८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्रले गर्‍यो किर्ते

काठमाडौं- सशस्त्र प्रहरी बल नेतृत्वले नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र किर्ते गरेर ठेकेदारले उपलब्ध गराएको कपडाको गुणस्तर मापदण्ड आफूखुसी बढाएको भेटिएको छ। सशस्त्रले माग गरेको ४३ हजार मिटर सुती कपडामध्ये ठेकेदारले उपलब्ध गराएको २७ हजार ९६ मिटर कमसल गुणस्तरको कपडाको भुक्तानी दिन विभागको पत्र किर्ते गरेको पाइएको हो।

विभागको पत्र संख्या १३११ र चलानी नम्बर २७२८ को पत्रमा कपडाको गुणस्तर सशस्त्रले मागेको भन्दा ६० अंक कम रहे पनि प्रशासन महाशाखा र महानिरीक्षकको सचिवालयका अधिकारीको मिलेमतोमा गुणस्तर बढाएर ठेकेदार नारायणदास श्रीनिवासलाई भुक्तानी दिएको हो।

विभागले कपडाको वेफ्ट डायमिटर २९९ रहेको पत्र सशस्त्रको प्रशासन महाशाखामा पठाएको भए पनि प्रशासन विभाग र महानिरीक्षकको सचिवालयले वेफ्ट डायमिटर ३६० बनाएको र्कीतेे पत्रका आधारमा ७२ लाख २६ हजार १ सय २० रुपैयाँ भुक्तानी दिएका हुन्।

विभागले उपलब्ध गराएको नतिजा पत्रको हुबहु र्कीते नतिजामा सबै एकसमान रहे पनि कपडाको गुणस्तरको अंक मात्र बढाइएको छ। सशस्त्रले पोसाकका लागि आवश्यक सुती कपडा २०७२ चैतमा माग गरेबमोजिम वेफ्ट डायमिटर ३६० भन्दा तीन अंक कम वा तीन अंक बढी सम्मलाई मान्यता दिने र खरिद गर्ने आधार तय गरेको थियो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले एकै चलानी नम्बरका दुई पत्र विभागबाट बन्नै नसक्ने दाबी गरे। उनले विभागले नियमअनुसार पत्र सिलबन्दी गरेर सशस्त्रमा पठाएको बताए। उनका अनुसार विभागमा रहेको पत्र नै सशस्त्रमा पठाइएको हो। 'हामीले एकै चलानी नम्बरमा दुईवटा पत्र बनाउनै मिल्दैन, केही थपघट वा पुनः परीक्षण गर्न आवश्यक देखिए समितिबाट निर्णय हुन्छ,' महानिर्देशक पुडासैनीले भने। उनले विभागबाट जारी भएको पत्र र सशस्त्र प्रहरीमा रहेको पत्र हेरिसकेपछि किर्ते भएको नतिजामा विभाग पुगेको जानकारी दिए। उनले थपे, 'हामीले दिएको पत्रको क्रमसंख्या र गुणस्तर नतिजाको अंक नै फरक छ, र्किते नतिजा पत्र बनाइएको हो।'

पत्रका विषयमा नागरिकले सोधखोज गरेपछि विभागको प्रयोगशालाका अधिकारी सुशील साहलाई कार्यकक्षमै बोलाएर कोड नम्बरका आधारमा भएको प्रयोग रिपोर्ट महानिर्देशक पुडासैनीले  मगाएका थिए। उनका अनुसार प्रयोगशालाबाट हुनसक्ने सम्भावित कैफियत हटाउन गुणस्तर जाँचका लागि आउने वस्तुलाई निश्चित नम्बर दिएर मात्र प्रयोगशाला पठाउने गरिन्छ।

विभागले दिएको गुणस्तर नतिजामा सुशील साह र किरण सुवेदीले हस्ताक्षर गरेका छन्। सशस्त्रमा रहेको पत्रमा पनि हस्ताक्षर दुवै अधिकारीको छ। यस्तै विभागको सरकारी छाप र लेटर हेड उही रहे पनि नतिजाको अंक मात्र फरक छ। विभागले दिएको परीक्षण क्रम संख्या र सशस्त्रमा रहेको परीक्षण क्रम संख्यासमेत फरक छ। विभागले परीक्षण नतिजालाई १, २, ३ र ५ क्रम संख्यामा दिएको थियो। तर, सशस्त्रमा १, २, ३ र ४ क्रम संख्या रहेको छ।

सशस्त्रको प्रशासन विभागमा रहेको व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयका  निर्देशक जानकीराज भट्टराईले विभागले पठाएको सक्कली पत्र आफूले प्राप्त गरेको र सो पत्रमा वेफ्ट डायमिटर ३६० नै रहेको दाबी गरे। उनले किर्ते जस्तो केही नदेखिएको नागरिकसँग बताए। उनका अनुसार पत्रमा सरकारी छाप र हस्ताक्षर तथा लेटर हेड विभागकै रहेको छ। 'केही समयअघि पनि किर्ते भन्ने हल्ला चलेको थियो, हामीले सिलबन्दी खाम नै प्राप्त गरेका हौं,' उनले भने।

विभागले असार २१ गते सम्पन्न परीक्षणको गुणस्तर नतिजा असार २४ गते पठाएको हो। सशस्त्रले असार २७ गते जिन्सी खातामा आम्दानी बाँधेर भुक्तानी गरेको हो। भुक्तानी गर्दा समेत दुईवटा महालेखा परीक्षक फारम बनाएर २७ हजार ९६ मिटर कपडालाई दुई भागमा बाँडी भुक्तानी गरिएको छ। एउटा फारमबाट १३ हजार ४ सय ९७ मिटरको प्रतिमिटर २ सय ३६ अनुसार हुन आउने ३५ लाख ९९ हजार ६ सय १९ र  अर्को १३ हजार ५ सय ९८ मिटरको ३६ लाख २६ हजार ५ सय १ रूपैयाँ भुक्तानी गरेको हो।

सशस्त्रले चलानी नम्बर २४२ को पत्र र सिलबन्दी नमुनामार्फत कपडाको गुणस्तर असार १२ गते माग गरेको थियो। सशस्त्रले खरिद नियमावलीअनुसार असार १२ गते नै नारायणदास श्रीनिवासबाट प्राप्त २७ हजार ९६ मिटर कपडाको विभिन्न स्थानबाट दुई–दुई मिटर कपडा काटेर सिलबन्दी गरी परीक्षणका लागि पठाएको हो।

महानिरीक्षकको सचिवालयको चलानी नम्बर २५७२ अनुसार गठन भएको गन्ती तथा गुणस्तर जाँच समितिका अध्यक्ष रहेका व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयका  निर्देशक प्रहरी नायव महानिरीक्षक जानकीराज भट्टराई, वरिष्ठ उपरीक्षक नगेन्द्रबहादुर थापा, निरीक्षक जयराम बस्नेत र सोमप्रसाद भट्टले सहायक निरीक्षक इश्वरीप्रसाद पौडेल र वरिष्ठ हवल्दार रामकृष्ण कुमालको रोहवरमा कपडा सिलबन्दी गरेका थिए। यसक्रममा ठेकेदार नारायणदास श्रीनवाससमेत उपस्थित थिए।

प्रकाशित: १४ श्रावण २०७३ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App