८ वैशाख २०८१ शनिबार
खेल

युनाइटेडको सिटीसँग अंक बराबरी

म्यानचेस्टर – एभर्टनलाई ४–० ले हराउँदै आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटीसँग अंक बराबरी गरे पनि प्रशिक्षक जोजे माउरिन्होले सहरी प्रतिद्वन्द्वीबारे कुनै सोच नबनाएको बताएका छन्।

एन्टोनियो भ्यालेन्सिया, हेनरिक मिखितारियान, रोमेलु लुकाकु र एन्थोनी मार्सियालले समान १/१ गोल गरेपछि युनाइटेडले पेप ग्वार्डिवलाको सिटीसँग अंक बराबरी गरेको हो । सिटी र युनाइटेडको अंक मात्र नभई गोलभिन्नता पनि बराबर छ ।
‘मैले एक पल पनि सिटीको बारेमा सोचेको छैन,’ युनाइटेडका प्रशिक्षक माउरिन्होले भने, ‘मैले टोटेनह्याम, चेल्सी, आर्सनल र लिभरपुलबारे सोचें । यस साता उनीहरूले अंक बाँडे । त्यसले हामीलाई स्पष्ट दुई अंकको अग्रता लिने अवसर जुराइदियो । गत साता हामी स्टोक सिटीसँग बराबरीमा रोकिँदा उनीहरूले पनि त्यही सोचेको हुनुपर्छ । मैले सिटीबारे नभई ती क्लबहरूबारे सोचेको थिएँ । सिटीले खेल जित्दै आफ्नो जिम्मेवारी निभाएको छ । गत सिजन दुई क्लबबीचको भिन्नता छुट्टिसकेको छ । हामीले राम्रो खेल्दै धेरै गोल गरिरहेका छौं।’

अन्तिम सात मिनेटमा तीन गोल गरेपछि माउरिन्होको टोली फराकिलो जित निकाल्न सफल भएको थियो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा चौथो मिनेटमै भ्यालेन्सियाको गोलमा युनाइटेडले अग्रता लियो । उनले निमान्जा माटिचको क्रसलाई भ्यालेन्सियाले भलीमार्फत पोस्टको दिशा दिएका हुन्। 

८३औं मिनेटमा मिखितारियानले लुकाकुको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।
८९औं मिनेटमा लुकाकुले जिसे लिंगार्डको पासमा गोल गर्दै टोलीको अग्रता ३–० मा पु¥याएका थिए । त्यसको एक मिनेटपछि मार्सियलले पेनाल्टीमा गोल गर्दै जित अन्तर फराकिलो पारेका थिए । एभर्टनका मोर्गान स्नाइडरलिनले पेनाल्टी बक्समा हातले बल छोएपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।

माउरिन्होले अन्तिम सात मिनेटमा गरेको तीन गोल सन्तोषजनक नभए पनि त्यसले खेलमा टोलीको दबदबा झल्काउने बताए।

एभर्टनले सबै खाले प्रतियोगिता गरी पराजय बेहोरेको यो लगातार चौथो खेल हो र टोलीले ४ खेलमा कुनै गोल नगरी १२ गोल खाइसकेको छ।

अन्तिम समय सम्हालिन नसक्दा फराकिलो हार बेहोरे पनि एभर्टनका प्रशिक्षक रोनाल्ड कोइमयानले टोलीको प्रदर्शनमा सुधारको संकेत देखिएको दाबी गरे।

‘एट्लान्टासँग बिहीबार गुमाएको खेलभन्दा यस खेलमा खेलाडीको प्रदर्शन सुधारिएको थियो,’ कोइम्यानले भने।
यस नतिजापछि ५ खेलको समाप्तिमा मात्र ४ अंक जोडेको एभर्टन १८औं स्थानमा छ। 

प्रकाशित: ३ आश्विन २०७४ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App