५ वैशाख २०८१ बुधबार
राजनीति

आन्दोलन गर्दागर्दै मेयरमा निर्वाचित

जनकपुर- बुधबार धनुषाको हंशपुर नगरपालिकाको मेयर पदमा निर्वाचित रामज्ञान मण्डलले राजपाको मात्र खाता खोलेनन्, तेस्रो चरणको पहिलो निर्वाचित मेयर पनि भए । ३५ वर्षीय मण्डलले जनकपुरको भानु चोकमा फर्निचर व्यवसाय गरिरहेका छन् । मुलुकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै जारी गरिएको अन्तरिम संविधानविरुद्ध उपेन्द्र यादवले आन्दोलन गर्दा २५ वर्षे मण्डल पनि सोही आन्दोलनमा होमिएका थिए ।

प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर जनकपुरमै बसिरहेका उनी आन्दोलनमा होमिएपछि पढाइ त्यहीं रोकियो । राजनीतिक यात्रा भने त्यहींबाट प्रारम्भ भएको स्मरण गर्दै नवनिर्वाचित मेयर मण्डलले नागरिकसँग भने, ‘त्यस बेला उपेन्द्र यादवले प्रशिक्षण दिएपछि राजालाई फालिए पनि संघीयताविरोधी शक्ति हावी रहिरहेको थाहा पाएँ र ज्यानको प्रवाह नगरी आन्दोलनमा लागें ।’
जनप्रतिनिधि निर्वाचित भएपछि मण्डलले भने, ‘म आन्दोलनको माध्यमले राजनीतिमा जोडिए पनि आगामी पुस्ताले आन्दोलन गरिरहन नपर्नेगरी स्थानीय सरकारमा बसेर काम गर्नेछु ।’

२०६४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको सदस्यता लिएका उनले नेतृत्व विभाजनसँगै आफू पनि विभिन्न पार्टी हुँदै राजपामा आइपुगेको बताए । उपेन्द्र यादवबाट अलग भएपछि मण्डल जयप्रकाशप्रसाद (जेपी) गुप्ताको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) तिर लागे । बीचमा केही दिन शरत्सिंह भण्डारीको रामसपामा गएका उनी फेरि राजकिशोर यादवले नेतृत्व गरेको पुरानै पार्टीमा फर्के । गत वैशाखमा पार्टी एकीकरणपछि राजपामा आइपुगेको उनले बताए ।

आफू मेयर निर्वाचित भएपछि फर्निचर व्यवसाय भाइले सम्हाल्ने उनले बताए । ‘व्यवसाय रहिरहन्छ, त्यो भाइले सम्हाल्छ । मैले जनताका तर्फबाट पाएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छु’, उनले भने । मण्डलले परिवर्तन पक्षधर जनताले आफूलाई जिताएको उल्लेख गर्दै विकास निर्माण र भ्रष्टाचार अन्त्यका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय पढ्दादेखि नै फुटबल खेलाडी रहेका उनी स्थानीय युवा जमातमा चर्चित र अगुवा थिए । तीन छोराछोरीका पिता उनी समाजका सबै उमेर समूहमा घुलमिल गर्ने स्वभावका रहेको मण्डलकी श्रीमती निलमले बताइन् । उनले श्रीमान् नगरको प्रमुख पदमा जितेर घर आएपछि पहिलो वाक्य सुनाइन्, ‘अब परिवारको जिम्मेवारी मेरो । तपाईं नगरको अभिभावक भएर काम गर्नुस् ।’
मण्डल ३ हजार ३ सय २० मत ल्याई हंशपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीपकुमार यादवले ३ हजार २ सय ७६ मत पाए ।

उपमेयरमा पनि राजपाकी रेणु झा विजयी भएकी छिन् । झाले ३ हजार २ सय ७६ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामकुमारी कामतले ३ हजार २७ मत पाइन् ।

प्रकाशित: ५ आश्विन २०७४ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App