६ वैशाख २०८१ बिहीबार
खेल

जब मेसीले मेसीको चार गोल प्रहार गरे

मड्रिड– लियोनल मेसीले ४ गोल थपेको दिन बार्सिलोनाले ला लिगामा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै मंगलबार इबरलाई ६–१ ले हराएको छ। पाउलिन्हो र डेनिस स्वारेजले पनि लगातार दोस्रो खेलमा गोल गरेपछि बार्सिलोना लिगको शीर्ष स्थानमा कायम रहेको छ। क्याटलान क्लबले चिर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई ७ अंकले पछाडि छाडेको छ।

शनिबार गेटाफेलाई २–१ ले हराउँदाको टोलीमा प्रशिक्षक भाल्भार्डेले ६ खेलाडी परिवर्तन गरेका थिए। लुइस स्वारेजलाई आराम दिएका भाल्भार्डेको टोलीमा मेसीले प्रभावशाली भूमिका निर्वाह गरेका थिए। गत सिजनका ठीक विपरीत दोस्रो रोजाइका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि भाल्भार्डेले केही स्टार खेलाडीलाई आराम दिन पाएका छन्। विशेषगरी बार्सिलोनामा पहिलो सिजन खेलिरहेका पाउलिन्होले टोलीमा प्रभाव छाड्न सफल भएका छन्।

एलेजान्द्रो गाल्भेजले नेल्सन सेमेडोलाई फउल गरेपछि पाएको पेनाल्टी अवसरमा मेसीले २१औं गोल गर्दै बार्सिलोनालाई अग्रता दिएका थिए । चिनियाँ क्लब ग्वान्झाउ इभरग्रिनबाट यसै सिजन ४ करोड युरोमा बार्सिलोना आएका पाउलिन्होले ३८औं मिनेटमा स्वारेजको कर्नरमा हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए।

उनलाई अनुबन्धित गरेको बार्सिलोना बोर्डले निकै आलोचना खेप्नुपरेको थियो । तथापि उनले गेटाफेविरुद्ध पनि बेन्चबाट आएर विजयी गोल गरेका थिए। ५३औं मिनेटमा स्वारेजले अर्को गोल थपे । ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका मेसीले त्यसको तीन मिनेट नबित्दै ह्याट्रिक पूरा गरे । खेल सकिन तीन मिनेट बाँकीमा मेसीले एलेक्स भिडालसँग वान टु पासमा अर्को गोल थपे । जारी सिजनको ८ खेलमा मेसीको यो १२औं गोल हो ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभियासँग ५ अंकको अग्रता लिएको छ । त्यस्तै तेस्रो स्थानको भ्यालेन्सिया शीर्ष क्लबभन्दा ६ अंकले पछि छ। मंगलबारै  ७ मिनेटको अन्तरमा सिमोनी जाहाले ह्याट्रिक पूरा गरेपछि भ्यालेन्सियाले मालागामाथि ५–० को सहज नतिजा निकाल्यो । भ्यालेन्सियाको जितमा अन्य गोल सान्टी मिना र रोड्रिगोले गरेका थिए । ठीक विपरीत लगातार पाँच हार बेहोरेको मालागा अंकतालिकाको पुछारमा झरेको छ । यससँगै मिचेल इन्टो ला लिगामा यस सिजन बर्खास्त हुने दोस्रो प्रशिक्षक बन्ने खरता बढेको छ ।

 

प्रकाशित: ४ आश्विन २०७४ १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App