coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फेरिएला जलेश्वरको मुहार ?

जलेश्वर- मुलुककै पुरानो नगरमध्ये एकको जलेश्वर नगरपालिमा । सात ग्रामीण बस्तीलाई गाभेर २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा भए पनि त्यसले अहिलेसम्म सहरको स्वरुप धारणा गर्न सकेको छैन । यहीँबाट राजनीति गरेर थुप्रै नेता नीति–निर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् । सडक, खानेपानी, ढल जस्ता पूर्वाधारको राम्रो व्यवस्था नहुँदा पानी पर्दा माछापोखरी झैं बन्ने गर्छ जलेश्वर । बजारका मुख्य सडक खाल्डाखुल्डीले भरिएका छन् भने भित्री सडकको अवस्था झन् जर्जर छ ।
अधिकारका नाममा भएका आन्दोलनमा पहाडी समुदाय पलायन हुँदै जाँदा आर्थिक र विकासको क्रम पनि अधोगतितर्फ धकेलिँदै गएको छ । सरसफाइ, स्वास्थ्य, शिक्षालगायत मानवीय आवश्यकता पूर्तिका हुन सकेका छैनन् । सडक छेउमा रहेका फोहरका डुंगुरले जलेश्वरलाई कुरुप बनाएको छ । तर, जलेश्वर–९ परिकौलिका ९० वर्षीय हरिकान्त यादव स्थानीय तहको निर्वाचन भएसँगै नगरको महार फेरिनेमा आशावादी छन् ।
निर्वाचनका बेला भोट माग्न आउने सबै दलका उम्मेदवारले जलेश्वरको विकास गर्ने आश्वासन दिएको सुनाउँदै उनले भने, ‘आश्वासन होइन विकास चाहिएको छ । सबैले गर्छु भनेका छन् हेरौन ।’
निर्वाचनका बेला विकास निर्माण कुरा गर्दै भोट मागेरपछि फर्केरसमेत नआएको विगत सुनाउँदै उनले भने, ‘अहिले चुनिएका त नगरमै बस्ने भएकाले केही न केही विकास हुन्छ ।’
भोट माग्न आएका सबै दलका उम्मेदवारले सडक, खानेपानी, ढल, स्वास्थ्य, शिक्षाका साथै जलेश्वर महादेव मन्दिरलाई पर्यटकीय स्थल बनाउने, भोगेश्वर कुटीलाई वनभोजस्तल बनाउने प्रतिबद्धता जनाएको उनले सुनाए । ‘हुन त धेरै नेताले चुनावको बेलामा यस्तै भनेर गए केही गरेको होइन,’ उनले राजनीतिक दलहरुप्रति अविश्वास व्यक्त गर्दै थपे, ‘जलेश्वरलाई सुन्दर नगर बनाउँछु बुबा आर्शिवाद दिनुस् भन्दै आएका छन् हेरौं न ।’
हरिकान्त मात्र होइन, जलेश्वर नगरका सबै जनताको चाहना गाउँठाउँको विकास होस् भन्ने छ । उनीहरुको चाहना अव्यवस्थित बजार व्यवस्थित होस्, सडक, पुलपुलेसा बनोस् र व्यवस्थित र सुन्दर नगर बनोस् भन्ने चाहन्छन् ।
खानेपानी, खेतीका लागि सिँचाइ, सडक सञ्जालको समुचित विकासका साथै बजारको फोहर व्यवस्थापनसहितका समस्या समाधान चाहन्छन्m ६० वर्षीय राजे मुखिया पनि । ‘यो गाउँको चुनाव हो पार्टीलाई होइन विकास गर्नेलाई भोट दिनुपर्छ भन्ने सबैको चाहना थियो,’ उनले थपे, ‘सबै उम्मेदवारले विकास गर्छु, राम्रो बनाउँछु भनेका छन् ।’
जलेश्वरभन्दा पछि विकास भएका बजारहरु सहरमा परिणत भए पनि जलेश्वर पछि परेको सुनाउँदै स्थानीय विजय गुप्ताले जलेश्वरलाई पञ्चायतदेखिनै हेपेको बताए । ‘पञ्चायतको बेलामा यस क्षेत्रको बाटोलाई काँग्रेस रोड भनियो,’ उनले भने, ‘बहुदल आएपछि पनि सिहंदवारको ध्यान पुगेन । मधेस आन्दोलनपछि यसलाई हेर्ने नजर नै फेरिएको छ ।’
२०२० सालमा शिशु बाल अस्पतालको नाममा स्थापना भएको जलेश्वर अस्पतालको अहिलेसम्म पनि स्थरोन्नति हुन नसकेको सुनाउँदै अहिलेसम्म पनि १५ सैयामै सीमित रहेको उनको गुनासो थियो । ‘नगरपालिकामा अहिले एक किलोमिटर बाटो पक्की देख्न पाउनु हुन्न,’ उनले भने, ‘सबै क्षेत्रको अवस्था उस्तै छ ।’
जलेश्वर मलंगवा, रामजानकी, बर्दिवास–जलेश्वर, जनकपुर जलेश्वर जस्ता बाटो निर्माण नहुँदा जलेश्वर पछि परेको उनले सुनाए । जलेश्वरको लाइफलाइनको रुपमा रहेको जनकपुर–जलेश्वर सडक नबन्दा स्थानीले हैरानी सहनुपरेको सुनाउँदै उनले भने, ‘जलेश्वरको विकास नहुनुको कारण स्थानीय, राजनीतिक नेतृत्व नै प्रमुख कारण हो ।’
स्थानीय तहमा काम गर्ने कर्मचारीदेखि नेतासमेत सबै जनकपुर बस्दा जलेश्वर पछि परेको उनको तर्क छ । ‘अहिलेसम्म बाहिरबाट मान्छे आएर बस्ने राम्रो होटल पनि छैन,’ उनले थपे, ‘नेताहरु जनकपुरबाट आउने काम सक्ने साँझ फर्कने । कर्मचारी पनि उतै जाने भएले पनि विकास हुन सकेन ।’
जलेश्वर नगरपालिका–११ लोचनाका रामवलम रायले बाटो राम्रो नहुँदा आवतजावतमा समस्या परेको सुनाए । लोचना र सिर्सिया सडक खण्डमा पुल निर्माण गरेर बाटो पिच भइदिए सुबिस्ताले आउन–जान सकिने सुनाउँदै उनले भने, ‘भोट माग्न आएका दलका उम्मेदवारलाई हाम्रा समस्या सामुहिक रुपमा राखेका छौं । चुनाव जिताए पुल र बाटो पिच गरिदिने आवश्वसन दिएका छन् ।’
 

प्रकाशित: ५ आश्विन २०७४ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App