६ वैशाख २०८१ बिहीबार
समाज

ट्रक र बियर त्रिशुलीमा खसाल्ने ४ जना पक्राउ

हेटौंडा- बनावटी दुर्घटना गराई बियर र ट्रकको क्षतिपूर्ती रकम खाने योजनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ५ का ३० बर्षिय उज्ज्वल कँडेल, हेटौँडा उपमहानगरपालिका ११ का २८ बर्षिय सन्तोष खत्री, हेटौंडा १९ का २२ बर्षिय निर्मल सुवेदी र हेटौँडा १३ पदमपोखरीका २४ बर्षिय मणी लामा रहेका छन्। ट्रकका सक्कली साहु हेटौँडा ३ का सन्तोष खड्का फरार छन् । आरोपीहरुले ट्रकको दुर्घटना बापत् बिमा र बियरको रकम लिन ट्रक त्रिशुलीमा खसालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिए।

यसरी भएको थियो घटना

भदौ २० गते मनहरी गाउँपालिका ५ का ट्रक चालक उज्ज्वल कँडेल र योजनाकार हेटौँडा ३ का सन्तोष खत्री चितवनको ईच्छामनकामना गाउँपालिकाको जलबिरे गए । प्रहरीका अनुसार उनीहरु त्रिशुली नदिको कुन ठाउँमा ट्रक खसालेपछि ट्रक फेला पर्दैन र शंका पनि हुँदैन भन्ने हेर्न त्यहाँ गएका थिए । जलबिरे दुर्घटना गराउन उपयुक्त देखिएपछि योजना बनाएर हेटौँडा फर्के ।

त्यसको ५ दिन पछि भदौ २५ गते नवलपरासीको गोर्खा ब्रुअरीबाट १४ सय कार्टुन बियर लिएर ना ५ ख ७२९७ नम्बरको ट्रक काठमाडौं हिड्यो। तर जलबिरेमा सोही ट्रक १४ सय कार्टुन बियरसहित दुर्घटना भई त्रिशुलीमा खसेको खबर आयो।

तर ट्रक दुर्घटना गराउनु अघि नै चितवनको गितानगरमा अर्को ट्रकमा १२ सय कार्टुन बियर पल्टी गरेको प्रहरी उपरीक्षक खनालले बताए। उनका अनुसार दुर्घटना गराईएको ट्रकमा २ सय कार्टुन मात्र बियर थियो।

१२ सय कार्टुन बियर बोकेको ट्रक भदौं २६ गते हेटौंडा ११, थानाभर्‍याङ्गमा ल्याईएको थियो। भोलीपल्ट भदौ २७ गते हेटौंडा २, नयाँ मनकामना रोडको कुमारमणी दहालको घरमा १२ सय कार्टुन बियर लुकाएर राखे। ४ दिन पछि भदौं ३१ गते हेटौंडा १३ पदमपोखरीमा सबै बियर लुकाएको प्रहरीले जनाएको छ।

उता, ट्रक र २ सय कार्टुन बियर त्रिशुलीमा बिहान ११ बजे खसालेपछि उज्जवल कँडेलले नक्कली साहु निर्मल सुवेदीलाई खबर गरेका थिए। सुवेदीले भदौ २६ गते ईलाका प्रहरी कार्यालय मुग्लीनमा बिमा रकम पाउने उदेश्यले निवेदन दिए।

दुर्घटना पछि चालक कँडेललाई चोट नलागेकाले शंका हुने र योजना असफल हुने आशंकामा सुवेदीले भरतपुर यातायात कार्यालय चौबिसकोटी नजिक झाडीमा बायाँ खुट्टाको घुँडा माथि चक्कुले काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी ६ टाँका लगाएका थिए।

तर असोज १ गते हेटौंडा १३ पदमपोखरीमा रहेको मणी लामा र बुद्ध तामाङ्गको घरबाट प्रहरी टोलीले करिब ३७ मुल्य पर्ने ९ सय ६० कार्टुन दुबर्ग बियर बरामद गरेपछि घटना सार्वजनिक भएको हो।

फरार रहेका ट्रकका सक्कली साहु हेटौँडा ३ का सन्तोष खड्का आर्थिक रुपमा कमजोर भएपछि उनले हेटौँडा ११ का सन्तोष खत्री मार्फत् योजना तयार पारेका थिए। ट्रकमा ४३ लाख मुल्यको बियर लोड गर्ने, बियरलाई चितवनमा अर्को ट्रकमा पल्टी गरी हेटौंडामा लुकाएर बेच्ने र २ सय कार्टुन बियर सहित ट्रकलाई त्रिशुलीमा खसाली ट्रकको बिमा र ४३ लाख पर्ने बियर पनि फुत्काउने योजना उनीहरुको थियो । निकै आर्थिक अपचलनको आरोप लागेको खड्कालाई ट्रक खसालेमा विमा कम्पनीले नपत्याउन सक्थ्यो। त्यसैले योजना सफल भएपछि ४ लाख दिने सर्तमा हेटौँडा ११ का निर्मल सुवेदीलाई साहु बनाए  र कागज गरेर ट्रक सुवेदीको नाममा पास गरियो। त्यसपछि खोजीएको आँटिलो ट्रक चालकको काम गर्न ५ लाख लिने सर्तमा मनहरीका कँडेल तयार भए। घटना थराएपछि बियर उनीहरुले हेटौँडाका बिभिन्न स्थानमा लुकाएर राखेका थिए।

प्रकाशित: २ आश्विन २०७४ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App