coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जिएसटी कै प्रभाव   हाे त !

विदेशबाट अायातित सामान वीरगञ्ज भन्सार कार्यालय परिसरमा । फाइल तस्बिर

काठमाडौं –भारतले जुलाई १ देखि लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) को प्रभाव नेपालको भन्सार राजस्व असुलीमा देखापरेको छ ।

सरकारी अधिकारीहरुले जिएसटीको प्रभाव नपरेको बताए पनि चालु आर्थिक वर्षको सुरुका दुई महिना साउन र भदौमा मुलुकका प्रमुख भन्सार नाकाहरुको राजस्व असुलीलाई हेर्दा प्रभाव पारेको देखिएको हो। 

भारतले जिएसटी लागू गरेपछि सरकारी अधिकारीहरुले नेपालमा यसले सकारात्मक प्रभाव पार्ने अनुमान गरेका थिए । चालु आवको दुई महिनाको राजस्व असुलीलाई हेर्दा यथार्थ त्यस्तो नदेखिएको हो । चालु आवमा नेपाल र भारतबीच व्यापार हुने प्रमुख भन्सारको राजस्व असुली सरकारको लक्ष्य अनुसार हुन सकेको छैन । गत वर्ष साउन र भदौ दुवै महिनामा यी सबै भन्सार कार्यालयले सरकारले तोकेको लक्ष्यभन्दा बढी राजस्व उठाएका थिए । 

भारतले जिएसटी लागू गरेपछि दुई मुलुकबीच वर्षौंदेखि चल्दै आएको अनधिकृत व्यापारमा कमी आएर राजस्व असुली बढ्ने अनुमान सरकारको थियो । यस्तै, भारतले निर्यातमा आइजिएसटी बिल अनिवार्य गरेपछि न्यून बिजकीकरणको समस्या पनि समाधान हुने सरकारको अनुमान थियो । दुई महिनाको राजस्व असुलीले यो अनुमान सही हुने संकेत गरेको छैन।

सरकारी अधिकारीहरु राजस्व असुली कम हुनुमा जिएसटीको मात्र प्रभाव नरहेको बताउँछन् । साउनमा आएको बाढी, विराटनगर नाकामा भइरहेको अवरोध, बाढीका कारण सुक्खा बन्दरगाहमा देखिएको समस्यालगायतले राजस्व कमी भएको उनीहरुको दाबी छ।

अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भन्सार राजस्व केही कमी हुनुमा जिएसटीको प्रभाव ज्यादै सामान्य रुपमा रहेको बताए । ‘जिएसटीका कारण मात्र राजस्व कम भएको होइन,’ आइतबार नागरिकसँग राजस्व सचिव ढुंगानाले भने, ‘साउनमा आएको बाढी, विभिन्न नाकामा अहिले भइरहेको आयात–निर्यातको अवरोध लगायतले भन्सार राजस्वमा केही कमी आएको हो ।’ अहिले व्यापारिक गतिविधिमा पनि कमी आएको हुन सक्ने अनुमान गर्दै उनले भने, ‘व्यापारमा के भएको छ, समग्रमा हामीले अनुसन्धान गर्दैछौं । सरकारको लक्ष्य सजिलै पुर्‍याउँछाैँ ।’    

दुई मुलुकबीचको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्ज भन्सारले साउनमा आठ अर्ब ५२ करोड रुपैयाँ राजस्व उठाएको छ । यो भन्सारलाई सरकारले नौ अर्ब २७ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य तोकेको थियो । भन्सारले साउनमा लक्ष्यको ९१.९० प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

यस्तै भदौमा वीरगन्ज भन्सारलाई १० अर्ब ७५ करोड रुपैयाँ असुलीको लक्ष्य दिएकामा भदौ २४ सम्ममा सात अर्ब ६८ करोड रुपैयाँ उठाएको छ । प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेल भने असुली लक्ष्य नपुगे पनि जिएसटी यसको कारण नभएको बताउँछन् । ‘भन्सार असुलीमा यसले असर पुगेको जस्तो मलाई लाग्दैन,’ उनले नागरिकसँग भने । 
उनका अनुसार भारतमा स्थानीय बजारमा जाने सामानमा लाग्ने जिएसटीको दर एउटा छ । ‘त्यहाँबाट निकासी भएर आउने सामानमा निर्यातको उद्देश्यले न्यूनतम दरमा कर लाग्ने रहेछ, यसले गर्दा आइजिएसटी बिलमा नेपालका लागि खरिद गरिने सामानको मूल्य भारतीय बजारमा रहेको मूल्यभन्दा सस्तो पर्नेछ,’ पोखरेलले भने, ‘यसो भएको हुनाले, उताबाट निर्यातमा आइजिएसटी बिल लागू हुँदा भन्सारमार्फत निकासी–पैठारीमा व्यापारीलाई फाइदा छ, यसले अवैध पैठारी निरुत्साहित हुने देखिन्छ ।’ 

वीरगन्ज भन्सारजस्तै मुलुकको अर्को प्रमुख भन्सार नाका भैरहवामा पनि चालु आवमा राजस्व असुली लक्ष्यमा पुग्न सकेको छैन । भैरहवा भन्सारले चालु आर्थिक वर्षका दुई महिनामा १० अर्ब ७९ करोड राजस्व संकलन गरेको छ । यो तथ्यांक भदौ २९ सम्मको हो ।

भन्सारले साउनमा पाँच अर्ब ७० करोड ६ लाख ४५ हजारको लक्ष्य पाएको थियो । भन्सारले पाँच अर्ब २१ करोड ११ लाख उठाएको छ । यो लक्ष्यभन्दा नौ प्रतिशत कम हो । यस्तै चालु आवको भदौमा ६ अर्ब ५१ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य पाएकोमा गत बिहीबारसम्ममा पाँच अर्ब ५८ करोड २४ लाख असुली गरेको छ । यो लक्ष्यको ८६ प्रतिशत मात्र हो ।

पोहोर साउनमा यो भन्सारले पाँच अर्ब ३१ करोड ४४ लाख ५२ हजार र भदौमा सात अर्ब १९ करोड ६२ लाख २९ हजार रुपैयाँ असुलेको थियो । गत वर्षको तुलनामा यो वर्ष उक्त नाकाबाट सवारी साधनको आयात घटेकाले राजस्व असुली पनि घटेको भैरहवा भन्सारका सूचना अधिकृत गोपाल भट्टराईले बताए ।

यस्तै, मुलुकको अर्को प्रमुख भन्सार नाका विराटनगरस्थित भन्सार कार्यालयले पनि चालु आवमा भन्सार राजस्व लक्ष्य अनुसार उठाउन सकेको छैन ।

चालु आवको साउनमा यो भन्सारलाई सरकारले दुई अर्ब १८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो । भन्सारले साउनमा एक अर्ब ७० करोड मात्र संकलन गरेको छ ।

यस्तै, भदौ २७ सम्ममा विराटनगर भन्सारले एक अर्ब ५६ करोड रुपैयाँ असुली गरेको छ । जबकि यसलाई सरकारले भदौमा दुई अर्ब ४९ करोड राजस्व असुल्ने लक्ष्य दिएको थियो । 

विराटनगर भन्सारका अनुसार गत वर्ष भने साउन र भदौ दुवै महिनामा उसले लक्ष्यभन्दा बढी राजस्व उठाएको थियो । गत साउनमा यसले दुई अर्ब एक करोड रुपैयाँ राजस्व उठाएको थियो । सरकारले साउनमा यो भन्सारलाई एक अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो । यस्तै सरकारले यो भन्सारलाई भदौका लागि पनि एक अर्ब ९७ करोड राजस्व असुली गर्ने लक्ष्य तोकेकामा दुई अर्ब दुई करोड रुपैयाँ असुली गरेको थियो ।

विराटनगर भन्सारका भन्सार प्रमुख कृष्ण बस्नेतले जिएसटीको प्रभावले भन्दा पनि यो वर्ष साउन अन्तिम साता आएको बाढीका कारण राजस्व असुलीमा कमी आएको बताए । साउनमा आएको बाढीले नै सीमावर्ती जोगवनीस्थित भारतीय रेल मिरगन्जको पुल क्षतिग्रस्त भएपछि आयात–निर्यात ठप्प हुँदा राजस्व संकलनमा कमी आएको उनले दाबी गरे । ‘एक महिनादेखि जोगवनी नाकाबाट आयात–निर्यात ठप्प छ । रि–रुट गरेर भीमनगर–भन्टाबारीबाट सामान आयात–निर्यात भइरहेको छ,’ बस्नेतले भने।

मुलुकको सुदुरपश्चिमको प्रमुख नाका कैलाली भन्सार कार्यालयले पनि सरकारले तोकेको राजस्व लक्ष्य फेला पार्न सकेको छैन । यो भन्सारले गत वर्ष लक्ष्य सजिलै फेला पारेको थियो। 

कैलाली भन्सार कार्यालयका अनुसार चालु आवको साउनमा भन्सारलाई २७ करोड १५ लाख ९६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो । भन्सारले उक्त महिना १९ करोड ४३ लाख ५१ हजार रुपैयाँ मात्र उठाएको छ । यो लक्ष्यको ७१.५६ प्रतिशत मात्र हो। 

यस्तै, भदौ ३० सम्ममा यो भन्सारले १९ करोड ३८ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । भदौमा यो भन्सारलाई ३१ करोड तीन लाख ९६ हजार राजस्व उठाउने लक्ष्य दिइएको थियो । भदौको असुली लक्ष्यको ६२.४६ प्रतिशत मात्र हो। 

यही भन्सारले पोहोर साउन र भदौ दुवै महिनामा राजस्व लक्ष्य सजिलै फेला पारेको थियो । कार्यालयका अनुसार गत साउनमा यसलाई १३ करोड ८ लाख रुपैयाँ भन्सार राजस्व उठाउने जिम्मा दिइएकामा १५ करोड ३८ लाख रुपैयाँ उठाएको थियो । गत वर्ष साउनको असुली लक्ष्यको १७ प्रतिशत बढी हो।

यस्तै, भदौमा यो भन्सारले १८ करोड २० लाख रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा ९.९१ प्रतिशत बढी हो । भदौमा यो भन्सारलाई १६ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य दिइएको थियो । 

(विराटनगरबाट अजित तिवारी, वीरगन्जबाट रितेश त्रिपाठी, भैरहवाबाट रेखा भुसाल र धनगढीबाट दिलबहादुर छत्यालको सहयोगमा) 
   

प्रकाशित: २ आश्विन २०७४ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App