६ वैशाख २०८१ बिहीबार
अन्य

मौलाउँदो ‘डिनर कल्चर’

गायक कमलमान सिंह पहिला साथीभाइसँग रमाइलो गर्न रेस्टुरेन्ट जान्थे । अहिले भने उनी प्रायः आफ्ना बाबुआमासँग छुट्टीको दिन रेस्टुरेन्ट जान्छन् । चिनियाँ खानाका लागि ज्याठा र कोरियनका लागि ठमेल जाने गरेको उनी बताउँछन् । अनि नेपाली र इन्डियन खानाका लागि भने उनी पुग्छन्, गैरीधाराको तामा रेस्टुरेन्ट। 

व्यस्तताका कारण उनले गृहिणी आमा र जागिरे बुबाका लागि मनग्ये समय दिन सक्दैनन् । समय मिलेका वेला परिवारसँगै खानका लागि उनी विभिन्न रेस्टुरेन्ट जाने गरेका छन् । भन्छन्, ‘आफू प्रायः गीतसंगीतकै काममा व्यस्त भइन्छ । त्यसैले परिवारका लागि समय चाहेजति दिन सकिँदैन ।’ 

घरका एक्ला छोरा सिंहलाई अभिभावकसँग पर्याप्त समय बिताउन नपाउँदा खल्लो लाग्छ । त्यसैले उनी शुक्रबार वा शनिबार पारेर साँझको खानाका लागि आमाबुबालाई लिएर रेस्टुरेन्ट जाने गरेका छन् ।  
भन्छन्, ‘दिनहुँ घरमै बसिरहनुपर्ने आमाका लागि मुड फ्रेस हुने भएकाले पनि बुवाआमालाई लिएर डिनरका लागि रेस्टुरेन्ट जान्छु ।’ 

‘डिनरका लागि बैंकका जागिरे बढी आउँछन् । अन्य व्यवसायी पनि आउने गरेका छन् । सबै प्रकारका खाना रहेका कारण सामान्य आम्दानी गर्नेले पनि मज्जाले खाएर जान सक्छन् ।’

आमाबुबासँगबाहेक साथीभाइसँग भने उनी रेस्टुरेन्ट धेरै जान्छन् । साथीभाइसँग जानका लागि पनि तामा रेस्टुरेन्ट सजिलो लाग्ने उनी बताउँछन् । उनी चियादेखि खानासम्मका लागि रेस्टुरेन्ट जाने गरेका छन् । उनले सरसफाइ, सहज वातावरण र खानाको ताजापनलाई ध्यान दिएर रेस्टुरेन्ट जाने गरेको बताए। 

छुट्टीको दिन परिवारका सदस्यसहित साँझको खाना रेस्टुरेन्टमा खानेमा न्युरोडका आइटी व्यापारी मोहन डंगोल पनि पर्छन् । ‘छुट्टीको दिन पूरै परिवारका लागि दिन्छु,’ डंगालले भने, ‘त्यही दिन सबै परिवार रेस्टुरेन्टमा खाने गरेका छौँ ।’ गैरीधाराको तामा रेस्टुरेन्टमा भेटिएका उनी यसरी साँझको खाना परिवारसँग खान अन्य विभिन्न रेस्टुरेन्ट जाने गरेका छन् । फरक–फरक स्वादका लागि फरक–फरक रेस्टुरेन्ट जाने गरेको उनी बताउँछन्। 

परिवारसहित डिनरका लागि आफू पुग्ने रेस्टुरेन्टमा उनले खानाको स्वाद र मूल्यको ख्याल गर्छन्। 
गएको शुक्रबार तामा रेस्टुरेन्टमै भेटियो, बानेश्वरकी कविता थापाको परिवार । उनी त्यो साँझको खानाका लागि आफ्नो परिवार र छिमेकी परिवारसहित त्यहाँ पुगेकी थिइन् । थापा गृहिणी हुन् भने उनका पति जागिरे । सप्ताहन्तको साँझ पारेर यो परिवार त्यहाँ पुगेको थियो । ‘घुम्दै जाँदा यो रेस्टुरेन्ट आइपुगेका हौँ,’ कविताले भनिन् । छुट्टी या फुर्सद मिलाएर यो परिवार सहरका विभिन्न रेस्टुरेन्टमा डिनरका लागि पुग्ने गरेको छ। 

कविता भन्छिन्, ‘परिवारसँगै रमाइलो पनि हुने र घरमा पकाउनु पनि परेन । त्यसैले रेस्टुरेन्टमा डिनर गर्नु सजिलो छ ।’ यसरी रेस्टुरेन्टमा साँझको खाना खाँदा परिवारका साना नानी खुसी हुने कविताले सुनाइन्।
यो परिवारजस्तै थाकेको या रिफ्रेस हुने बहानामा रेस्टुरेन्ट गएर डिनर खाने ट्रेन्ड सहरमा बढ्दो छ । रेस्टुरेन्टमा खाने प्रचलन नै फेरिएको अनुभव रेस्टुरेन्ट सञ्चालकले पनि गरेका छन् । पहिलेपहिले केही धनाढ्य वर्गले सोखका लागि रेस्टुरेन्टमा खानपिन गर्ने र ढिलासम्म बस्ने चलन रहेको रेस्टुरेन्ट सञ्चालक बताउँछन् ।  अहिले यो चलन सबै वर्गमा पुगेको छ । विशेषगरी जागिरे, व्यवसायी र व्यापारी वर्ग रेस्टुरेन्टमा डिनरका लागि जाने ग्राहक हुन्। 

तामा रेस्टुरेन्ट गैरीधाराका सञ्चालक अञ्जित मल्ल भन्छन्, ‘डिनरका लागि बैंकका जागिरे बढी आउँछन् । अन्य व्यवसायी पनि आउने गरेका छन् ।’ नेपाली, इन्डियन तथा कन्टिनेन्टल खानाका कारण आफ्नो रेस्टुरेन्टमा सबैै समूह आकर्षित रहेको उनी बताउँछन् । भन्छन्, ‘सबै प्रकारका खाना रहेका कारण सामान्य आम्दानी गर्नेले पनि मज्जाले खाएर जान सक्छन् ।’रेस्टुरा आएर घन्टौँ बिताउने वर्ग समेत बढेको उनी बताउँछन् । त्यस्ताका लागि रेस्टुरेन्टको कम्पाउन्डमा बगैँचा र आनन्दमय वातावरण सहितको बस्ने ठाउँ मिलाइएको उनले सुनाए । 

सञ्चालक मल्लको अनुभवमा सहरमा पति–पत्नी दुवै जागिरे भएका या कुनै व्यवसायमा व्यस्त भएकाले साँझको खाना खान रेस्टुरेन्ट पस्ने गरेका छन् । उनले भने, ‘प्रायः बैंकका कर्मचारीको परिवार बढी डिनरका लागि आउँछन् ।’ 
सञ्चालक मल्लका अनुसार पछिल्लो समय रेस्टुरेन्टमा डिनर गर्नेको संख्या बढेको हो । पहिलेको तुलनामा अहिलेको मान्छेमा खर्च गर्ने र आनन्द लिने तरिका भएका कारण सबै वर्गका लागि रेस्टुरेन्टमा डिनर खाने चलन संस्कृतिको रूपमा विकास भएको उनको विचार छ । उनी भन्छन्, ‘पहिला सम्भ्रान्त वर्गका मान्छे मात्र रेस्टुरेन्टमा पस्थे, अहिले सबै समूहका आउँछन् ।’ आफ्नो रेस्टुरेन्टमा नजिकदेखि टाढाका ग्राहक समेत आउने गरेको मल्लले बताए। 

फेमिली डिनर र समूहमा खान आउनेले दरबारमार्गको रोयल साइनो रेस्टुरेन्ट साँझपख भरिभराउ हुन्छ । ३० वर्षदेखि सञ्चालनमा रहेको यो रेस्टुरेन्टले पनि पछिल्लो पाँच–सात वर्षयता ग्राहक आउने शैलीमा फरक अनुभूति गरेको छ । 
‘छुट्टीको दिन दोब्बर आउँछन्, त्यो पनि परिवारसहित,’ रोयल साइनोका कृष्ण पन्तले भने । उनी यो रेस्टुरेन्टमा काम गर्न थालेको दश वर्ष भयो । पाँच वर्षयता परिवारसहित आउनेको संख्या ह्वात्तै बढेको उनको अनुभव  छ । दिनमा भन्दा साँझमा आधाभन्दा बढी ग्राहक आउने गरेको उनले सुनाए । यो रेस्टुरेन्ट आउनेमा बैंक तथा सरकारी जागिरेका परिवार बढी छन् । पन्तले भने, ‘शुक्रबार र शनिबार साँझ रेस्टुरेन्ट भरिभराउ हुन्छ।’ 

पन्तको अनुभवमा पनि रेस्टुरेन्टमा साँझको खाना खाने संस्कृति मौलाउँदो छ । मानिसको आगमन बढ्दै गएपछि रेस्टुरेन्टले वातावरणको सुविधामा पनि परिवर्तन गर्दै गएको छ । एकपटकमै करिब तीन सय अटाउन सक्ने ठाउँको व्यवस्था गरिदिएको छ, रोयल साइनोले । बाहिर बगैँचामै खाना चाहनेका लागि त्यहीअनुसार व्यवस्था पनि यस रेस्टुरेन्टले गरिदिएको छ । 

साँझको खाना खानेले आनन्दको वातावरण रुचाउने उनी बताउँछन् । उनी भन्छन्, ‘रेस्टुरेन्टमा सबै खालका खाना उपलब्ध भए पनि इटालियन, कन्टिनेन्टल, इन्डियन र नेपाली खानाको माग बढी हुने गरेको छ ।’ 
रेस्टुरेन्टमा नयाँदेखि पुराना ग्राहक डिनरका लागि आउने गरेको उनले बताए । दरबारमार्गको आनन्दमय वातावरणका कारण पनि रेस्टुरेन्टका ग्राहक बढेको पन्तको अनुमान छ । 

विशेषगरी पति–पत्नी दुवै कुनै पेसामा आबद्ध रहेका परिवार बढी मात्रामा रेस्टुरेन्टमा डिनरका लागि आउने गरेको सञ्चालक बताउँछन् । कामको थकाइ, महिलामा बढ्दै गएको पुरुषसरह काम गर्ने स्वतन्त्रता र समानताको प्रभावजस्ता पक्षले पनि रेस्टुरेन्ट डिनर संस्कृतिलाई बढावा दिएको तामा रेस्टुरेन्टका सञ्चालक मल्ल बताउँछन्। 

उनी भन्छन्, ‘केही बाह्य संस्कृतिको प्रभाव पनि हो, मुख्य महिला जागिरमा बढी सहभागी हुन थालेको प्रमाण पनि हो ।’ घरको उकुस–मुकुस वातावरणबाट एकछिन ताजगी लिन र स्वाद फेर्न पनि रेस्टुरेन्टमा खाने संस्कृति बढ्दै गएको रोयल साइनोका पन्त बताउँछन् । 

प्रकाशित: २ आश्विन २०७४ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App