१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इलाम नगरको बजेट साढे ६४ करोड

इलाम- इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ६४ करोड ७० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय पारित गरेको छ । भदौ २५, २६, २७ र २९ मा बसेको नगरसभाले ११ करोड ४१ लाख ६३ हजार रुपैयाँको चालू र ९ करोड ४० लाख रुपैयाँ बराबरको पूँजीगत बजेट पारित गरेको हो ।

                यसबाहेक २२ करोड ५५ लाख रुपैयाँ नगरको ससर्त अनुदान छ । मन्त्रालयमार्फत आउने ससर्त अनुदानमा शिक्षा र जनस्वास्थ्य कार्यालयका कर्मचारीको तलब–भत्ता, कृषि तथा पशुसेवा, नगरपालिका र आयुर्वेद कार्यालयका कर्मचारीको तलब–भत्ता समावेश रहेको नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए । चालू वर्षलाई नगरसभाले ‘पूर्वाधार वर्ष’का रूपमा लिएर बजेट विनियोजन गरेको हो ।

                नगरले चालू वर्ष ज्येष्ठ नागरिक आत्मसन्तोष कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिला स्वयंसेविकालाई मासिक हजार रुपैयाँ प्रोत्साहन भत्ता, हरेक वडामा एक खेलमैदान, दलित आवास, प्रसूति सुरक्षा, मजदुर बिमालगायत नयाँ कार्यक्रम बजेटमा समावेश गरिएको छ । ‘आउँदो वर्ष २०७५ मा इलाम नगरपालिकामा इलाम सदरमुकाममा बसेको २ सय वर्ष पूरा हुने भएकाले २००औं वर्षगाँठ मनाउने निर्णय भएको छ,’ वडा ५ का वडाध्यक्ष तथा प्रवक्ता ठाकुर श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने । नगरले एक वडा एक नमुना स्कुलको अवधारणा ल्याएको छ । विपद् व्यवस्थापन, खानेपानी आपूर्ति, भूउपयोग योजना, यातायात गुरुयोजना ल्याइने छ । नगरको प्रोफाइल बनाउने कार्यक्रम पनि चालू वर्षमै समेटिएको छ ।

                ‘हामीले चालू वर्षलाई पूर्वाधार वर्ष बनाउन सडकजस्तो पूर्वाधारमा मात्रै ३७ प्रतिशत रकम खर्च हुने अनुमान गरेका छौं,’ मेयर बस्नेतले भने, ‘त्यसैले सडकलाई सबैभन्दा बढी बजेट छुट्याएका छौं ।’ भवनलाई ५ करोड ७१ लाख, खानेपानीलाई १ करोड ६७ लाख ५० हजार, खेलकुदको पूर्वाधारमा ६८ लाख तथा सिँचाइलाई ४ लाख रुपैयाँभन्दा बढी विनियोजन गरिएको छ ।

                नगरसभाले ७ कार्यविधि र ४ ऐन पारित गरेको श्रेष्ठले जनाए । आर्थिक विनियोजन ऐन, आर्थिक व्यवस्थापन ऐन, सहरकारी व्यवस्थापन तथा सञ्चालन ऐन, सार्वजनिक साझेदारी लगानी व्यवस्थापन तथा सञ्चालन ऐन पारित गरिएको छ। नगरपालिका कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली, कार्यपालिका बैठक सञ्चालन कार्यविधि, प्रमाणीकरण नियमावली, योजना तथा बजेट तर्जुमा कार्यविधि, नगगरसभा सञ्चालन कार्यविधि र एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि पारित गरिएको नगरले जनाएको छ । आउँदो ४ गते पहिलो नगरसभा समापन हुने श्रेष्ठले जनाए।

प्रकाशित: १ आश्विन २०७४ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App