संस्थाबाट आवश्यक स्रोतको व्यवस्था गरी परिचालन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।
निजी क्षेत्रबाट निर्माण हुने आयोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको उक्त कम्पनीले जलविद्युत आयोजनामा ऋण र सेयरको रुपमा लगानी गर्दै आएको छ ।

स्थापनाको ६ वर्षको अवधिमा कम्पनीले पाँच सय ४१ मेगावाट क्षमताका १४ आयोजनामा ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले जानकारी दिए । यस्तै पाँच कम्पनीमा ३४ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको उनको भनाइ छ ।

कम्पनीले आगामी पाँच वर्षका लागि व्यावसायिक योजना तयार पारेको जानकारी उनले दिए । उक्त अवधिमा तीन हजार दुई सय ३८ मेगावाट क्षमताका आयोजनामा ३५ अर्ब ७६ करोड रुपैयाँ ऋण तथा सेयरमा लगानी गर्ने योजना भएको जानकारी उनले दिए । कम्पनी सञ्चालक समितिको एक सय ६०औं बैठकले उक्त व्यावसायिक योजना अनुमोदन गरिसकेको पोखरेलले बताए।

आउँदो पाँच वर्षमा निजी क्षेत्रबाट निर्माण हुने पाँच सय ६५ मेगावाट क्षमताका विभिन्न आठ आयोजनामा पाँच अर्ब नौ करोड सेयरको रुपमा लगानी गर्ने भएको छ । सरकारी निकायबाट निर्माण गरिने एक हजार ६ सय ४० मेगावाट क्षमताका विभिन्न पाँच आयोजनामा १६ अर्ब २१ करोड सेयर लगानी गर्ने योजना कम्पनीको रहेको जानकारी उनले दिए । 
निजी क्षेत्रबाट निर्माण हुने एक हजार ३३ मेगावाट क्षमताका १८ जलविद्युत आयोजनामा १४ अर्ब ४६ करोड रुपैयाँ ऋणको रुपमा लगानी गर्दैछ।

चुक्ता पुँजी १० अर्ब भएको उक्त कम्पनीले सात अर्ब लगानी गरिसकेको छ । थप लगानी गर्नका लागि स्रोत जुटाउने तयारी रहेको छ । स्वदेशी र विदेशी लगानी जुटाउने तयारी भइरहेको पोखरेलले बताए । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान, नेपाली सेनाको कल्याणकारी कोषको रकम परिचालनका अतिरिक्त सर्वसाधारणबाट लगानी जुटाउने उनले बताए । सकेसम्म स्वदेशी लगानीमा आयोजना बनाउने तयारी भइरहेको उनको भनाई छ।

यस्तै एसियाली विकास बैंक (एबिबी) बाट ५० लाख डलर ऋण लिने तयारी भइरहेको उनले बताए । सरकारले ल्याएको योजनाअनुसार जलविद्युत आयोजना बनाउन खर्बौं रुपैयाँ लगानी जुटाउनुपर्ने अवस्था रहेको पोखरेलले बताए । सरकारले सात वर्षमा १७ हजार मेगावाटका आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि ३० खर्ब लगानी आवश्यक पर्ने उनले बताए । त्यसका लागि २५ अर्ब दातृ निकायसँग लिनुपर्ने हुन्छ, उनले भने त्यसका लागि अर्थ मन्त्रालयमार्फत दातृ निकायसँग कुरा भइरहेको छ।

सरकारको पाँच अर्ब, कर्मचारी सञ्चय कोषको एक अर्ब, राष्ट्रिय बिमा संस्थानको एक अर्ब, नागरिक लगानी कोषको एक अर्ब र सर्वसाधारणको दुई अर्ब रुपैयाँ गरी कुल १० अर्ब चुक्ता पुँजी रहेको यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्य राखी तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टको पहलमा स्थापना भएको हो । मुद्दती खातामा पैसा राखेर ब्याज खाँदै आएको आरोप लाग्दै आए पनि पछिल्लो समयमा भने यसले जलविद्युत्मा लगानी बढाउन थालेको छ।

 

प्रकाशित: १ आश्विन २०७४ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App