coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मासु खानयोग्य खसीमा हरियो रङ

काठमाडौं- दसैंको लागि खसीबोका किन्दै हुनुहुन्छ ? ख्याल गर्नुहोस् । बिरामी, रोग लागेको पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ ।
उपभोक्ता ठगिनबाट जोगिऊन् भनेर पशुपक्षी मन्त्रालयले नयाँ उपाय पहिचान गरेको छ । काठमाडौं भित्रिने हरेक नाकामा प्राविधिक खटाएर मासुको लागि प्रयोग हुने खसीबोकाको श्रेणी छुट्ट्याएको हो ।
बजारमा किन्न जाँदा हरियो रङ लगाएको खसीबोका मात्र छनोट गर्नुहोस् । मासु खानको लागि योग्य खसीबोकामा हरियो रङ लगाइएको छ । अस्वस्थ्य खसीबोकालाई रातो संकेत लगाएको छ ।
चाडपर्वलाई लक्षित गरेर बुधबारबाट काठमाडौं प्रवेश गर्ने नाका र खसीबोका बजारमा स्वास्थ्य परीक्षण गरेर श्रेणी छुट्ट्याएको पशुपक्षी मन्त्रालयका प्रवक्ता श्याम पौडेलले बताए । ‘काठमाडौं प्रवेश गर्ने नाकामा सात टोली परिचालन गरेका छौं,’ पौडेलले भने, ‘हरेक ठाउँमा चिकित्सकले चेकजाँच गरेर रातो र हरियो चिह्न लगाएका छन् ।’
नागढुंगा, गोंगबु, फर्पिङ, साँगा लगायत नाकामा टोली परिचालन गरेको मन्त्रालयले जनाएको छ । प्रवेश गर्दा सम्बन्धित ठाउँबाट ल्याउँदा स्वास्थ्य प्रमाणपत्र ल्याए नल्याएको जाँच्ने गरेको छ । ‘बिरामी देखिनासाथ रातो रङ लगाउँछन्,’ पौडेलले भने ।
व्यापारीले दसैंलाई लक्ष्य गरेर खसीबोका काठमाडौं भिœयाउन थालेका छन् । काठमाडौंमा भारत र पहाडी जिल्लाबाट दसैंको लागि खसीबोका आउन थालेको छ । दैनिक २० ट्रक खसीबोका राजधानी भित्रिन थालेको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ । ‘दैनिक करिब पाँच हजार खसी–बोका आउन सुरु भएको छ,’ संघका अध्यक्ष गोविन्द पाठकले भने, ‘यो क्रम दसैंसम्म जारी रहन्छ ।’
पाठकका अनुसार उपत्यकामा दसैंमा करिब ५० हजार खसी–बोका, भेडाच्यांग्रा बिक्री हुने अनुमान छ । ३५ हजार भारतबाट ल्याए पनि करिब १५ हजार भेडाच्यांग्रा, खसी–बोका विभिन्न जिल्ला र तिब्बतबाट ल्याएका खपत हुन्छन् । यहाँको उत्पादनले नथेगेपछि ५० करोड रुपैयाँका खसीबोका भारतबाट आउने संघले जनाएको छ ।  यहाँ उत्पादन नहुँदा मासुमा भारतीय परनिर्भरता बढेको हो । व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जारकोट लगायत जिल्लाबाट पनि खसी ल्याउन थालेका छन् । उपत्यकाका कलंकी, भृकुटीमण्डप, बागबजार, बबरमहल, माछापोखरी, खाद्य संस्थानका डिपोमा खसीबोका बिक्री सुरु भएको छ ।
प्रतिगोटा करिब १४ हजार रुपैयाँका दरले बिक्री हुने संघले जनाएको छ । सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैंतिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नुपर्नेछ । पहाडी, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रा पालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेक वर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ ।
संस्थानद्वारा खसीबोका बिक्री
नेपाल खाद्य संस्थानले सहुलियत मूल्यमा खसीबोका र भेडाच्यांग्रा बिक्री सुरु गरेको छ । दसैंको लागि करिब १५ सय खसी–बोका र एक हजार भेडाच्यांग्रा किनेर काठमाडौं ल्याएको छ । भेडाच्यांग्रा मुस्ताङ र खसी–बोका दाङ र मकवानपुरबाट ल्याएको हो । उपभोक्तालाई राहत दिन च्यांग्रा ६ सय ७५ रुपैयाँ किलो र खसी चार सय ५५ रुपैयाँमा बिक्री गर्ने निर्णय भएको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । ‘मासु किलोमा १० रुपैयाँ छुट दिएका छौं,’ उनले भने, ‘बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने योजना हो ।’
२९ मरेका खसीबोका भेटिए
दसैंलाई लक्ष्य गरेर काठमाडौं भिœयाउँदै गर्दा २९ खसी–बोका मरेको अवस्थामा भेटिएका छन् । मासुको लागि प्रयोग हुने खसी–बोका बसको डिक्कीमा राखेर ल्याउन नपाइने भए पनि व्यापारीले डिक्कीमा ल्याउँदा स्वास्वप्रश्वासमा समस्या भएर मरेको पशुपक्षी मन्त्रालयले जनाएको छ । पशुपक्षी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीलले राजधानी भित्रिने नाका नागढुंगाबाट चेकजाँच गर्दा एउटा बसमा २८ वटा र अर्कोमा एक मरेको भेटिएको थियोा ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट मरेको खसीबोका भेटिएपछि बरामद गरेको प्रवक्ता पौडेलले बताए । ‘डिक्कीमा राखेर ल्याउँदा पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्छ,’ पौडेलले भने, ‘पशु ढुवानी नियम विपरित डिक्कीमा राखेर ल्याएको भेटियो ।’

प्रकाशित: ६ आश्विन २०७४ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App