१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय कीर्तिमानको सान्त्वना

अस्गाबत- भारोत्तोलनमा बुधबार पदक नजिक पुग्न सफल नभए पनि तुर्कमेनिस्तानको राजधानी अस्गाबतमा जारी पाँचौं एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्समा नेपाली खेलाडीको निराशाजनक यात्रामा एउटा राष्ट्रिय कीर्तिमानको सान्त्वना मिलेको छ ।  
बढीमा राष्ट्रिय कीर्तिमान लक्ष्य बनाएर नेपालका दुई खेलाडी पुरुष ६९ केजीमा प्रकाश केसी तथा महिला ५८ केजी तौल समूहमा कमला श्रेष्ठ अस्गाबतको भारोत्तोलन एरिनामा उत्रिएका थिए । जहाँ प्रकाश लक्ष्यनजिक पुग्न सकेनन् भने कमलाले स्न्याचमा आफ्नै नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गरिन् ।
महिलातर्फ कमलाको प्रदर्शन सन्तोषजनक नरहे पनि उनले स्न्याचमा ६८ केजी तौल उचालेर नयाँ कीर्तिमान बनाइन् । यसअघि यसै वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रिय च्याम्पियनसिपमा उनले ६७ केजी तौल उठाउँदै कीर्तिमान बनाएकी थिइन् । बुधबार अस्गाबतमा स्न्याचको पहिलो प्रयासमा ६० केजी उठाएकी उनले दोस्रो पटक ६८ केजी प्रयास गरेकी थिइन् । तर, दोस्रो प्रयास असफल भएपछि उनी निराश बनेकी थिइन् । तथापि तेस्रो प्रयासमा ६८ केजी तौल उचाल्दा उनले राष्टिय कीर्तिमानमा सुधार गरेकी थिइन् । क्लिन एन्ड जर्कमा सुरुमै उनले ८० केजी उचालेकी थिइन् । दोस्रो तथा तेस्रो प्रयासमा उनले ८६ केजी उचाल्न खोजे पनि सफल भइनन् । कुलमा उनको नतिजा १ सय ४८ केजीको थियो । महिला ५८ केजीको समूह ‘ए’ मा सहभागी १२ मध्ये कमला आठौं भइन् । उनको समूहमा चीनकी जियाओमिन लुओले स्न्याचमा १ सय तथा क्लिन एन्ड जर्कमा १ सय २२ केजी तौल उचालेर कुल २ सय २२ केजीको नतिजासहित पहिलो स्थान हासिल गरिन् ।  
महिला ५८ केजीमा तीनवटै राष्ट्रिय कीर्तिमान कमलाको नाममा छ । स्न्याचमा बुधबार १ केजी सुधार गर्दै ६८ केजीको कीर्तिमान बनाएकी कमलाको नाममा क्लिन एन्ड जर्कमा ८५ केजी तथा कुलमा १ सय ५२ केजीको राष्ट्रिय कीर्तिमान छ । उनले सबै कीर्तिमान काठमाडौंमा यसै वर्ष सम्पन्न राष्ट्रिय च्याम्पियनसिपमा बनाएकी थिइन् ।
प्रकाश आफ्नो समूह ‘ए’ मा सहभागी पाँचमध्ये चौथो स्थानमा सीमित भए । १७ वर्षे प्रकाशले स्न्याचमा १ सय केजी भार उचालेका थिए भने क्लिन एन्ड जर्कमा १ सय २५ केजी उचाले । उनले कुलमा २ सय २५ केजी तौल उठाएका थिए । उनको समूहमा बंगलादेशका सिमुल कान्ति सिंहले सर्वाधिक स्न्याचमा १ सय १७, क्लिन एन्ड जर्कमा १ सय ४२ तथा कुलमा २ सय ५९ केजी तौल उचालेका थिए ।  
पुरुष ६९ केजीमा साग स्वर्णधारी खेलाडी कमलबहादुर अधिकारीको नाममा तीनवटै कीर्तिमान छन् । स्न्याचमा काठमाडौंमा सम्पन्न तेस्रो ग्राँ पीमा उनले उचालेको १ सय १८ केजीको कीर्तिमान अझैसम्म कायम छ । क्लिन एन्ड जर्कमा उनको नाममा १ सय ५५ केजीको कीर्तिमान छ । कुलमा भने २ सय ६८ केजीको कीर्तिमान कमलबहादुरको नाममा छ । उनले क्लिन एन्ड जर्क र कुलतर्फको राष्ट्रिय कीर्तिमान गत वर्षको राष्ट्रिय खेलकुद प्रतियोगितामा बनाएका थिए ।
नेपाली भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक एवं नेपाल भारोत्तोलन संघका महासचिव पार्थसारथि सेन गुप्ताले खेलाडीहरूबाट अपेक्षाअनुसारको प्रदर्शन हुन नसकेको बताए । ‘हामीले राष्ट्रिय कीर्तिमानको आशा गरेका थियौं । दुवै खेलाडी सानो उमेरका छन् । यिनीहरूको भविष्य राम्रो छ । अहिलेलाई देशभित्र मजासँग उठाउने तौल पनि यहाँ आएपछि नर्भस भएर उचाल्न सक्दैनन्,’ अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको प्राविधिक कमिटीका सचिवसमेत रहेका गुप्तले नागरिकसँग भने ।
मुवाथाईमा नेपालका एक्ला सहभागी नवराज गुरुङ रिङमै नउत्रिएपछि सम्भावना समाप्त भएको नेपालले तेक्वान्दो तथा थ्री बाई थ्री बास्केटबलमा पनि पदक जित्ने आशा सकिइसकेको छ । बास्केटबलमा अघिल्लो दिन उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएपछि नेपालको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिएको थियो । नेपाली टोलीले समूहको अन्तिम खेलमा प्रतिष्ठाका लागि बिहीबार मंगोलियासँग खेल्नेछ । यसै गरी मंगलबारै तेक्वान्दोमा निमा गुरुड र वीरबहादुर महरा पहिलो चरणमै पराजित भएर बाहिरिएका थिए । । यस्तै कुराँसतर्फ नेपालकी अस्मिला छन्त्याल क्वार्टरफाइनलमा उज्बेकिस्तानकी राखिमा युल्डुसोभासँग १०–० ले पराजित भइन् ।
सेप्टेम्बर २७ सम्म चल्ने प्रतियोगितामा नेपालले पौडी, किक बक्सिड र बुद्धिचालमा पनि सहभागिता जनाएको छ
‘हामीले राष्ट्रिय कीर्तिमानको आशा गरेका थियौं । दुवै खेलाडी सानो उमेरका छन् । यिनीहरूको भविष्य राम्रो छ । अहिलेलाई देशभित्र मजासँग उठाउने तौल पनि यहाँ आएपछि नर्भस भएर उचाल्न सक्दैनन् ।’

प्रकाशित: ५ आश्विन २०७४ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App