८ वैशाख २०८१ शनिबार
राजनीति

अदालत सेटिङमा चल्न थाल्यो : ओली

एमालेले बुधबार गैंडाकोटमा आयोजना गरेको सभामा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओली।

गैंडाकोट- डेढ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका ११ जनाविरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली अदालतको भूमिकाप्रति आक्रोशित भएका छन्। बुधबार नवलपुरको गैंडाकोटमा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष ओलीले अदालत सेटिङमा चल्न थालेको भन्दै सच्चिन आग्रह गरे।

‘११-११ जना न्यायाधीसविरुद्ध कसैले ल्याएर आएको मुद्दा कुनै कर्मचारीले दर्ता गरेको छ। यो ठूलो षडयन्त्र र तारतम्य हो। अचेल सेटिङ चल्न थालेको छ। यो सेटिङभित्रको कुरा हो,’ पुर्व प्रधानमन्त्री ओलीले अगाडी भने, ‘नेकपा (एमाले)ले यी कुराहरु हेरिरहेको छ। अदालतको एउटा छेउमा बसेर अदालतको कर्मचारी वा कसैले अदालतकै मर्यादा र गरिमाविरुद्ध गरेको यस्तो काम कारबाहीको एमालेले खबरदारी गर्छ।’ 

उनले अदालत पञ्च भेलामा रुपान्तरण हुन थालेको टिप्पणी गरे। ‘एउटा प्रहरीको डिआइजीमाथि भएको अन्याय ठीक हो छ भन्छ। आफूले हार्ने भएपछि गणनाका बेलामा मतपत्र च्यातेको काम पनि ठीक हो फेरि चुनाव गराउनुपर्छ भन्छ। उहिले उहिले गाउँ घरमा पञ्च भन्नेहरु चौतारोमा बसेर भलाद्मी हो भन्दै कहिले काही यस्ता निर्णयहरु गर्दथे। अहिले पनि त्यस्तै हुन थालेको छ,’ ओलीको भनाइ थियो। 

उनले लोकतन्त्रमा न्यायालयले सशक्त भूमिका खेल्नसकेन भन्ने गुनासो गरे। ‘सार्वभौमसत्ता जनतामा आएको र शक्ति पृथकीकरणको सिद्धान्त संविधानले व्यवस्था गरेको मुलुकमा न्यायालय स्वतन्त्र हुन्छ। हामी चाहन्छौं न्यायालयले त्यस अनुसारको भूमिका खेलोस्,’ ओलीले आग्रह गरे। लोकतन्त्र बलियो हुनाका लागि न्यायापालिका स्वतन्त्र र सशक्त हुनुपर्छ भन्दै उनले कार्यकारीको छायामा परेको न्यायालयले लोकतन्त्रको मर्यादा जोगाउन नसक्ने बताए। 

‘मलाई अन्याय पर्यो भनेर मान्छे अदालत जान्छ तर कठैबरी नेपालको अदालत इन्साफ दिन चुक्दै छ,’ ओलीले भने। अदालतले स्वतन्त्र न्यायापालिकाको गरिमा कायम राख्न सकोस भन्दै उनले थपे, ‘अहिले दशैं आउन लागेको छ दुर्गा भवानीले अदालतको स्वतन्त्रता र स्वाभिमानको रक्षा गरुन्। श्रीमान जीहरुलाई पनि त्यसको हेक्का कमसेकम दिमाग हाल्दिउन। अदालत अदालत जस्तो होस यही हो हाम्रो चाहना।’

प्रकाशित: ४ आश्विन २०७४ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App