coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तुर्कमेनहरूको सपना पूरा भएको दिन

अस्गाबत– राष्ट्रपति गुर्बाङगुली बेर्डिमुहामेडोभ उनको देश तुर्कमेनिस्तानले झन्डै दशकअघिदेखि देखेको सपना आइतबार मध्यरातमा पूरा भएको छ। 

मध्य एसियाको देश तुर्कमेनिस्तानको राजधानी अस्गाबतमा आइतबार पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स खेलकुद औपचारिक रूपमा सुरु भएको छ । घोडाका परम्परागत रोचक प्रस्तुतिसँगै तुर्कमेनिस्तानको सभ्यता र संस्कृतिलाई महत्त्व दिइएको उद्घाटन समारोह अस्गाबत ओलम्पिक रंगशालामा भव्य आतिशबाजीसँगै सकिएलगत्तै एक स्वयम्सेवक फरहान भन्दै थिए, ‘आज हामी सबै तुर्कमेनहरूको सपना पूरा भएको दिन हो।’

एसियाका ४५, ओसियानाका १९ र एक शरणार्थी गरी कुल ६५ टोलीका ४ हजार ५ सय खेलाडीले विभिन्न २१ खेलमा ३ सय ४७ स्वर्ण पदकका लागि १२ दिनसम्म प्रतिस्पर्धा गर्ने पाँचौं एसियाली इन्डोर तथा मार्सल आटर््स खेलकुद तुर्कमेनिस्तानले गरेको इतिहासकै अहिलेसम्मको ठूलो महोत्सव हो । मध्य एसियामै अहिलेसम्म भएकामध्ये सबभन्दा ठूलो खेल मेलाको उद्घाटनमा ७ हजार ५ सय कलाकार तथा १ सय जनावरले तुर्कमेनिस्तानको इतिहास, पाँच क्षेत्र र देशभित्र रहेका २४ जातजातिको सभ्यता र परम्परा प्रस्तुत गरेका थिए । जनावरमा विभिन्न रोचक तथा जोखिमपूर्ण प्रस्तुतिका लागि ६५ घोडा, ३४ उँट र १ कुकुर प्रयोग गरिएको थियो।

सोची २०१४ तथा दुबईमा सम्पन्न हर्स रेसिङ विश्वकपको व्यवस्थापन जिम्मा लिएको इभेन्ट म्यानेजमेन्ट कम्पनी बालिच वल्र्डवाइड शोजले अस्गाबत इन्डोर एन्ड मार्सल आटर््स खेलकुदको साढे दुई घण्टा लामो उद्घाटन समारोह आयोजनाको जिम्मेवारी लिएको थियो । त्यसअन्तर्गत १८ महिनाअघिदेखि विभिन्न ३९ देशका ७ सय ४२ समारोह विज्ञ कार्यरत रहेको आयोजकले जनाएको छ।

यसका लागि ८ वर्षअघि तयारी सुरु गरेको स्मरण गर्दै फरहानले भने, ‘हामीले २०१० मा मात्र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) बाट यो महोत्सव आयोजनाको अधिकार पाएका थियौं । तर त्यसका लागि दाबी गर्ने क्रममा हामीले २००९ बाटै तयारी सुरु गरेका थियौं।’

१९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको विश्व मानचित्रको युवा देशले अस्गाबतमा विभिन्न खेलका महŒवाकांक्षी प्रतिस्पर्धा स्थल बनाउन ५ अर्ब अमेरिकी डलर खर्च गरेको थियो । विभिन्न चरणमा गरी आठ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने तुर्कमेन सरकारको लक्ष्य पूरा हुँदा राष्ट्रपति बेर्डिमुहामेडोभको प्रत्यक्ष नेतृत्व रह्यो । त्यसैले आइतबार सात राष्ट्रका सरकार प्रमुख उपस्थित भएको उद्घाटन समारोहमा उनी गर्वका साथ भन्दै थिए, ‘हामीले ग¥यौं । खेलकुद स्वस्थ राष्ट्रको मेरुदण्ड हो । एसियाली इन्डोर खेलकुदलाई हामी विश्वकै उत्कृष्टमध्ये एक महोत्सवका रूपमा सफल पार्न चाहन्छौं । विभिन्न देशबाट आउने खेलाडी र खेलकर्मीलाई तुर्कमेनिस्तानको बसाइ अन्तर्राष्ट्रिय स्तरमा तयार गरिएका उत्कृष्ट सुविधाबाट सुखद बनाउन सबै प्रयास गर्नेछौं।’

उनकै नेतृत्वमा यही खेलका लागि तुर्कमेनिस्तानले ‘ह्वाइट सिटी’ अस्गाबतमा झन्डै २० वर्गकिलोमिटर क्षेत्रमा भव्य ओलम्पिक भिलेज बनाएको छ । जहाँ ४५ हजार क्षमताको फुटबल रंगशाला, १५ हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल, ५ हजार दर्शक क्षमताको इन्डोर पौडी पोखरी, उत्तिकै ठूलो आउटडोर पौडी पोखरी, कम्ब्याट खेलहरूका लागि ४ हजार दर्शक क्षमताको जिम्न्याजियम, ७ हजार दर्शक क्षमताको इन्डोर एथलेटिक्स ट्र्याक एन्ड फिल्ड रंगशाला, १० हजार दर्शक क्षमताको घोडचढी खेलकुद कम्प्लेक्सलगायतका पूर्वाधार पछिल्लो आठ वर्षमा गरेको सुनाउँदा हरक तुर्कमेनले गौरव गरिरहेका हुन्छन्। 

‘एसियाली इन्डोर खेलकुदका लागि तयार गरिएको भिलेजभित्र ८ हजार ८ सय खेलाडी बस्न सक्ने पाँचतारे होटल बराबरको सुविधासम्पन्न आवास व्यवस्था गरिएको छ । मिडिया भिलेजको क्षमता १ हजार पत्रकारको छ,’ इन्डोर तथा मार्सल आटर््स गेम्समा स्वयम्सेवकको भूमिकामा रहेका विद्यार्थी आरस्लानले भने, ‘घोडचढीबाहेक सबैजसो खेलका लागि २० वर्गकिलोमिटरको क्षेत्रफलभित्र बनेका पूर्वाधारमा पुग्न ५ किलोमिटरको मोनोरेल बनाइएको छ।’ 

आरस्लानको भनाइमा फरहान थप्दै थिए, ‘तुर्कमेनिस्तान एउटा युवा देश हो । हामीले धेरै काम गर्न बाँकी छ । स्वतन्त्र भएको २५ वर्षमा हामीले जति उपलब्धि हासिल गरेका छौं, त्यो उल्लेख्य छ । सोभियत युनियनबाट १९९१ मा स्वतन्त्र हुँदा हामीसँग केही थिएन । अहिले हामीसँग खेलकुदमा विश्वकै उत्कृष्ट पूर्वाधारहरू छन् । पहिलो चरणको सपना पूरा भएको छ । अब हामी यसलाई भव्य रूपमा सफल पारेर यसकै प्रेरणामा एक दिन ओलम्पिक गर्न चाहन्छौं।’

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् खेलकुद उदघाटन सत्रको मार्च पासमा नेपालको झन्डा तेक्वान्दोकी निमा गुरुङले बोक्ने भनेको थियो । तर निमाको फ्लाइट तालिका ढिला भएकाले आइतबार भएको उद्घाटन सत्रमा नेपालको झन्डा तेक्वान्दोकै वीरबहादुर महराले बोकेका थिए ।

प्रकाशित: ३ आश्विन २०७४ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App