७ वैशाख २०८१ शुक्रबार
राजनीति

सकेसम्म फकाउने नसके धम्क्याउने

लहान – स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का एक सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदैछ । सोमबारको मतदानका लागि शुक्रबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाउने गरी ‘मौन अवधि’ सुरु भएको छ। 

निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर, मौन अवधिकैबीच मौन मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ । यही अवधिमा अधिकांश चुनावी आकलन फेरवदल हुने गरेको  विगतको चुनावी नजिर छ।

 प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म मतदान समय तोकिएको छ । यहाँ ३ हजार ५ सय ७७ मतदान केन्द्र कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन्। 

मौन अवधिको कसरतले पहिला जित्ने पक्का भनिएको उम्मेदावर पछारिने र प्रतिस्पर्धाका अर्को उम्मेदावर अगाडी बढ्ने विगतको उदाहरणले मधेसमा मौन अवधिलाई ‘नतिजा उलटफेर’ को अवधि पनि भनिन्छ । यो खेल चुनावको अघिल्लो रात आइतबार राति अझ तीव्र हुन्छ। 

लहान नगरपालिकामा साबिकका १० गाविससँग नयाँ १४ गाविस गाभिएपछि मतदाता संख्या ४७ हजार ३ सय पुगेको छ । लहानका बुद्धिजीवी सुनिलकुमार साहका अनुसार यहाँको करिब ३० प्रतिशत मत ‘तटस्थ’ अर्थात् मौन छ । ‘यही मत जता ढल्किन्छ, उतैको पल्ला भारी हुन्छ । तटस्थले यो निर्णय उम्मेदवारको व्यक्तित्व, जनलहर हेरेर लिन्छन्,’ उनले भने।

मौन अवधि सुरु हुनु अगावै शुक्रबार बिहानैदेखि लहान नगरपालिका–२३, गाढाको मुसहर बस्तीमा ‘नयाँ र परिचित अनुहार’ को आउजाउ बाक्लिएको स्थानीय बताउँछन् । ‘भोट दिनुस्, हामी केही पर्याे भने सहयोग गर्छौैं भनेर फकाउँछन्,’ मुसहर बस्ती टाँसिएकै घर भएका रामदेव महतोले भने, ‘प्रलोभनको अफर नमान्दा धम्क्याएर फर्कन्छन् ।’

हप्तौसम्म आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल सो क्रममा खुल्न नसकेका मतदाता अर्थात् ‘मौन मतदाता’ लाई मौन अवधिमा आफूतिर तान्न लागिपरेका छन् । देहातबाट लहानमा बसाइँ सरेका ‘वर्ग’ जसमा धेरैजसो जागिरे छन्, यो बस्ती राजनीतिक रूपमा अढी ‘मौन’ छ । यहाँ करिब १० प्रतिशत अर्थात् ४५ सयजती यस्ता मतदाता छन् । मौन मतदाता कुनै दलप्रति प्रतिवद्ध नभएकै कारण विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गर्छन्।

‘हिजोसम्म सतही तबरले माहोल बनाउने गरी प्रचारप्रसार गरियो, वास्तविक अर्थात् नतिजा निर्धारण गर्ने चुनाव त अब लागेको छ,’ एक राजनीतिक दलका जिल्लास्तरीय नेताले भने, ‘यहाँको चुनावी नतिजा मौन अवधिमा मौन मतदातामा पारिने प्रभावबाटै निर्धारण हुन्छ।’

लहानको नयाँ बस्तीसहित पुराना बस्तीका पनि राजनीतिप्रति चासो नराख्ने थुप्रै समुदाय छन् । उम्मेदवारहरू अहिले तिनै समुदायलाई रिझाउन समय खर्चिरहेका छन् । समुदायका अगुवालाई प्रभावित पारेर, आफैं मतदातालाई भेटेर वा अप्रत्यक्षरूपमा मत आकर्षित गर्ने सम्पर्क सूत्र प्रयोग गरेर चुनावी चलखेल भइरहेको लहानका एक नेता बताउँछन् । ‘यसमा फलानो पार्टीले यो ग¥यो, त्यो ग¥योे भन्नुको कुनै अर्थ छैन,’ ती नेताले भने, ‘जसरी पनि चुनाव जित्ने हो, यसका लागी सबैले आफूअनुकूलको ‘सूत्र’ प्रयोग गरिरहेका छन्।’

मौन मतदाता आफ्नो लागि पार्टीभन्दा उम्मेदवार र उनको व्यक्तित्व महत्वपूर्ण ठान्छन् । त्यसैले मौन अवधिमा जुन उम्मेदवारले मन जित्न सक्यो उसकै पक्षमा भोट खस्छ । ‘हामीलाई पार्टीको मतलव छैन, जसले शान्तिपूर्वक खानबस्न दिन्छ, उसैलाई भोट दिने हो,’ लहान–४ की कल्पना यादवले भनिन्, ‘विकास गर्ने पनि हुनुपर्यो।’

मौन मतदाताको संख्या बढी रहेको यो बस्तीमा विकासका विषयमा प्रतिक्रिया जनाउँदै २० वर्षीया सुनिता यादवले भनिन्, ‘कहिल्यै फोहोर संकलन नहुने ठाउँमा विकासको कुरा गर्नु व्यर्थ हो । ‘चुनावमा त सबैले विकास गर्छौं, सफा र सम्वृद्ध सहर बनाउँछौ भनेकै छन्, जितेपछि के गर्ने हुन, थाहा छैन,’ उनले भनिन्, ‘यो चोटी विश्वासिलो मान्छेलाई भोट दिनुपर्ला।’

मौन मतदाता विपन्न तथा तुलनात्मकरूपमा सचेत ठानिएको क्षेत्रमा पनि उत्तिकै छन् । उनीहरू मतदानको दुई दिनअघिसम्म पनि खुलेका छैनन् । लहान–७ का विजय साह चुनावकै दिन भोट कसलाई हाल्ने भन्नेबारे निधो हुने बताउँछन् । ‘चुनावसम्म हेर्दै जाउँ, कसको पल्ला भारी हुन्छ, उसैलाई दिनुपर्ला,’ उनले भने, ‘हामीजस्ता सर्वसाधारणलाई पार्टीको कुनै मतलव छैन।’

नगरपालिकामा मात्र नभई गाउँपालिकामा पनि यही अवस्था छ । नवराजपुर गाउँपालिकामा पनि करिब २० प्रतिशत मौन मतदाता अनुमान गरिएको छ । स्थानीय वुद्धिजीवी भोगेन्द्र ठाकुरका अनुसार यहाँका मौन मत पनि पार्टीभन्दा व्यक्ति हेरेर खस्छ । उनको भनाइ छ, ‘कुनै पार्टीको पछाडि अन्धभक्त भएर लाग्नुको अर्थ छैन ।’ गोलबजार नगरपालिकाको बजारक्षेत्रमा पनि करिब ३० प्रतिशत मौन मत मतदाता अनुमान गरिएको छ।

मौन मतदाताको यही भावना बुझेका दलका उम्मेदवार तात्कालिक तथा दीर्घकालीन प्रलोभन बाँडिरहेका छन् । चुनावी राजनीतिमा अभ्यस्त लहानका एक नेताका अनुसार विभिन्न समुदाय र वर्गका अगुवासँग ‘पकेट भोट’ छन् । ‘पचासदेखि सयको संख्यामा रहने ती भोट पाउन एकजनालाई ‘कन्भिन्स’ गरे पुग्छ,’ ती नेताले भने, ‘मौन अवधिमा प्रायः सबै उम्मेदवारले तिनै पकेट भोट खोस्नतिर ध्यान केन्द्रित गर्छन्।’

प्रकाशित: २ आश्विन २०७४ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App