१४ चुचुरो चुम्ने मिङ्मा

सोमबार, ०२ असोज २०७४, १२ : ४९ खिलक बुढाथोकी  | @KhilakB


दुई विदेशी आएका थिए, हिमाल चढ्न । सहायक गाइड बनेर लाङटाङको याला पिक चढ्ने अवसर पाए, मिङ्मा शेर्पाले पनि । मिङ्माको जिन्दगीमा त्यो पहिलो हिमाल आरोहण थियो । ‘त्यो दिन हिमाल चढ्दा साह्रै खुसी लाग्यो,’ शंखुवासभा मकालुका मिङ्माले पहिलो आरोहण सम्झिए, ‘त्यसपछि हिमालबाहेक अरु केही सोचिनँ।’

त्यतिबेला पाँच हजार पाँच सय मिटर उचाइको हिमाल चढ्दा रमाएका उनले अहिलेसम्म आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल चढिसके । अहिले उनी सेभेन समिट टे«क्स कम्पनी सञ्चालन गरेर वार्षिक सयौँलाई हिमाल चढाइरहेका छन्।

गाउँमा रहँदा उनले भेडाबाख्राको गोठालो गर्थे । त्यसबेला वरपरका हिमाल देख्दा उनलाई हिमाल आरोहण गर्ने रहर जाग्थ्यो । 
मकालु हिमाल हेर्न गएका पर्यटकको अघि–पछि हिँड्ने नेपाली गाइडलाई उनले ध्यान दिएर हेर्थे । त्यतिबेलै उनले सोचेका हुन्, ‘एक दिन म पनि पर्यटक घुमाउने मान्छे बन्छु ।’

त्यही सपना बोकेर १५ वर्षको उमेरमा उनी काठमाडौं आए, ०५४ मा । काठमाडौंमा उनले दुई वर्ष ज्यामी काम गरे । त्यसपछि मात्रै ट्रेकिङ भरिया बन्ने अवसर पाए । 

सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सन् १९५३ मै सगरमाथा चढेको कुरा उनले सुनेका थिए । तर, आठ हजार मिटरभन्दा अग्ला हिमाल विश्वमा १४ वटा छन् भन्ने उनलाई थाहा थिएन । उनले यति सोचेका थिए, ‘नेपालमा हिमालै हिमाल छन् । एक दिन सबै हिमालका टाकुरा टेक्नेछु ।’


३५ किलोको भारी बोकेर हेलम्बु हुँदै लाङटाङ ट्रेकिङ गएको याद ताजै छ, मिङ्मासँग । त्यसबेला उनको दैनिक ज्याला ९० रुपैयाँ थियो । उनले त्यो पैसा बचाउन सकेनन् । खानामै ठिक्क भयो । तर, टे«किङ गर्ने उनको रहर भने झनै मौलायो । 

‘चार वर्षसम्म भरिया बनेँ । ट्रेकिङ जाँदा ठूलो भारी बोकेको हुन्थेँ,’ उनले विगत सम्झिए, ‘भारीले थिचे पनि टे«किङ क्षेत्रमा लागेरै नाम कमाउँछु भन्ने लागिरहन्थ्यो ।’

सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सन् १९५३ मै सगरमाथा चढेको कुरा उनले सुनेका थिए । तर, आठ हजार मिटरभन्दा अग्ला हिमाल विश्वमा १४ वटा छन् भन्ने उनलाई थाहा थिएन । उनले यति सोचेका थिए, ‘नेपालमा हिमालै हिमाल छन् । एक दिन सबै हिमालका टाकुरा टेक्नेछु ।’

उनको हिमाल चढ्ने चाहना पर्वतारोहीको सहयोगी बनेर पूरा भयो, सन् २००० तिर । घरबाट देखिने मकालु हिमाल पनि पर्वतारोहीकै सहयोगी बनेर चढे। 

यसपछि उनले थाहा पाए, आठ हजार मिटरका हिमाल विश्वमा १४ वटा छन्– आठवटा नेपालमा, एउटा चीनमा र पाँचवटा पाकिस्तानमा । 

अर्को साल उनले मकालु (८४६३ मिटर) हिमाल चढे । त्यही साल उनले चीनको सिसा पान्गम पनि चढे । आठ हजार मिटरका पाँच हिमालको आरोहण गरेपछि उनको हिमाल चढ्ने इच्छा झनै बढ्यो।
मिङ्माको भाषामा हिमाल चढ्नु मर्न तयार हुनु हो । ‘ज्यानकै बाजी राखेर विदेशीलाई हिमाल चढाउने हामी हुन्छौँ,’ उनी भन्छन्, ‘आरोहणपछि उनीहरू आरोही हुन्छन्, हामीचाहिँ भरिया ।’

विदेशीले भरिया भनेर सम्बोधन गर्दा मिङ्मालाई औधि मन पोल्थ्यो । शिखर चुम्न मद्दत गर्ने आफूहरूको नाम कतै नदेखेपछि उनी विरक्त हुन्थे । उनले विदेशीको सहयोगी बनेरै नौ हिमाल चढिसकेका थिए, आठ हजार मिटरका । तैपनि विदेशीले भरियाकै संज्ञा दिएपछि उनलाई लाग्यो– हामी भरिया मात्रै होइनौँ, हामी पनि हिमाल चढ्न सक्छौँ । बाँकी रहेको पाँच हिमाल चढेर देखाउँछु । 

अन्नपूर्ण १, धौलागिरि, कञ्जनजंग लगायत चढ्न बाँकी रहेका आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल उनी आफ्नै लगानीमा चढे । पछिल्लोपटक सन् २०११ मा उनले कञ्चनजंघा चढे । त्यसपछि उनी १४ वटै हिमाल चढ्ने कान्छो आरोही बने । सबैभन्दा कान्छो आरोहीको रूपमा उनको नाम गिनिज बुकमा रेकर्ड छ । साउथ एसियाकै पहिलो व्यक्ति हुन्, उनी १४ वटै हिमाल चढ्ने । अहिलेसम्म ३५ जनाले मात्रै १४ वटै हिमाल चढेका छन् । मिङ्माका भाइ छाङ दावा ३५ जनाभित्र पर्छन् । छाङ दावाले दाइलाई पछ्याउँदै हिमाल चढेका हुन् । उनी पनि गिनिज बुकमा आफ्नो नाम दर्ता गर्ने प्रक्रियामा छन् । नाम दर्ता भएपछि भने छाङ दावाले दाइ मिङ्माको रेकर्ड तोड्नेछन्। 

मिङ्माका अनुसार हिमाल चढ्नु नशाजस्तै हो । ‘टाकुरामा पुग्दा मात्रै हो, खुसी अनुभव हुने । बाँकी सबै समय मृत्युलाई जित्दै पाइला चाल्नुपर्छ,’ उनी भन्छन्, ‘टाकुरामा पुगेपछि भने सबै हिमाल होँचा देखिन्छन् । हिमालहरू हीराजस्ता देखिन्छन् । तर, प्रत्येक हिमाल चढाइ जीवनकै अन्तिमजस्तो लाग्छ।’ 

परिवारसँग छुट्ने बेला नै फेरि भेट हुने सम्भावना आरोहीले ५० प्रतिशत मात्रै देखेको हुन्छ । यस्तो जोखिम बारम्बार किन मोल्छन् त आरोहीले ? मिङ्मा भन्छन्, ‘कोही रहरले चढ्छन्, त्यस्तालाई एकपटक साहस जुटाए पुग्यो । कोही नाम कमाउन चढ्छन्, जसलाई बारम्बार साहस जुटाइरहनुपर्छ।’ 

नेपालमा हिमाल चढ्नेलाई त्यति सम्मान नहुने उनको अनुभव छ । भन्छन्, ‘विदेशमा यतिवटा हिमाल चढेको वा यतिपटक सगरमाथा चढेको भन्दा सानै छुट्टै हुन्छ ।’ 

पछिल्लो समय सरकारले आरोहीको खुसी खोसेको छ । आरोहण गर्ने शेर्पालाई दिँदै आएको प्रमाणपत्र अहिले रोकिएको उनले बताए । ‘आरोहीले जीवन जोखिममा राखेर विदेशीलाई हिमाल चढाउँछ, लाखौँ राजस्व भिœयाउँछ,’ मिङमाले भने, ‘सरकार भने एउटा कागज (प्रमाणपत्र) दिन पनि कन्जुस गरिरहेको छ । आरोहीलाई हेर्ने यही दृष्टिले त तेन्जिङ नोर्गेजस्ता आरोही विदेशी भएर मरे ।’ 

अन्य आरोही पनि धमाधम विदेशी नागरिकता लिइरहेका छन् । आरोहीप्रति सरकारको हेर्ने दृृष्टिकोण नबदलिने हो भने केही वर्षपछि हिमाल चढाउने आरोहीको अभाव हुने मिङ्मा बताउँछन् । ‘चुचुरोमा पुगेका विदेशीले प्रमाणपत्र पाउने तर त्यही चुचुरोमा पु¥याउने शेर्पालाई प्रमाणपत्र नदिने सरकारको नीतिदेखि आरोही रुष्ट भएर धमाधम पलायन भइरहेका छन्,’ उनले भने, ‘मेरो कम्पनीमा झन्डै तीन सय आरोहीले काम गर्छन् । हिमाल चढ्न जाने बेला उनीहरूको एउटै गुनासो हुन्छ– हामी दुःख गरेर हिमाल चढाएर सरकारलाई लाखौँ राजस्व ल्याइदिन्छौँ तर सरकारले हामीलाई प्रमाणपत्र दिन पनि कन्जुस्याइँ गर्छ ।’ 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

सुटिङका लागि नेपाल आउँदै अर्जुन-परिणिती

अभिनेता अर्जुन कपुर र अभिनेत्री परिणिती चोपडाको अभिनय रहने नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’ को सुटिङ नेपालमा पनि गरिने...

सकियो श्वेताको ‘कान्छी’

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको...

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

‘कसले बजाउने बिनायो र मुर्चुङ्गा ?’

दुई दशक अघिसम्म खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका टोल–टोलमा बिनायो र मुर्चुङ्गा बज्थे । मेलापात घाँस–दाउरा, हाटबजार, अर्मपर्मका बेला घन्किने...

तस्विरमा कलाकारको भाइटीका

तस्विरमा कलाकारको भाइटीका

तिहारको अन्तिम दिन शनिबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरंगी वा...