coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रंगलाशाजस्तै खेलमा पनि चमत्कार

मड्रिड– एन्टोनी ग्रिजम्यानको गोलप्रेरित एट्लेटिको मड्रिडलाई मालागाले नयाँ घरेलु मैदानमा खुसी मनाउनबाट रोक्न सकेन । शनिबार स्पेनिस ला लिगामा एट्लेटिकोले ६८ हजार दर्शक क्षमता भएको वान्डा मेट्रोपोलिटनो रंगशालामा मालागामाथि १–० को विजय हासिल गर्‍यो। 

ला लिगाको दुई खेल प्रतिबन्धपछि फर्किएका फ्रान्सका फरवार्ड ग्रिजम्यानले ६०औं मिनेटमा एन्जेल कोरेराको क्रसमा गरेको गोल निर्णायक बनेपछि एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

एट्लेटिको अझै शीर्ष क्लब बार्सिलोनाभन्दा ४ अंकले पछि छ । पाउलिन्होले बार्सिलोनाका लागि गरेको पहिलो गोलमा क्याटलान क्लबले गेटाफेलाई २–१ ले हरायो।

‘यो विशाल रंगशालामा पहिलो गोल गर्न पाउँदा म खुसी छु,’ एट्लेटिकोका फरवार्ड ग्रिजम्यानले भने, ‘मैले खेलेका रंगशालामध्ये यो सबैभन्दा राम्रो छ । र मैले यो मेरो क्लबको भएर मात्र भनेको होइन।’

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले समर्थकलाई भिसेन्ट काल्डेरोनबाट नयाँ रंगशालामा जाँदा उत्साहित वातावरण बनाउन भनेका थिए । खेल सुरु हुनुअघि स्पेनको रोयल एयरबाट झरेर प्याराग्लाइडर म्याच बल हस्तान्तरण गरेका थिए । 
‘एक खेलाडी वा प्रशिक्षकका रुरूमा मैले यस्तो कहिल्यै देखेको थिइनँ,’ एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, ‘यो क्षण मेरो जीवनभर सम्झनामा रहनेछ । रंगशालाभरि एट्लेटिकोको झन्डा फहराइरहेको थियो । म आफैंलाई मैदान छिरेर खेल्न मन लागिरहेको थियो।’

स्पेनका राजा फिलिपे छैटौं पनि रंगाशालामा उपस्थित थिए । खेलअघि उत्साहित बनेका समर्थक पहिलो ४५ मिनेटसम्म शान्त बनेका थिए । पहिलो हाफमा पाएको एक मात्र मौकामा कोरेराले हानेको प्रहार सीधै विपक्षी गोलकिपर रोबर्टो जिमिनेजको हातमा पुगेको थियो।

एट्लेटिकोले एक मात्र गोलको अवसर सिर्जना गर्दा गोलकिपर जोन ओब्लाक भने पोस्टमा व्यस्त बनेका थिए । एट्लेटिकोका पूर्वफरवार्ड वोर्जा बास्टोनको प्रहार जोगाउन ओब्लाकलाई हम्मेहम्मे परेको थियो । दोस्रो हाफमा एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गरेको थियो । कोके र साउल निगुइजले प्रहारले पोस्टको दिशा लिन नसके पनि कोरेराको पासमा ग्रिजम्यानले गोल गरेका थिए । अन्तिम मिनेटमा मालागाले पुनः अर्को सुन्दर मौका सिर्जना गरेको थियो । तर डिएगो रोलानको सशक्त प्रहारमा फेरि एक पटक ओब्लाक तगारो बने।

शीर्ष क्लब बार्सिलोनाले शनिबार जितका लागि संघर्ष गर्नुपर्‍यो । बार्सिलोनाले एक शून्यले पछि परेको स्थिति उल्टाउदै ३ अंक बटुलेको थियो । कीर्तिमानी रकममा क्लब भित्र्याइएका औसमाने डेम्बेले केही महिना मैदानबाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सका फरवार्ड डेम्बेलेले पहिलो हाफमै मैदान छाड्नुपरेको थियो।

नेइमार पेरिस सेन्ट जर्मन गएपछि बार्सिलोनाले पाउलिन्होलाई यसै सिजन ग्वान्झाउ इभरग्रिनबाट ४ करोड युरोमा अनुबन्धित गरेको थियो । जुन निर्णयले बार्सिलोनाको बोर्डले निकै आलोचना खेप्नुपरेको थियो । तर, पाउलिन्होले लियोनल मेसीको पासलाई सदुपयोग गर्दै आफ्नो भ्यालु देखाएका थिए।

‘गोल गर्न पाउँदा खुसी छु । तर त्योभन्दा टोलीको जित महत्त्वपूर्ण हो,’ विजयी गोल गरेका पाउलिन्होले भने, ‘गेटाफेसँग उत्कृष्ट खेलाडी थिए र गोल खाइसकेकाले हाम्रा लागि यो निकै कठिन खेल थियो । तर हामीले नतिजाका लागि मिहिनेत गरिरहेका थियौं । जसमा सफल भयौं।’

बार्सिलोनाले ३९औं मिनेटमै डेम्बेलेको स्थानमा जेरार्ड डेउलोफुलाई मैदान छिराएको थियो । त्यसको दश मिनेट नबित्दै गाकु सिबासकीले हानेको भली प्रहार बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले रोक्न सकेनन् । बार्सिलोनाका प्रशिक्षक भाल्भार्डेले दोस्रो हाफको सुरुमै इनिएस्टाको स्थानमा डेनिस स्वारेजलाई मैदान छिराए । वैकल्पिक खेलाडी स्वारेजले मैदान छिरेको १६ मिनेटमै आफ्नो प्रभाव छाड्न सफल भए । सेर्गी रोबर्टोको पासमा डेनिस स्वारेजले बराबरी गोल गरे । प्रशिक्षक भाल्भार्डेले ७७औं मिनेटमा इभान राकेटिचको स्थानमा पाउलिन्होलाई मैदान छिराए । पाउलिन्होले खेल सकिन ६ मिनेट बाँकी रहँदा मेसीको पासमा दुई रक्षकलाई पन्छाउँदै गरेको गोल बार्सिलोनालाई ३ अंक जोड्न पर्याप्त बन्यो।

शनिबारै भएको खेलमा रियाल बेटिसले डेपोर्टिभो लाकोरुनालाई २–१ ले हरायो।

 

प्रकाशित: २ आश्विन २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App