coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैँमै बढ्छन् दुर्घटना

– गत वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म काठमाडौं उपत्यकाभित्र एक सय ५२ सवारी दुर्घटना भए । दुर्घटनामा आठ जनाले ज्यान गुमाए, सात गम्भीर घाइते भए भने एक सय १२ सामान्य घाइते बने ।
– गत वर्षकै असोज ११ गते धादिङबेसीबाट किन्ताङबेसीतर्फ जाँदै गरेको ना.४ख ३३१८ नम्बरको यात्रुवाहक बस धादिङ मारपाकस्थित आँखुखोलामा दुर्घटना हुँदा १९ को ज्यान गयो ।
– काभ्रेको पाँचखालमा गत वर्ष असोज २८ गते बा.४ख १९१३ नम्बरको यात्रुवाहक बस दुर्घटना भई तीनजनाले ज्यान गुमाए ।
राजधानी र आसपास क्षेत्रमा गत वर्ष दसैँका बेला भएका सडक दुर्घटनाका केही उदाहरण हुन् यी । गत वर्ष मात्र होइन, हरेक वर्ष अरु बेलाको तुलनामा चाडपर्वमै सडक दुर्घटना बढ्ने गरेका छन् ।

हतारिएर सवारीसाधन हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउने लगायत कारण चाडपर्वमा दुर्घटना संख्या बढ्ने गरेको हो ।
प्रहरी प्रधान कार्यालय ट्राफिक प्रहरी निर्देशनालयका अनुसार गत वर्षको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मुलुकभर तीन सय ५५ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा एक सय एकले ज्यान गुमाए भने दुई सय २१  जना गम्भीर घाइते भए ।
नेपाल प्रहरी प्रवक्ता मनोज नेउपाने चाडपर्वमा चालकको चरम लापरबाहीका कारण सडक दुर्घटना बढ्ने बताउँछन् । ‘तीव्र गति र ओभरलोडका कारण अधिकांश बस दुर्घटना भएको देखिन्छ,’ उनले भने ।  
गत वर्षका तीन सय ५५ मध्ये दुई सय ४२ सडक दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिन्छ । प्रहरीका अनुसार गत वर्षका दुर्घटनामध्ये तीव्र गतिले ५८, यात्रुको गल्तीले २४, यान्त्रिक गडबढीले १०,  मादक पदार्थ सेवन गरी सवारी चलाएकाले आठ र सडकको अवस्थाले पाँच दुर्घटना भएका थिए ।
ट्राफिक इन्जिनियर आशिष गजुरेल ओभरलोड र सडकको अवस्थाले चाडपर्वका बेला दुर्घटना बढ्ने बताउँछन् । ‘चाडपर्वमा सबैलाई घर जानैपर्ने बाध्यता हुन्छ, त्यसको गलत फाइदा उठाउँदै यातायात व्यवसायीले क्षमताभन्दा धेरै यात्रु बसमा राख्छन्,’ उनले भने, ‘कमजोर सडक संरचना र ओभरलोडकै कारण चाडपर्वमा दुर्घटना बढ्छन् ।’  
प्रवक्ता नेउपाने नियमित सवारी जाँच नहुँदा ठूला सवारी दुर्घटना निम्तिरहेको बताउँछन् । ‘लामो समयसम्म ग्यारेजमा थन्क्याइएका सवारीसाधन चाडपर्वका बेला गुडाइन्छन्, त्यसले दुर्घटना बढाउँछ,’ उनले भने, ‘नियमित सवारीसाधन परीक्षण गरेर गुडाए दुर्घटनामा कम हुन्थ्यो ।’
उनका अनुसार करिब ३० प्रतिशत सवारी दुर्घटना यान्त्रिक र वातावरणीय कारण हुने गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा ६–६ महिनामा लामो दूरी चल्ने सवारीसाधनको परीक्षण गर्नुपर्ने व्यवस्था छ । तर यातायात व्यवसायीले त्यसलाई पालन गरेका छैनन् । ऐनमा सवारीसाधनको ब्रेक, स्टेयरिङ, गियर, चेसिस, टायर, एक्सिलेटर, क्लजप्लेट, लाइट, पट्टा, सिट, झ्याल, रङ, बनोट, भारवहन क्षमता, हर्न, इन्जिनलगायत ठीक भए÷नभएको बेलाबेला परीक्षण गराउनुपर्ने उल्लेख छ ।
‘मानिसको जस्तै सवारीको पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ,’ यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराई भन्छन्, ‘सवारीसाधन कुन अवस्थामा छ, चुस्त–दुरुस्त छ÷छैन ? जाँच गर्नुपर्ने भए पनि व्यवसायीले गरेका छैनन् ।’
विभागका निर्देशक टोकराज पाण्डे चाडपर्व लक्षित गरेर सवारी अनुगमन तीव्र पारेको बताउँछन् । ‘चाडपर्वलाई लक्षित गरेर नै राजमार्ग तथा विभिन्न नाकामा प्रहरी खटाइरहेका छौँ,’ उनले भने, ‘सिट क्षमताभन्दा धेरै यात्रु नबोक्न यातायात व्यवसायीलाई निर्देशन दिइसक्यौँ ।’
दसैँमा दुर्घटना
दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दो छ । गत चार वर्षको अवधिमा दसैँका बेला भएका दुर्घटनामा मात्र चार सय पाँच जनाले ज्यान गुमाएका छन् ।
०७० को दसैँताका दुई सय ८९ सडक दुर्घटना भएका थिए । त्यस वर्ष ७० जनाले ज्यान गुमाए । ०७१ को  दसैँताका चार सय १४ सवारी दुर्घटनामा भए । दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाए ।
०७२ को दसैँताका तीन सय २२ सवारी दुर्घटना हुँदा ९२ जनाले ज्यान गुमाए । गत वर्ष दसैँताका भएका तीन सय ५५ सवारी दुर्घटनामा एक सय एकजनाको ज्यान गयो ।
अनुगमन तीव्र ः ट्राफिक प्रहरी
ट्राफिक प्रहरी निर्देशनालयकाका प्रहरी नायब उपरीक्षक प्रेम जोशीले चाडपर्व लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
‘चाडपर्वका बेला ठूला सवारी दुर्घटना हुने सम्भावना बढी भएकाले सचेतनात्मक कार्यक्रम गर्दै आइराखेका छौँ,’ उनले भने, ‘दसँै–तिहारका बेला ठूलो संख्यामा यात्रु गन्तव्यतर्फ जान्छन्, त्यसैले सुरक्षा सतर्कता अपनाउँदै आएका छौँ ।’
निर्देशनालयले लामो दूरीका सवारी चल्ने विभिन्न २८ स्थानमा चालकलाई ‘रिफ्रेन्समेन्ट सेन्टर’ चलाइरहेको छ । ‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुईजना चालक राख्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसको पूर्ण कार्यान्वयन गराएका छौँ ।’
प्रहरीले टिकटमा कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’मा खबर गर्न अनुरोध गरेको छ । बसको छतमा मान्छे र व्यापारिक सरसमान राखेको पाइए कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारीसाधनमा छत राख्न नपाउने नियम छ । छत राखेर सवारीसाधन चलाएमा पाँच हजार जरिवाना र ६ महिना इजाजत रद्द गर्न सकिन्छ ।

प्रकाशित: ६ आश्विन २०७४ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App