४ वैशाख २०८१ मंगलबार
अर्थ

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाडौं – काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत भदौ १२ गते भएको उक्त घटनालाई वायुसेवा निगम व्यवस्थापनले गुपचुप राखे पनि अहिले सार्वजनिक भएको छ । विमानस्थलस्थित ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरले अवतरण अनुमति नदिए पनि निगमका पाइलट शेर्पाले आफूले ‘कमान्ड’ गरी ल्याएको जहाजलाई जबर्जस्ती अर्को विदेशी जहाजको अवतरणमार्गमा प्रवेश गराएका थिए। 

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार भारतको मुम्बईबाट आइरहेको जेट एयरवेजको ‘बि७३७’ जहाज दक्षिणबाट धावनमार्ग भएको उत्तरतिर आइरहेको थियो । यता शेर्पाको कमान्डमा पोखराबाट काठमाडौं आइरहेको निगमको १७ सिटे चिनियाँ जहाज ‘वाई१२–ई’ पश्चिमबाट पूर्व हुँदै अवतरणका लागि उत्ततरतर्फ आइरहको थियो। 

‘त्यसपछि एटिसी टावरले जेट एयरवेजलाई पहिलो प्राथमिकता दिँदै अवतरण अनुमति दियो र निगमको जहाजलाई कीर्तिपुरमाथि केहीबेर होल्ड गर्न निर्देशन दियो,’ स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘तर, निगमका प्रशिक्षक पाइलट शेर्पाले जबर्जस्ती जहाज धावनमार्गको दक्षिणी भेग (कोटेश्वर) माथि ल्याइपु¥याए । पहिले अवतरण अनुमति पाएको जेट एयरवेजको जहाजको मार्गको अगाडि निगमको जहाज देखिनासाथ टावरले जेटलाई ‘ओभरसुट’ (तुरुन्तै माथि उकास्न) निर्देशन दियो।’

त्यसपछि टावरले बाध्य भएर शेर्पाको जहाजलाई अवतरण गराएको थियो । पहिले अवतरण अनुमति पाएको जेटको जहाज भने काठमाडौं उपत्यकालाई एक फन्का लगाएर सिमरा पुगेर आएपछि मात्र दोस्रो पटक अवतरण गरेको थियो । ‘धन्य, ठूलो दुर्घटना टर्‍यो,’ स्रोतले भन्यो। 

दुवै जहाज अवतरण गरेपछि जेट एयरवेजले त्रिभुवन विमानस्थल व्यवस्थापनलाई लिखित उजुरी दियो र लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका प्रशिक्षक पाइलट शेर्पा र को–पाइलट रोबिन केसीलाई छानबिनको निष्कर्ष नआएसम्म जहाज उडाउन नपाउने गरी ग्राउन्डेड ग¥यो । प्राधिकरण त्रिभुवनसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय हो। 

‘घटना लगत्तै हामीले पाइलटद्वय शेर्पा र केसीलाई ग्राउन्डेड गरी दुई सदस्यीय छानबिन समिति गठन ग¥यौं,’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नागरिकसँग भने, ‘छानबिन चलिरहेको छ । समितिको प्रतिवेदनको सिफारिसअनुसार आवश्यक कारबाही गर्छौं।’ 

छानबिन समितिको संयोजकमा प्राधिकरणका वरिष्ठ उडान निरीक्षक क्याप्टेन दधिराम (डिआर) निरौला र एयर नेभिगेसन सेफ्टी स्ट्यान्डर्ड विभागकी निर्देशक नविना कर्माचार्य सदस्य छिन्। 

सम्बद्ध स्रोतका अनुसार प्रशिक्षक पाइलट शेर्पाले को–पाइलट केसीमाथि दोष थोपरेर उम्किने प्रयास गरेका थिए । तर, जहाज कमान्ड गरेर आएका शेर्पा उक्त उडानको प्रमुख जिम्मेवार पाइलट भएका कारण प्राधिकरणले दुवैलाई ग्राउन्डेड गरेको थियो । केसीले भर्खरै जहाज उडाउन थालेका हुन् । उनले हालसम्म ४५ घन्टामात्र जहाज उडाएका छन् ।   
ग्राउन्डेड भएपछि शेर्पा अमेरिका भ्रमण गरेर पनि फर्किसकेका छन् । शेर्पा तिनै पाइलट हुन् जसलाई वायुसेवा निगमका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मा विज्ञताको नाम दिएर प्रतिमहिना १० लाख रुपैयाँ तलब दिने गरी गत जेठ २६ गते चार वर्षका लागि नियुक्त गरिएको थियो। 

विज्ञ भन्दै नवौं तहको वरिष्ठ क्याप्टेनमा नियुक्त गरिएका शेर्पाले आन्तरिक सेवामा रहेको चिनियाँ जहाज वाई१२–ई उडाउँदै आएका थिए । उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले महिनाको १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ। 

स्रोतका अनुसार निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रुपैयाँ तलब तथा प्रतिमहिना ७० घन्टा जहाज उडाए प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता दिने गरी नियुक्तिपत्र दिएको छ । करार सम्झौता अवधि रहुन्जेल तलबभत्ता बाहेक शेर्पा, उनकी श्रीमती, छोराछोरी र अभिभावकलाई निगमका चिकित्सकले प्रमाणित गरे स्वास्थ्य उपचार खर्चवापत ५ हजार रुपैयाँ पनि उपलब्ध गराइने छ । त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यमा उनी र उनको परिवारलाई वर्षको दुईथान निःशुल्क हवाई टिकटलगायत सुविधा पनि दिइएको छ । 
क्याप्टेन शेर्पाले अमेरिकाको ‘ग्रिनकार्ड’ समेत लिएका छन् । उनको छोरा अमेरिकी जलसेनाका अधिकृत हुन् । पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशको ग्रिनकार्ड वा स्थायी बसोबास अनुमति लिएका कर्मचारीका लागि ‘कि ग्रिनकार्ड कि जागीर’ मध्ये एक रोज्नुपर्ने नीति ल्याएपछि निगमले आफ्नो कर्मचारी विनियमावली संशोधन गरी यही नीति अवलम्बन गरेको थियो। 

उनै शेर्पाले निगमको खर्चमा अमेरिका गई वाई१२–ई जहाजको प्रशिक्षक पाइलटको तालिम लिएर आएपछि २०७३ साउन तेस्रो साता राजीनामा दिएका थिए । शेर्पाले त्यसबेला बुझाएको राजीनामा पत्रमा ‘अमेरिकाको ग्रिनकार्ड पाएकाले निगममा सेवा गर्न असमर्थ रहेको’ उल्लेख छ । निगमको नियमअनुसार पाइलटलाई विदेशमा तालिम दिलाएर ल्याएपछि ती पाइलटले न्यूनतम पाँच वर्षसम्म निगमकै जहाज उडाउनुपर्छ । यदि बीचैमा छाडेर गए तालिमबराबरको रकम जरिवाना स्वरूप बुझाउनुपर्छ। 

त्यसरी छाडेर गएका शेर्पालाई जरिवाना पनि तिर्नुनपर्ने सुविधा दिएको थियो । र, एक वर्षपछि फेरि निगमले १० लाख रुपैयाँ तलब दिने गरी उनैलाई नियुक्त गरेको हो । उनको यो नियुक्ति निगममा चौथो पटकको हो । निगमबाटै जहाज उडान सुरु गरेका उनले केही समयपछि राजीनामा दिएर निजी वायुसेवा कम्पनी एयर काष्ठमण्डपको ‘सिंगल इन्जिन’ जहाज उडाउन गएका थिए । केही अवधि उडाएर त्यहाँबाट छाडेर पुनः निगम प्रवेश गरेका थिए । फेरि छाडेर गए । त्यसपछि फेरि निगम छिरेर उनले प्रशिक्षक पाइलटको तालिम लिएपछि राजीनामा दिएका थिए र अहिले चौथो पटक नियुक्ति लिएका हुन् । 

 

 

प्रकाशित: ४ आश्विन २०७४ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App