८ वैशाख २०८१ शनिबार
अन्य

त्याग

सीमा अाभास

छोरालाई भेट्न नदिएको पाँचौँ दिन भयो । पाँच दिन अगाडि त हेर्नसम्म दिन्थ्यो । सिसाको झ्यालबाट छोरालाई हेर्थें । ऊ मुढो लडेजस्तो देखिन्थ्यो । रुखलाई लहराले बेरेझैँ छोराको शरीरभरि मसिनामसिना पाइपहरु जोडेका थिए । छोरालाई चारैतिर घोचेको देखेर उनीहरुका आँसु तप्प खस्थे शिशामाथि । ती आँसुका ढिका बिस्तारै फैलिएर पातलिन्थे अनि बिलाउँथे ।
‘छोरालाई दुख्तो हो नि,’ एकदिन साहस बटुलेर रामसागरले डाक्टरलाई सोधेको थियो । डाक्टरले मनै कोक्याउने जवाफ दियो, ‘दुख्छ भनेर उपचार नगर्नु भएन !’ रामसागरका आँखा टिलपिल भए । घाँटी बाँधियो । उसलाई सोध्न मन थियो, ‘अब छोरा कहिले निको हुन्छ ?’ तर डाक्टरलाई सोध्न सकेन । जाडाले कामेझैँ ओठ कमायो र बोली रोक्यो ।
उसले सुनेको थियो– डाक्टर भनेका भगवान् हुन् । उसले ठान्यो भगवान्हरु नबोल्ने ठीक । बोल्ने भगवान् त साह्रै दुखाएर बोल्ने । दुई दिनअगाडि डाक्टर टर्रो बोलेकै कारण बिरामीका आफन्त र डाक्टरबीचमा झगडा परेको उसले देखेको थियो । तर उसलाई डाक्टरसँग झगडा गर्न मन छैन । ‘मैले डाक्टरलाई नमीठो बोलेँ भने एउटा लाउनु पर्नेमा अर्कै सुई छोरालाई लाइदियो भने ! या ती जीउका सेता लहराजस्ता पाइपमध्ये एउटा निकालिदियो भने ?’ रामसागरका मनमा यस्तै तर्कना उठ्थ्यो ।
रामसागरकी स्वास्नी उज्यालो मुख लाउँदै आएर भनी, ‘छोरोलाई ठीक हुँदै छ अरे । यी ओखती ल्याउनू भनेको छ । एउटा कागजको चिर्कटो रामसागरतिर बढाई । उसले कागजको चिर्कटो हातमा लियो र बिजुली चम्किएको शैलीमा औषधिपसलतिर गयो । पसल भिड थियो । ऊ पालो मिच्दै छि¥यो । पसलको भाइले भन्यो, ‘आज त अनुहार उज्यालो छ नि ! छोरालाई भेट्न दियो ?’ रामसागरले हाँसेको र काँपेको बोलीमा भन्यो, ‘छैन हजूर । अब चैँ दिन्छ होला । डाक्टरले औषधि मगायो ।’
औषधि दिँदै पसलेले भन्यो, ‘तपाईंको पैसा पचास हजार जति भैसक्यो है !’ पचास हजार भनेको सुन्नासाथ चट्याङले हानेको रुख सङरङ्ग सुकेझैँ उसको अनुहार सुक्यो । फेरि भन्यो, ‘विश्वास गर्नुस् न भाइ, म दिइहाल्छु नि !’ ऊ हावाकै गतिमा दौडियो छोरालाई राखेको ठाउँतिर । औषधिको झोला नर्सका हातमा राखिदियो । अनि सोध्यो, ‘हाम्रो बच्चालाई कस्तो छ ?’
नर्सले सम्झाउँदै भनी, ‘चिन्ता नलिनुस्, आज भेट्न मिल्छ । ठीक हुँदैछ । अब चार–पाँच दिनमा बच्चा लिन पाउनुहुन्छ ।’ रामसागरको अनुहार यति उज्यालो कहिल्यै भएको थिएन !
खुसी भरिएको स्वरमा सीतादेवीलाई भन्यो, ‘गरिबका पनि भगवान् छन् । अब हाम्रो छोरो निको हुन्छ । तेरो काख भाग्यमानी छ ।’
‘हामीले के अपराध गरेका छौँ र ? संकट त भगवान्लाई पनि आउँछ ।’ आँटिलो आवाजमा सीतादेवी बोली ।

नर्सले अर्को चिर्कटो हातमा ल्याएर थमाई । पैसा जम्मा गर्नुपर्ने बिल थियो । ऊ पैसा तिर्ने ठाउँमा पुग्यो । बाइस हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनेपछि ऊ छाँगाबाट खसेजस्तो भयो । उसले जाँघेको गोजीबाट एकदमै जतनका साथ प्लास्टिकको मुठीभरिको पोको निकाल्यो । यस्सो कुनातिर गएर प्लाटिक खोल्यो । नौ हजार चानचुन पैसा रहेछ । पैसाको पोको पार्दै लामो सास तान्यो । फटाफट स्वास्नी भएतिर गयो ।
उसले स्वास्नीको गलातिर हे¥यो । अनि उसको आफ्नै गला अवरुद्ध भयो । रामसागरकी स्वास्नीले सोधी, ‘के भयो र अँध्यारो मुख लाएका ?’
‘ए के भयो ?’ भय मिश्रित भएर फेरि सोधी, ‘पैसा अलिक चाहियो फेरि । डाक्टरले भन्यो पैसा नभए उपचार रोकिन्छ ।’ रामसागरले कामेको स्वरमा भन्यो ।
‘मसँग छ नि पैसा, किन चिन्ता लिन्छौ ?’ सीतादेवीले भरोसा दिँदै भनी ।
रामसागरको मुख उज्यालियो । सीतादेवीले पोल्टाबाट थैली निकालेर लोग्नेको हातमा राखिदिई । उसको अनुहार गर्वले धपक्क बलेको थियो ।
एकाएक रामसागरको अनुहार उज्यालियो बादल फाटेपछि देखिने जूनझैँ । स्वास्नीले दिएको रातो पोको हातमा लियो । उसले निकै महँगो खजानाको पोको फुकाएझैँ प्रेम र आशा भरेर पोको फुकायो । चोर औला र बूढी औँलाले एकएक गरेर पैसा तान्दै जतनका साथ गन्यो । पाँचका, दसका, बीसका र पचासका निकै पुराना नोट । ढुँडी आएर चिप्ला भएकाले गन्न अप्ठ्यारो थियो ।
उज्यालो अनुहार लगाएर रामसागरको अनुहार हेरिरहेकी थिई सीतादेवीले । जब पैसा गनिसक्यो सीतादेवीले रामसागरको हातमा एक अञ्जुली पहेँला सिक्का पनि राखिदिई ।
सीतादेवी खुसी थिई । उसले यो पैसा तीन वर्षदेखि खुत्रुकेमा जम्मा गरेकी थिई । रामसागरले कहिलेकाहीँ दिएको सय पचास र घर खर्चबाट उबारेर राख्थी । यस पैसाले छोरालाई सुनका मुन्द्रा र खुट्टामा कल्ली लाइदिने धोको थियो । यसै गरी थैलीमा जम्मा गरेरै उसले छोराका हातमा चाँदीका चुरा लगाइदिएकी थिई ।
निकैबेरसम्म रामसागर नआएपछि सीतादेवी ट्वाइलेटको छेउमा गई । ट्वाइलेटको ढोका बन्दै थियो । ढोका अगाडि उभिएर एकछिन कुरी । भित्रबाट केही आवाज आएजस्तो लाग्यो । कान चनाखा पारेर सुनी । रामसागरको सुँक्कसुक्कँ आवाज सुनेजस्तो लाग्यो । ट्वाइलेट नजिकै गई । अब ऊ विश्वस्त भई रामसागर रोएको आवाज नै हो । ऊ छक्क परी । खुसी हुनुपर्नेमा किन रोयो रामसागर ?
सीतादेवीले ढोका ढकढक पारी । ‘ढोका खोल त,’ सीतादेवीले भनी । स्वास्नीको आवाज सुनेर रामसागर सम्हालियो । आँसु पुछ्यो र केही नभएझैँ गरी बाहिर निस्कियो । सीतादेवीले सोधी, ‘किन रोएका ? मैले तिमीलाई छोराको उपचार गर्न पैसा दिएकी हुँ । मेरो छोराको लागि मैले खर्च गर्दा तिमी रुनुपर्ने ?’ सीतादेवी रिसाएर बोली तर रामसागर केही बोलेन । रामसागर नबोलेकाले सीतादेवीलाई झनै रिस उठ्यो । अनि ठूलो स्वरमा कराउन थाली । ‘बिस्तारै बोल राँडी,’ रामसागर करायो ।
रामसागर गेटबाट निस्किएर उत्तरतिर लाग्यो । सीतादेवी पनि रमसागरको पछिपछि गई । दुई सय मिटर पर पुगेपछि पिपलमुनि रामसागर थ्याच्च बस्यो । सीतादेवी छेउमा उभिइरही । रामसागरले बस् भन्ने संकेत ग¥यो । सीतादेवी रिसाउँदै जीउ छोडेर बसी ।
‘के भो ?’ उच्च स्वरमा सीतादेवीले सोधी ।
‘नरिसा दशा लाग्छ,’ रामसागरले मन्दगतिमा भन्यो ।
‘अनि के भो भन न त ?’
‘तैँले देको पैसा... ।’
‘के भो मैले दे’को पैसा नचल्ने भो तिमीलाई ?’
‘हैन ।’
‘अनि किन रोएका चर्पीमा छिरेर ?’
‘त्यति पैसाले पुग्दैन उपचार गर्न ।’
‘त्यत्रो पैसाले पनि पुग्दैन ?’ आँखा तान्दै सोधी सीतादेवीले ।
‘हेर्दा मात्र धेर हो । गन्दा त थोरै छ पैसा । खुजुरा भएकाले धेर देखिएको मात्र हो ।’
सीतादेवीले सोधी, ‘कतिरहेछ पैसा ?’
‘तैँले गनेकी थिइनस् ?’
‘अहँ । गन्नै भ्याइनँ । छोरो निकै साह्रो भएको थियो । धामी र हेलपोस्ट गर्दै ठिक्क भो । कति र छ त ?’
‘आठ हज्जार नौसय पचासी, सिक्काबाहेक ।’
‘म त ठान्थेँ, बाह्रपन्ध्रै हजार होला !’
रामसागरले भन्यो, ‘त्यति भ र पनि हामीलाई पुग्दैन ।’
‘कति चाहिन्छ त ?’
‘पच्चास हजारभन्दा पनि बढी ।’
‘त्यत्रो ?’ निकै लामो स्वर निकालेर मुख बाइ सीतादेवीले ।
एकछिन सीतादेवी भुँइमा हेरेर घोरिई अनि गलामा हात लगी । रातोपोतेमा झुण्डिएको पहेँलो तिलहरी उसको छातीमा अडिएको थियो । गलाबाट पोतेसहित तिलहरी निकालेर लोग्नेको हातमा दिई । रामसागरले हातमा तिलहरी लिएर स्वास्नीको गला हे¥यो । गला रित्तै थियो । आँखाभरि आँसु पारेर भन्यो, ‘तँलाई मैले केही दिन सकिनँ है । यै भएको पनि लिएँ ।’
सीतादेवीले हात समाउँदै भनी, ‘परेको बेलामा त हो नि । पछि छोरो ठूलो भएपछि योभन्दा पनि मोटो तिलहरी ल्याइदिन्छ ।’ दुवैका गला अवरुद्ध भए ।     
उनीहरु सुन पसलमा गए । तिलहरीको बिल माग्यो सुन पसलेले । उनीहरुसँग बिल थिएन । ‘त्यसो भए किन्न मिल्दैन,’ सुन पसलेले भन्यो । दुवैले आफ्नो छोरो अस्पतालमा भएको जानकारी दिए । सुनपसलेले फेरि तिलहरी जोख्यो । क्यालकुलेटरमा छिटोछिटो औँला दबायो र भन्यो, ‘यसको चानचुन पन्ध्र हजार आउँछ ।’ रामसागर  र सीतदेवीले मुखामुख गरे ।
सीतादेवीले भनी, ‘अलिक रामरी हेर्नुस् त आधा तोला पनि अलिअलि बढी छ तिलहरी ।’ सुनपसलेले आफ्नै पारामा भन्यो, ‘जर्ती कटाएर, बिल नभएको हिसाब गरेर पन्ध्र हजार हुन्छ । आपतै परेको छ भने सोह्र हजारसम्म दिन्छु ।’
‘सतसट्ठी हजार रुपियाँ तोला छ सुन । आधातोलाको यति थोरै पैसा ?’ रामसागरले सुनपसलेलाई शंकामिश्रित स्वरमा सोध्यो ।
‘तपाईंको बिल नभएको सुन कस्ले किन्छ त ? त्यसो भा जानुस् ।’  
मौकामा हिरा फोड्नु पर्छ भन्ठानेर १६ हजारमा तिलहरी बेचे दम्पतीले । सुनपसलेले तिलहरी निकाल्न पोते काट्दा सीतादेवीलाई आफ्नै गला रेटेजस्तै लाग्यो । रामसागर बाहिर चुप देखिन्थ्यो तर ऊभित्र आँधी चलिरहेको थियो ।
‘बिरामीका बाउआमै कहाँ भागेका ?’ नर्सको रुखो स्वरले उनीहरुको छातीमा नमीठो धर्सो को¥यो । अर्की नर्सले भनी, ‘काउन्टरमा गएर पैसा जम्मा गर्नुस् ।’ सीतादेवी र रामसागर दुवै काउन्टरमा पुगे । ‘पच्चिस हजार दिनुस्,’ काउन्टरको केटोले भन्यो । सीतादेवीले जतनका साथ पच्चिस हजार दिई ।
केका लागि त्यत्रो पैसा लागेको उनीहरुलाई थाहा थिएन । उनीहरु नर्सलाई सोध्थे । नर्सले भनेका उपचारका शब्दहरु बुझ्दैन थे । ‘ए ए’ मात्र भन्थे । छोरालाई के रोग लागेको थियो, त्यो रोगको नाम भन्न पनि जान्दैन थिए । छातीमा खराबी छ । फोक्सो पनि खराब छ । ज्वरो आइरहन्छ । यति भन्न मात्र जान्दथे । उनीहरुलाई डाक्टर र नर्समाथि निकै ठूलो भरोसा थियो तर डाक्टर र नर्सको बेलाबेलाको रुखो बोलीवचनले उनीहरुको छाती कोक्याउँछ ।    
दुई दिनपछि उनीहरुको छोरालाई जेनरल वार्डमा सारे । छोरा क्रमैसँग निको हुँदै गयो । डाक्टर र नर्सप्रति धन्य हुँदै गए । हातमा सलाइन लगाएको थियो । मसिनामसिना सर्पजस्ता पातला पाइप जीउमा कतै थिएन । माया मारेको छोरो बचाइदिएकोमा सीतादेवी र रामसागर अस्पतालसँग कृतज्ञ थिए । छोरो पनि तातातुतु गर्ने, मुखमा हेरेर हाँस्ने भइसकेको थियो । जाउलो पनि खान थाल्यो ।
छोरालाई सानो गाडी र एकजोर कपडा ल्याइदियो रामसागरले । उनीहरु यति खुसी त छोरो जन्मेको दिन पनि भएका थिएनन् । दिनदिनै छोरो तन्दुरुस्त हुँदै गयो ।
जेनरल वार्डमा सारेको पाँचौँ दिनको दिन नर्सले आएर भनिन, ‘तपाईंहरु सबै तयारी गर्नुस् । भोलि अस्पतालले छुट्टि दिन्छ ।’
बिल बुझाउन रामसागर औषधि पसलमा गयो ।
‘एकलाख सतचालिस हजार चानचुन छ । छुट गराएर एकलाख चालिस हजार दिनुपर्छ,’ औषधिको बिल सुनेपछि रामसागर झण्डै बेहोस भयो ।
औषधि पसले उसलाई औषधिको बिल सुनाउँदै थियो कि उसको छातीमा तोप पड्काउँदै थियो । रामसागरलाई तोप नै पड्काएझैँ लाग्यो ।
ऊ छोरो र स्वास्नी भएका ठाउँमा पुग्यो । छोरो खेलिरहेको थियो । यतिका दिनसम्म बिरामी भएजस्तो पनि नलाग्ने देखियो छोरो । सीतादेवीले सोधी, ‘कति रछ तिर्न ।’
‘सबै थाहा भएकै छैन,’ उसले स्वास्नीलाई झुट बोल्यो ।
गोजीमा ल्याएको बिस्कुट छोरालाई दियो । कागतमा पोको पारेर ल्याएको एउटा समोसा सीतादेवीलाई दियो । भन्यो, ‘तिमीहरु यतै बस्तै गर, म केहीबेरपछि आउँछु ।’
उसले अनेक उपाय सोच्यो, पैसाको जोहो गर्ने तर केही उपाय भेटेन । केही घण्टापछि ऊ फेरि फर्किएर आयो । सीतादेवीलाई भन्यो, ‘हामीसित भएको पैसाले छोरो लिएर जान सक्तैनौँ । म गाउँ गएर आउँछु, तिमीहरु यतै बस । त्यही थैलीमा भएको पैसाले खाना, खाजा खानू ।’ हिँड्ने बेलामा छोराको दुवै गालामा म्वाइँ खायो ।
यतिका दिनपछि ऊ आफ्नो घर आइपुग्यो । घर त घरजस्तै लागेन । घरको ढोकै नखोली गाउँतिर लाग्यो । ऊ दौलतेका घर गयो । भन्यो, ‘मलाई दुई लाख जति पैसा चाहिएको छ । मलाई रिन दे । डाक्टरले मेरो छोरो बँचाइदिएका छन् । अब मलाई तैँले बचाइदे दौलते । ब्याज महिनैपिच्छे तिर्छु । साँवा बिस्तारै चुक्ता गरौँला ।’
‘मसँग त छैन,’ भन्दै दौलते पन्छियो ।
रामसागरले मनमनै सोच्यो, ‘धनीलाई त हो नि सबैले पत्याउने, गरिबलाई त कसैले पत्याउँदैन ।’
रामसागर घरमा आयो । घरमा बेच्ने कुराहरु केके छन्, उसले सोच्यो । जग्गा आफ्नो होइन । घर पनि कवाडीलाई बेच्यो । अन्न, सिरक डसना, चप्पल र भाँडा बेच्यो । घरका सबै मालसामान बेच्दा तीस हजार पनि पुगेन । पाँच रुपैयाँ ब्याजका दरले तीस हजार रुपैयाँ दिई सँगै काम गर्ने साथीकी आमाले । पुगनपुग साठी हजार लिएर रामसागर गाउँबाट फर्कियो । बाटोभरि उसले सोच्यो, त्यत्तिका धनी देखिने नर्स र डाक्टरहरु छन् । तिनीहरु दयालु पनि छन् । सबैले दुई–दुई हजार दिए हुन्थ्यो । अलिक बढी छुट माग्छु र औषधि दोकानको रिन तिर्छु । बरु सीता र म एक साल त्यही अस्पतालमा काम गर्छौं भन्न प¥यो । डाक्टरहरुले हामीलाई चिनेका छन् । मानिहाल्लान् ।  
ठूलो राहत महसुस गर्दै रामसागर फर्कियो ।
उसले चिनेको सबैभन्दा ठूलो डाक्टरलाई भेटेर उत्साहित हुँदै आफ्नो कुरा सुनायो । कच्याककुचुक्क परेको कपडाजस्तो अनुहार लगाएर डाक्टरले भन्यो, ‘ह्वाट् ?’ डाक्टरले उसको कुरा मन नपराएको बुझ्यो । उसले हरेश खाएन । औषधि पसलको मालिकलाई आफ्नो योजना सुनायो । यतिका दिनसम्म आफन्तको व्यवहार गरेको औषधि पसलको मान्छे अर्कै भयो । रामसागरले नर्सहरुसँग गएर कुरा ग¥यो । नर्सहरुले पनि उसको कुरा जाति मानेनन् ।
ऊ निकै निराश बन्यो । रामसागरले सम्झ्यो मान्छेलाई फटाहा बनाउने समय हो । समय र परिस्थितिभन्दा माथि आफू छुइनँ भन्ठान्यो ।
रामसागर अब दाउ हेर्न थाल्यो । छोरो र स्वास्नीलाई लिएर अस्पतालबाट भाग्ने । उसले अनेक उपाय सोच्यो भाग्नका लागि । रामसागरले पालेसँग तीन हजारमा कुरा मिलायो । मध्यरातमा अस्पतालबाट भाग्नका लागि ।
ऊ स्वास्नी र छोरो लिएर भागिरहेको थियो । सुनसान सडकमा अगाडि तीन जना मान्छे आएर च्याप्प समाते । उसको सातो पुत्लो उड्यो । बच्चा रुन थाल्यो । सीतादेवी चिच्च्याउन थाली । उनीहरुलाई समातेर अस्पतालमै ल्याए ।
जुन दिनसम्म पैसा तिर्दैनौ त्यो दिनसम्म यही कोठामा बस्नु । एउटा फोहोर र सानो कोठा उनीहरुको भागमा प¥यो । अब उनीहरुलाई अस्पताल जेलजस्तो लाग्न थाल्यो । जेल हाल्छ कि भन्ने त्रास पनि थियो ।
उनीहरुको कोठा अगाडि विश्रामस्थल थियो । त्यहाँ बोलेको सुनिन्थ्यो तर देखिदैनथ्यो । त्यही विश्रामस्थलमा दुई जना लोग्नेमान्छेको संवाद सुनिन्थ्यो, ‘अब हाम्रो सन्तान नहुने पक्कापक्की भयो । अनि अस्पताल आएका ।’
अर्कोले सोध्यो, ‘किन ?’
‘हामी बच्चा खोज्दै आएका । व्यापारी हौँ । निःसन्तान छौँ ।’
रामसागर कुरा सुनिरहेको थियो ।
उसले आफ्नो छोरालाई सम्झ्यो । ज्योतिषीले भनेको थियो, छोराको राजग्रह छ । गतिलै मान्छे हुन्छ । धनी हुन्छ । मनमनै गुन्यो, गरिबको घरमा राजग्रहको के काम ? सर्टको बाउलाले आँसु पुछ्यो ।
पानीबाट निकालेको माछाझैँ रातभरि छटपटाइरह्यो । भुकभुक उज्यालो हुनै लागेको थियो । सीतादेवीलाई गेट बाहिरको चिया पसलमा पठायो । दुई जोर नयाँ कपडा । दुइटा बिस्कुट । पानीको बोतल छोराको सिरानमा राखिदियो । छोरालाई सुम्सुम्यायो । छोरालाई म्वाइँ खान यसो घोप्टिएको थियो छोराका गालामा उसका आँसुका ढिक्का तपतप खसे । चन्द्रमाजस्तो धप्प बलेको, निदाएको बालक बुद्धजस्तो देखिएको थियो छोरो । हातमा थुकिदियो । उसैको हातमा एउटा कागतको चिर्कटो राखिदियो । र, घुँकघुक गर्दै बाहिर निस्कियो ।
उज्यालो भएपछि अस्पतालमा हल्लाखल्ला भयो । बच्चा त्यागेर बाउआमा भागेछन् ।
मान्छेहरुको भिड बढीरहेको थियो । अस्पताल प्रशासनका मान्छे पनि आए । बच्चाको छेउमा फरफराइरहेको कागत फुकाएर पढिन् नर्सले । लेखेको थियो, ‘भविष्य गतिलो होस् भनेर हामीले बच्चालाई त्याग गरेका छौँ । बच्चा खोज्दै आएका हिजोका व्यापारी जोडीलाई यो बच्चा दिनू ।’ 

प्रकाशित: ४ आश्विन २०७४ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App