१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यात्रु ‘स्मार्ट ट्याक्सी’तर्फ, चालक हेरेको हेर्‍यै

राजधानीमा ट्याक्सी चलाउँदै आएका काभ्रेका सुरेश श्रेष्ठले अचेल पहिलेजस्तो यात्रु पाउन छाडेका छन्। 
तीन वर्षदेखि उपत्यकामा ट्याक्सी चलाउन थालेका उनी अचेल धेरै दिन ट्याक्सीमै निदाउन थालेका छन् । पहिले यात्रु ओसार्दा फुर्सद नपाउने श्रेष्ठ उपत्यकामा ट्याक्सी चढ्नेहरू कम भएर फुर्सदिला बनेका होइनन् । समयमै प्रविधिलाई आत्मसात् नगर्दा उनी अहिले ट्याक्सी भएर पनि बेरोजगारजस्तो बन्न थालेका छन्। 

‘अहिले पहिलेजस्तो यात्रु भेटिँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘खै किन हो कुन्नि भेटिनै छाडे यात्रु ? मोबाइलमै ट्याक्सी बोलाउन मिल्छ भन्छन्, त्यसैमा बोलाएर जान्छन् होला ।’ सामान्य बारफोन बोक्ने उनलाई सूचना प्रविधिबारे खासै जानकारी छैन । स्मार्टफोन चलाउन जानेका छैनन् । त्यसले गर्दा उनी उपत्यकामा खुलेका अनलाइन ट्याक्सी कम्पनीसँग जोडिन सकेका छैनन् । ‘यात्रुहरू आउँदै नआउने त होइनन्,’ उनले भने, ‘पहिलाजस्तो भने आउँदैनन्।’ 

राजधानीमा अचेल युवा पुस्ताका ट्याक्सी चालक बढेका छन् । एन्ड्रोइड स्मार्टफोन बोक्छन् । युवा पुस्ताका ट्याक्सी चालकलाई यात्रुको कमी नभएको देख्दा श्रेष्ठ अनलाइनले आफूहरूको व्यवसाय घटेको अनुमान गर्छन् । तर, उनले अहिलेसम्म अनलाइन ट्याक्सी कम्पनीमा जोडिने सोच बनाएका छैनन्। 

उपत्यकामा हाल आधा दर्जनजति अनलाइनबाटै ट्याक्सी बुकिङ गर्ने कम्पनी खुलिसकेका छन् । उनीहरूले वेबसाइटमार्फत ट्याक्सीको बुकिङ गरिदिन्छन् । यस्ता कम्पनीले मोबाइल एप्स समेत बनाएका छन् । कम्पनीमा आबद्ध भएका चालकले आफ्नो स्मार्टफोनमै यात्रु बुकिङको खबर पाउँछन् । यात्रुले पनि आफू नजिकको ट्याक्सी चालकको नम्बर पाउँछन् । यसले गर्दा सडक किनारामा उभिएर गुडिरहेको वा रोकिराखेको ट्याक्सीलाई हातको इसाराले बोलाउने क्रम घट्दै गएको छ । यात्रु र चालक मोबाइल एप्सकै माध्यमबाट भेट भएर कारोबार हुन थालेको छ । 

‘मलाई अनलाइनमा धेरै चासो छैन,’ उनले भने, ‘पढे–लेखेको छैन, कसरी राख्नु अनलाइनमा चासो ?’ उनले भने । यात्रु भेटुन्जेल ट्याक्सी चलाउने, त्यसपछि विकल्प खोज्ने मनस्थितिमा छन् उनी । ‘ट्याक्सी चढ्ने घट्नु भनेको कमाई घट्नु हो,’ उनले भने, ‘कमाई घट्दा चिन्ता लाग्छ ।’

श्रेष्ठ मात्र होइन, पहिलाका तुलनामा यात्रु घट्दै गएपछि मकवानपुरका ट्याक्सी चालक टपबहादुर दर्नाली पनि चिन्तित छन् । उनलाई पनि अनलाइनले व्यापार घटेजस्तो लाग्छ । ‘पहिलेको तुलनामा व्यापार घटेको छ,’ उनले भने, ‘स्मार्ट जमाना भन्छन्, अनलाइनबाटै ट्याक्सी मगाउँछन्, हाम्रो त व्यापार घटिहाल्यो नि ।’ अनलाइनबाटै ट्याक्सी मगाउने हुन्छन् भन्ने बुझे पनि उनलाई अनलाइन प्रणाली चलाउन आउँदैन । उनका केही साथीले भने अनलाइनबाटै यात्रु पाउन थालिसकेका छन् । ‘अनलाइन सनलाइन चलाउन आउँदैन मलाई,’ उनले भने, ‘भाग्यले जति बाटोमा भेटिन्छ, त्यति नै टिप गर्ने हो ।’

अनलाइन र मोबाइल एप्समार्फत ट्याक्सी बुक गर्न मिल्ने प्रविधिको विस्तारसँगै उपत्यकामा ट्याक्सी चलाउने धेरैलाई अहिले व्यवसाय संकटमा पर्ने चिन्ता छ । ‘नपढे पनि ड्राइभिङ गरेर खाउँला भनेर ट्याक्सी चलाउन थालियो,’ काभ्रेका ट्याक्सी चालक सोनाम लामा भन्छन्, ‘अहिले त ट्याक्सीका लागि पनि पढ्नुपर्नेजस्तो देखियो ।’ 

उपत्यकामा हाल अनलाइनबाटै ट्याक्सी बुकिङ गर्ने आधा दर्जनजति कम्पनी खुलिसकेका छन् । उनीहरूले वेबसाइटमार्फत ट्याक्सीको बुकिङ गरिदिन्छन् । यस्ता कम्पनीले मोबाइल एप्ससमेत बनाएका छन् । कम्पनीमा आबद्ध भएका चालकले आफ्नो स्मार्टफोनमै यात्रु बुकिङको खबर पाउँछन् । यात्रुले पनि आफूनजिकको ट्याक्सी चालकको नम्बर पाउँछन् । यसले गर्दा सडक किनारामा उभिएर गुडिरहेको वा रोकिराखेको ट्याक्सीलाई हातको इसाराले बोलाउने क्रम घट्दै गएको छ । यात्रु र चालक मोबाइल एप्सकै माध्यमबाट भेट भएर कारोबार हुन थालेको छ । 
प्रविधिबारे जानकारी भएका चालक यस्ता कम्पनीमा आबद्ध हुँदै व्यवसाय बढाइरहेका छन् भने प्रविधिबारे जानकारी नभएकाहरू व्यवसायबाटै पलायन हुन लागेका छन् । 

मिटर ट्याक्सी व्यवसायी संंघका अध्यक्ष अर्जुन गौतमका अनुसार उपत्यकामा गुड्नेमध्ये आधाजति ट्याक्सी अनलाइन बुकिङ कम्पनीसँग आबद्ध भइसकेका छन् । उनका अनुसार हाल उपत्यकामा करिब १० हजार ट्याक्सी गुड्छन् । उपत्यकाभित्र हाल ‘एडी क्याब’, ‘अनभर स्मार्ट ट्याक्सी’लगायत विभिन्न कम्पनीले अनलाइन र एप्समार्फत बुकिङ सुरु गरिसकेका छन्। 

‘अनभर’का सञ्चालक ओम खड्काका अनुसार अनलाइन र एप्सबाट ट्याक्सी मगाउने चलन बढ्दै गएको छ । दुई वर्षअघि सुरु भएको कम्पनीले हालसम्म ट्याक्सीसँग कुनै शुल्क नलिई काम गरिरहेको बताए । उनले अहिले बजारीकरणका लागि यस्तो सेवा दिएको भए पनि पछि कमिसनका आधारमा सेवा सुरु गरिने जानकारी दिए । यो कम्पनीमा हालसम्म आठ सय जति ट्याक्सी आबद्ध छन् । दैनिक एक सयजति यात्रुले बुकिङ गर्दै आएका छन् । 
कतिपय अनलाइन ट्याक्सी बुकिङ कम्पनीले निजी गाडीलाई समेत ट्याक्सी बनाएर चलाएको आरोप व्यवसायीको छ । मिटर ट्याक्सी व्यवसायी संंघका अध्यक्ष गौतम अनलाइन कम्पनीले ट्याक्सीलाई भन्दा निजी सवारीलाई प्राथमिकता दिएर व्यवसाय गरिरहेको दाबी गर्छन्। ‘अनलाइनमा मगाइन्छ, सवारी घरमा जान्छ,’ उनले भने, ‘निजी सवारी पठाएर पनि व्यवसाय गरिरहेकाले ट्याक्सी व्यवसायी चाहिँ मारमा छन्।’

प्रकाशित: २ आश्विन २०७४ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App