८ वैशाख २०८१ शनिबार
अर्थ

हुरी र वर्षाले पौने दुई करोडकाे केराखेती नष्ट

हावाहुरी र वर्षाले केराखेतीमा क्षति पुर्‍याएपछि अनुगमन गर्दै जिल्ला कृषि विकास कार्यालयका कर्मचारी । तस्बिर : नागरिक

भैरहवा – केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार हावाहुरीले पौने दुई करोडभन्दा बढीको क्षति भएको छ । कार्यालयका बागवानी विकास अधिकृत घनश्याम चौधरीले २५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती ढलेर नष्ट हुँदा झन्डै एक करोड ८० लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको बताए।

जिल्लाको मायादेवी गाउँपालिकाको बेथरी, हाटिबनगाइ, सियारी गाउँपालिकाको मैनहिया, छपिया तथा गैडहवा गाउँपालिका केराखेतीको पकेट क्षेत्र हो । मंगलबारको हुरीले विशेषगरी मायादेवीको बेथरी, हाटिबनगाइ र गैडहवा क्षेत्रमा बढी क्षति पु¥याएको छ । अन्य बाली लगाउन छाडेर व्यावसायिक केराखेतीमा लागेका त्यहाँका ७०–८० किसान परिवारका खेतमा फल लागेको केराको रुख ढलेर सोत्तर भएको छ। 

अहिले केराखेतीको मुख्य सिजन हो । दसैं, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गरेर लगाइएको केराको फल छिप्पिन नपाउँदै खेतमै नष्ट भएपछि किसान मर्कामा परेका छन् । बैंकबाट ऋण लिएर व्यावसायिक केराखेतीमा लागेका किसानलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ता त छदैछ बैंकको ऋण कसरी तीर्ने भन्ने समस्या थपिएको छ।

मायादेवी गाउँपालिका–६ का किसान अवधराज यादवले फल स्याहार्ने  बेलामा भएको क्षतिले दैनिक गुजारा र बैंकको ऋण तिर्ने बाटो बन्द भएको दुखेसो पोखे । हाटी बनगाइकी उमावती थारुले केराको बोट भाँचिएसँगै आफूहरुको सर्वस्व गुमेको बताइन् । यहाँका किसानले १० कट्ठादेखि १० बिघा क्षेत्रफलमा केराखेती लगाएका छन् । केही किसानले भाडाको जमिनमा बैंकबाट ऋण लिएर व्यावसायिक केराखेती गरेका छन्।

स्थलगत निरीक्षणमा पुगेका कृषि कार्यालयका कर्मचारीसँग किसानले चाडपर्वको मुखमा फल दिने बेला खेती नष्ट भएपछि आफूहरु निकै तनावमा परेको र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । तर यस्तो समस्यामा पर्ने किसानका लागि तत्काल राहत उपलब्ध गराउन जिल्लामा छुट्टै राहत कोषको व्यवस्था नरहेकाले कृषि मन्त्रालय र विभागमा विवरण पेस गरेर राहतका लागि पहल गरिने कृषि कार्यालयका बागवानी विकास अधिकृत चौधरीले बताए। 

जिल्लामा रहेको दैवी प्रकोप उद्धार राहत कोषलाई पनि यसबारेमा जानकारी गराइएको र त्यसबाट किसानलाई राहत उपलब्ध गराउन  कार्यालयले पहल गरेको पनि चौधरीले जानकारी दिए । जिल्लामा बाली बिमाको व्यवस्था भएपनि छिटपुट किसानले मात्रै केराखेतीको बिमा गराएका छन् । प्रचार प्रसारको अभावसँगै बाली बिमा गराउने ठेक्का लिएका कम्पनीले ग्रामीण भेगसम्म पहुँच विस्तार  नगर्दा बाली बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

 

प्रकाशित: ४ आश्विन २०७४ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App