७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आङ साङ सुकीलाई 'अन्तिम मौका’

फाइल फोटो

न्युयोर्क– रोहिन्जा मुसलमानलाई विदेशमा शरणार्थीका रुपमा भाग्न बाध्य बनाउने गरी गरिएको सैन्य कारबाही स्थगित गर्न म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीसँग अन्तिम मौका रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्। 

म्यानमारमा भइरहेको नरसंहार रोक्न अहिले नै सुकीले प्रयास नगरे त्यहाँको अवस्था झनै भयावय हुने गुटेरेसले बिबिसीलाई बताएका छन् । म्यानमारमा सरकारी सेनाले गरिरहेको अत्याधिक बल प्रयोगले जातीय सफायातर्फ लान सक्ने चेतावनी पनि उनले दिएका छन्।

म्यानमार सरकाले भने सर्वसाधारण नागरिकलाई लक्षित गरेर कारबाही गरिरहेको भन्ने अन्तर्राष्ट्रिय आरोप अस्वीकार गर्र्दै गत महिना रोहिन्जा मुसलमान विद्रोही समूहले एकै पटक २० वटा प्रहरी चौकीमा गरेको आक्रमणको प्रतिकारस्वरुप विद्रोही समूहलाई मात्रै कारबाही गरिरहेको बताएको छ । म्यानमारको उत्तरी राज्य रखाइनमा गत महिना रोहिन्जा विद्रोहीले प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी सेनाले सैन्य कारबाही अगाडि बढाएको थियो । 
संयुक्त राष्ट्रसंघको यहि सेप्टेम्बर १९ दिनदेखि सुरु हुने महासभाको केही दिन अघि बिबिसीको ‘हार्ड टक’ नामक कार्यक्रममा अन्र्तवार्ता दिँदै महासचिव गुटेरेसले म्यानमारकी नेत्री सुकीले मंगलबार राष्ट्रको नाममा गर्न लागेको सम्बोधनका बेला रखाइनमा भइरहेको अति बल प्रयोग रोक्ने बारेमा घोषणा गर्नका लागि अन्तिम मौका हुने बताएका छन्। 

‘यदि सुकीले अवस्थालाई अब पनि फर्काइनन् भने मलाई लाग्छ म्यानमारको अवस्था यो भन्दापनि भयावय र अनपेक्षित हुनेछ । अहिले नै अवस्थालाई शान्तिपूर्ण अवस्थामा ल्याइएन भने भविष्यमा स्थिति सामान्य बनाउने उपाय मैले देखेको छैन,’ गुटेरेसले बताए । महासचिव गुटेरेसले ज्यान जोगाउन भागेर छिमेकी देश बंगलादेशसहित आन्तरिक रुपमै विस्थापित भएकाहरुलाई आफ्नो घर फर्कन दिनुपर्ने पनि माग गरेका छन् । उनले अझै पनि म्यानमारमा त्यहाँको सैनिकको बोलवाला चलिरहेको बताउँदै महासचिव गुटेरेसले रखाइन प्रान्तमा भइरहेको गतिविधि गर्नका लागि सैनिककै हात रहेको आरोप लगाएका छन्। 

जुन्ता सरकारले १५ वर्ष भन्दा बढी आफ्नै निवासमा निर्वासनमा राखिएकी नोवेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले हाल म्यानमारमा रोहिन्जा मुसलमानप्रति भइरहेको हिंसामा केही गर्न नसकेको भन्दै व्यापक आलोचनाबाट गुज्रिरहेकी छिन्।

विश्वभर उनको व्यापक आलोचना भएपछि यसै साताबाट अमेरिकाको न्युयोर्कमा सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत उनी सहभागी नहुने यस अघि नै बताइसकिएको छ । सुकीले भने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएजस्तो रखाइनमा सरकारी सेनाले बल प्रयोग नगरेको बताउँदै तथ्य मोडिएको आरोप लगाउँदै आएकी छिन् । उनले तथ्य बंग्याउँदा आतंककारीलाई समर्थन भइरहेको पनि आरोप लगाएकी छिन्। 

करिब चार लाख रोहिन्जा मुसलमान आफ्नो देशमा शरणार्थीका रुपमा प्रवेश गरेपछि उनीहरुलाई फिर्ता लान बंगलादेशले चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघका महासचिवको यस्तो चेतावनी आएको छ । बंगलादेशी प्रहरीले बंगलादेशमा शरण लिइरहेका रोहिन्जालाई उनीहरुलाई राखिएको शिविरबाट बाहिर जान नदिने र परिवारका सदस्य र इष्टमित्रलाई समेत भेट्न नदिने यस अघि नै बताइसकेको छ । बंगलादेश सरकारले यातायात व्यवसायी र चालकहरुलाई पनि रोहिन्जा शरणार्थीलाई यात्रा नगराउन चेतावनी दिइसकेको छ । त्यसैगरी घरधनीहरुलाई पनि रोहिन्जालाई घरलगायत कुनैपनि सम्पत्ति भाडामा नदिन भनिसकेको छ । बंगलादेशले उसको कोक्स बजार सहर नजिकै चार लाख रोहिन्जा शरणार्थीका लागि आवासस्थल बनाउने पनि घोषणा गरिसकेको छ । बंगलादेशी सरकारले रोहिन्जाहरु बंगलादेशमा पलायन नहुन र उनीहरुलाई सधैं देखिरहन पाइयोस् भनेर यस्तो निर्णय गरेको हुनसक्ने विश्लेषकहरुले बताएका छन्। 

गत अगस्ट २५ मा रोहिन्जा विद्रोहीले रखाइन प्रान्तको चौकीमा आक्रमण गरी १२ जना सुरक्षाकर्मीको हत्या गरेका थिए । बंगलादेशमा शरणार्थीका रुपमा प्रवेश गरेका अधिकांश रोहिन्जाहरुले म्यानमारको सरकारी सेनाले आफ्नो सिंगो गाउँ नै जलाइदिएको आरोप लगाउने गरेका छन् । राज्यविहीन रोहिन्जा मुसलमान म्यानमारमा लामो समयदेखि हिंसाको चपेटामा पर्ने गरेका छन् । म्यानमारको सरकारले भने उनीहरुलाई गैरकानुनी आप्रवासी भएको आरोप लगाउने गरेको छ। 

 

 

प्रकाशित: २ आश्विन २०७४ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App