७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुरु भयो दसैं, व्यापारिक क्षेत्रमा भीडभाड

काठमाडौं- न्युरोड क्षेत्रमा बिहीबार सर्वसाधरणको भीडका कारण सवारी आवागमनमा निकै समस्या भयो । दसैंको पहिलो दिन भएकाले बजारमा सर्वसाधरणका भीड बढेको हो ।
घटस्थापनामा सार्वजनिक बिदा भएकाले पनि बिहीबार न्युरोड लगायत व्यापारिक क्षेत्रमा सर्वसाधारणको भीड बढेको हो । दसैंको छेको पारेर न्युरोडमा ‘विशेष अफर मेला’ चलिरहेको छ । यहाँका मोबाइल पसल, फेसनबल पहिरन र कस्मेटिक पसल, गरगहना, घरायसी सामान, लत्ता कपडा तथा सपिङ सेन्टरमा छुटसहितका अफर छन् । छुट अफर र मेलाले दसैंको माहोललाई थप तताएको छ ।
घरायसी इलेक्ट्रोनिक सामान, फर्निचर, नयाँ गरगहना, कपडादेखि गाडी किन्ने साइत दसैं नै हुने भएकाले अहिले व्यापारिक क्षेत्रमा उपभोक्ताको चहलपहल बढेको हो ।
न्युरोडमा मोबाइल पसलदेखि फेसनेबल कपडा पसलसम्ममा उस्तै भीड छ । सुन्धारा वरिपरिको चोकमा मात्रै नभएर सडक पेटीका फुटपाथ पसलले सर्वसाधारणलाई बाटो छिचोल्न समस्या हुने गरी भीड बढेको छ । सडक पेटीका व्यापारीले ‘पाँच सयमा दुइटा टी–सर्ट’ भन्दै ग्राहकको ध्यान तानिरहेको देखिन्छ । ‘सस्तोमा आयो सिन्स पाइन्ट, मात्रै पाँच सय’ भीडभाडमा सुनिने यस्ता आवाजले पनि सर्वसाधारणको ध्यान खिचिरहेको पाइन्छ । सामान्य आर्थिक अवस्था भएका सर्वसाधारणका लागि यही सडक पेटीको बजार ‘अफर सेल मेला’ हुन्छ ।
‘मान्छेहरु त धेरै आउँछन् । व्यापार नभएको होइन, तर सोचे जस्तो छैन । विहान ११ बजेदेखि आएको, भर्खर ३५ सयको व्यापार गरेँ,’ न्युरोड गेटको सडक पेटीका व्यापारी सरोज काफ्लेले भने, ‘आज भीड ह्वात्तै बढेको छ । हेरौं व्यापार कस्तो हुन्छ ।’
उनले भने जस्तै न्युरोड गेटबाट भित्र छिर्न सजिलो थिएन । सस्तो बजार नै भएको छ ‘युरोड । न्युरोडस्थित न्यु गोल्ड गहना पसलमा ग्राहकको भीड उस्तै थियो । न्यु गोल्डका सञ्चालक मनोज शाक्यले दसैंको बेला विवाहको सिजन जस्तै भएकाले व्यापार ठिकै रहेको बताए । उनका अनुसार फूलपातीको दिनसम्म सुनको कारोबार बढ्ने छ ।
ताम्राकार मोबाइल हाउसका अध्यक्ष जगत साउदले दसैंसँगै अफर मेला लागेकाले मोबाइलको व्यापार ३५ प्रतिशतले बढेको बताए । असोज १० गतेसम्म चल्ने मेलामा मोबाइलको मोडल हेरेर पाँचदेखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था छ ।
चाबहिल घर भएका मनोज कोइरालाले ओप्पो ब्रान्डको मोबाइल किन्न न्युरोड आएको बताए । दसैंको बेला मेला लाग्ने र छुट पाउने भएकाले ताम्राकार हाउसमा ओप्पो किन्न आएको कोइरालाको भनाइ छ ।
यस्तै, सुन्धारा क्षेत्रको न्यु प्लाजा, आरबी कम्प्लेक्स, रञ्जना मल, काठमाडौं मलको साथै विशाल बजार क्षेत्रमा दसैंको पहिलो दिन भीडभाड बाक्लो थियो ।
न्यु प्लाजास्थित ‘स्टे स्टाइलिस’ पसलका सञ्चालक अनु आचार्यले मलको व्यापार भने कमै रहेको बताए । ‘भीडभाड छ, व्यापार छैन । दसैंको पहिलो दिन सामान किन्नभन्दा पनि छान्न र मूल्य हेर्न आउँछन् । सबैले सामान किन्दैनन्,’ उनले भने ।
दरबारमार्ग क्षेत्रका ब्रान्डेड सामानका पसलमा भने भीडभाड सामान्य थियो । केहीअघि सरकारले अनुगमनको क्रममा मूल्यभन्दा ११ गुणा बढी लिएको भेटिएको भन्दै नौवटा पसलमा सिल गरेको थियो । त्यसलगत्तै व्यवसायीले सिलको विरोधमा करिब सय पसल बन्द गरे । अहिले सिल गरिएकाबाहेक अन्य पसल सञ्चालनमा आए पनि उपभोक्ताको भीड कमै देखिन्छ ।
दरबामार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दर कक्षपतीले दरबारमार्ग क्षेत्रमा दसैंअघिको व्यापार  सोचे जस्तो नभएको बताए ।
चाबहिलस्थित एसी कम्प्लेक्समा सिजी ब्रान्डका इलेक्ट्रोनिक्स सामान खरिदका लागि अन्य समयभन्दा ग्राहकको निकै भीड थियो । धेरैले ग्राहकले मूल्य चित्त बुझे किन्ने नभए फर्किने गरेको सेल्सम्यान रविन्द्र अधिकारीले बताए ।   
भृकुटीमण्डपमा दसैं बृहत् जुत्ता मेला लागिरहेको छ । सो जुत्ता मेलामा सर्वसाधरणको भीड छ । रामेछाप घर भई बौद्ध बस्दै आएका समिर श्रेष्ठले स्मार्ट जुत्ता दसैंको नयाँ रोजाइ भएको बताए । १६ सयमा उक्त जुत्ता किनेको उनको भनाइ छ ।
स्मार्ट सुजका म्यानेजिङ डाइरेक्टर जीवन श्रेष्ठले दसैंैको मेला भएका कारण जुत्ता व्यापार सोचेभन्दा राम्रो भएको बताए । ‘दसैं मेला भएका कारण २५ प्रतिशत छुट छ । सर्वसाधारणदेखि उद्योगी, व्यापारी, नेताहरु जुत्ता किन्न आउने गरेका छन् । यो वर्ष मेलाबाट राम्रै आम्दानी भएको छ,’ उनले भने । यस्तै, सम्राट सुजका म्यानेजर प्रमोद महतोले अन्य दिनको भन्दा बिहीबार सर्वसाधरणको भिड लागेको बताए ।
सरकारले चाडपर्वलाई लक्ष्य गर्दै उपभोक्तालाई सहुलियत दिने गरी ३६ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । भदौ १६ गते सुरू भएको सुपथ पसलमा पनि उपभोक्ता तथा सर्वसाधारणको भीड राम्रै छ ।
बौद्ध, जोरपाटीस्थित सुपथ मूल्य पसलमा भेटिएका रामकुमार तामाङले दसैंको बेला अन्य ठाउँमा चामल महँगो भएका कारण यहाँ आएको बताए । ३० किलो चामलको मूल्य चार सय रुपैयाँसम्म कम हुने भएकाले सुपथ पसलमा आएको तामाङको भनाइ थियो ।
सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ १६ गते सुरु गरेको सुपथ मूल्य पसल कात्तिक १६ गतेसम्म चल्नेछ । उपत्यकासहित विभिन्न तीन दर्जन स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।
उपत्यकाबाहिर नारायणगढ, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायत स्थानमा यस्ता पसल सञ्चालन गरिएको छ ।

प्रकाशित: ६ आश्विन २०७४ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App