५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प, सय भन्दा बढीको मृत्यु

मेक्सिको सिटी – मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ। यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ। भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ। 

अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन्। 

मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरेका छन्। 

मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिएका छन्। 

उनका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ। उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उनले जानकारी दिए। 

पुएब्ला राज्यम मात्र ४१ ज्नाको ज्यान गएको सो राज्यका गभर्नर टोनी गालीले टेलिभिजन अन्तरवार्तामा भनेका छन् । उनले दिनुभएको जानकारीअनुसार ती मध्ये १५ जना त चर्चमा प्रार्थना गरिरहेका बेला भवन भत्किदा मारिएका थिए। 

राजधानी मेक्सिको सिटीमा पनि ठूलो क्षति पुगेको छ । उक्त सिटीका मेयर माइगल एनगेलले सो सिटीमा मात्र ३० जनाको ज्यान गएको छ। 

सो सिटीमा २९ वटा भवन पूर्ण रुपमा ढलेका छन् । आंशिक रुपमा भवनमा क्षति पुगेको, आवास क्षेत्रका घरहरुमा पनि क्षति पुगेको र बिजुली बत्ती र पानीको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको पनि उनले जानकारी दिएका छन्। 

अहिलेसम्म पूरै क्षतिको विवरण आएको छैन। तर सहरी इलाकामा पनि ठूलो संख्याका भवनहरु भत्किनुका साथै त्यसमा परेर कैयौँ स्थानीय पुरिएका वा चेपुवामा परेका अनुमान गरिएको छ। 

मेक्सिकोका मेयर एनगेलले दिएको जानकारीअनुसार सो क्षेत्रमा अरु धेरै मानिस मारिएका हुनसक्छन् । उनीहरुका बीचमा त्रास फैलिएको र भागाभागमा धेरै मानिस परेको उनले बताए। 

पुएब्ला मेक्सिकोको मध्य भागमा पर्ने राज्य हो। सोही राज्यमा भूकम्पको केन्द्रबिन्दु रहेको छ। सो राज्यमा मापन गरिएकोमा भूकम्प ७.१ म्याग्निच्युडको रहेको बताइएको छ। 

यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा यो भन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो। 

मेक्सिकोमा यस शताब्दीकै यी दुइ वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरुले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन्। 

प्रकाशित: ४ आश्विन २०७४ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App