७ वैशाख २०८१ शुक्रबार
राजनीति

बर्दियाको विकासका लागि साझा प्रतिबद्धता

काठमाडौं- बर्दियाबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिले जिल्लाको विकास तथा समृद्धिका लागि साझा प्रतिबद्धता जनाएका छन् । बर्दिया एकता समाज काठमाडौंले आयोजना गरेको सम्मान, प्रतिबद्धता तथा  दसैं, तिहार र छठ मिलन कार्यक्रममा बोल्दै भूमिसुधार मन्त्री गोपाल दहित तथा सिँचाइमन्त्री सञ्जय गौतम तथा पशुपंक्षी मन्त्री सन्तकुमार थारूले बर्दियाको विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए ।  मन्त्री त्रयले पर्यटकीय तथा कृषि क्षेत्रको विकासबाट जिल्लालाई समृद्ध बनाउन सकिने धारणा राखेका थिए । उनीहरूले समाजले तयार पारेको कार्यपत्र ‘बर्दियाको विकास र समृद्धिका साझा प्राथमिकता कृषि, शिक्षा, पर्यटन र साझेदारी, २०७४’ मा लिखित प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
समाजले तयार पारेको पाँच पृष्ठ लामो कार्यपत्रमा बर्दियाको विकासमा देखिएका समस्या तथा चुनौती, विकासका लक्ष तथा उद्देश्य एवं प्राथमिकताका विषयहरूलाई बुँदागत रूपमा समेटिएको छ ।
कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा बर्दियाबाट आएर काठमाडौंमा पेशा व्यवसाय गरिरहेका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले समेत बर्दियाको विकासमा साझा प्रतिबद्धता व्यक्त गर्दै दसैं, तिहार र छठको शुभकामना आदानप्रदान समेत गरेका थिए । कार्यक्रममा समाजले मन्त्रीत्रय दहित तथा गौतम तथा थारू र सांसद एवं महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको थियो । समाजले बर्दियाको विकास र समृद्धिका लागि प्रतिबद्धतासहितको हस्ताक्षर अभियानसमेत सुरु गरेको छ ।
बर्दियाबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको सक्रियतामा २०६७ मा स्थापना भएको समाजले जिल्लाको विकास र समृद्धिको बहस उठाउँदै आएको छ । जिल्लाको विकास र समृद्धिका लागि छिट्टै १५ बुँदे घोषणा पत्र बनाएर अघि बढ्न लागेको समाजका अध्यक्ष शुभमान श्रेष्ठले जानकारी दिए । समाजले जिल्लाको शैक्षिक अवस्था सुधारका लागि काठमाडौं विश्वविद्यालय अन्तर्गतको दूरशिक्षा जिल्लामा सञ्चालन गर्दैछ । त्यस्तै पर्यटन विकासका लागि कृष्णसारदेखि मानसरोवरसम्मको पर्यटकीय सर्किटको विकास तथा पोखरा नेपालगञ्ज तथा नेपालगञ्ज पोखरा हवाई सेवा सञ्चालनका लागि समेत पहल गरिरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: ६ आश्विन २०७४ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App