coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पप कर्न

आयल निगम प्रमुख हाकिमलाई सरकारले बल्ल बर्खास्त गरेको छ । उनलाई बर्खास्त गर्न धेरै अघिदेखि नै दबाब आइरहेको थियो । भ्रष्टाचारीलाई किन कारबाही नगरेको ? भ्रष्टाचारीलाई किन बर्खास्त नगरेको ? यस्ता अनेक प्रश्न अनाहकमै उठिरहेका थिए । तर प्रश्न उठेर के गर्नु ? भन्नेबित्तिकै कारबाही गर्न सकिने कुरो भएन । किनभने कारबाही गर्नु भनेको बडो गाह्रो काम हो । सायद गाह्रो काम भएरै होला, नेपालमा अरु जे गरे पनि कारबाही चाहिँ गर्दैन । किनभने कारबाही भनेको बडो घुमाउरो हुन्छ । यो सीधा बाटो हिँड्दैन । घुमाउरो हिँड्ने भएकाले यो घुमेर आफैँकहाँ पनि आउन सक्छ । जसले कारबाही गरेको हो, घुमेर त्यो उसैकहाँ पुग्ने सम्भावना समेत रहने गर्छ । त्यसैले कसैलाई कारबाही गर्दा त्यो घुमेर कहाँ–कहाँ पुग्न सक्छ, त्यसको समेत लेखाजोखा हुनुपर्छ । त्यसैले यो कारबाही भनेको जसलाई गर्न लागिएको हो, त्यसलाई भन्दा जसले कारबाही गर्न लागेको हो, त्यसलाई बढी खतरनाक हुन सक्छ । अतः कारबाही भनेको जसलाई साढे सातको दशा लागेको छ, उसले मात्र गर्छ ।

अब जेहोस्, आयल निगमले जग्गा किनी नै सकेको छ । सुनिन्छ, निगमले जुन जग्गा किनेको हो, त्यहाँ पेट्रोल भण्डारण गर्न मिल्दैन । ठीकै छ, पेट्रोल भण्डारण गर्न नमिले मकै रोप्न त मिल्छ होला । मकै नै रोपौँ । मकै उत्पादन गरौँ । र, पप कर्न बनाएर बेचौँ । आयल निगमद्वारा उत्पादित पप कर्न !

अब जहाँसम्म आयल निगम हाकिमलाई कारबाही गर्ने कुरा छ, त्यो त झनै खतरनाक भयो । किनभने उहाँ पेट्रोलसम्बन्धी निकायको हाकिम हुनुहुन्छ । पेट्रोलको काम भनेको आगो बाल्ने हो । अब त्यस्तो आगोको हाकिमलाई कारबाही गर्नु कम खतरनाक हो ? कारबाही ग¥यो कि त आगो बल्यो । उहाँलाई कारबाही गर्नु बडो डरलाग्दो छ । वास्तवमा त्यही कारण पनि कारबाहीमा ढिलो भएको हो । उहाँलाई कारबाही गर्दा कहाँ कहाँ आगो बल्छ, त्यो त छानबिन हुनुप¥यो नि ! पेट्रोलको आगो त डरलाग्दै हुन्छ ।
जेहोस्, जसरी होस्, बल्ल कारबाही भयो । तर आश्चर्य ! आगोचाहिँ कहीँ बलेन । (आगो नबलेकामा मलाई शंका लागेको छ । आयल निगमको पेट्रोलमा धेरै मिसावट हुन्छ भनिन्छ । त्यही मिसावटकै कारण पो आगो नबल्या हो कि ? यदि हो भने त उहाँलाई कारबाही गर्नैपर्ने एउटा ठोस प्रमाण यही पनि हुन सक्छ । यत्रो कारबाही गर्दा पनि आगो बलेन । मिसावट नभएको भए बल्दैनथ्यो ? यस्तो मिसावट गर्ने हाकिमलाई किन कारबाही नगर्ने ?) नेपालमा हेर्नुस्, बालुवाको हाकिमलाई कारबाही गर्दा समेत आगो बल्ने गर्छ । बालुवासँग आगोको के साइनो ? तैपनि बालुवामै आगो बल्छ । तर आज पेट्रोलको हाकिमलाई कारबाही गर्दा भने आगो बलेन । भनेपछि कहीँ न कहीँ समस्या छ भन्ने त्यसै पनि थाहा भयो ।
उहाँ पेट्रोल हाकिममाथि लागेको आरोप त धेरै छन्– पेट्रोलमा मिसावट गरेको, बढी पेट्रोल लगेर कम लेख्न लगाएको, चाहिनेभन्दा बढी डिपो खोल्ने अनुमति दिएको, डिपोहरूसँग पैसा लिएको, पेट्रोल मगाउँदा भ्रष्टाचार गरेको, सूची त योभन्दा पनि लामो छ । तर समय खर्च नगरौँ । यहाँ केहीलाई मात्र प्रस्तुत गरेँ । यो जम्मै गर्दा समेत उनीमाथि कारबाही भएको थिएन । तर जब जग्गाको काम सुरु ग¥यो, कारबाही पनि सँगसँगै आउन थाल्यो । भनिन्छ नि, ‘ज’ पछि ‘झ’ आउँछ । अर्थात्, जहाँ जग्गाको कुरा आउँछ, त्यहाँ झगडाको कुरा पनि आइहाल्छ । उहाँले जग्गाको काम थाल्नेबित्तिकै यो झगडाको कुरा पनि आएको हो । पेट्रोल भण्डारणको डिपो बनाउन आयल निगमले जग्गा किनेको रहेछ । अब कुरो आयो कि यो त साह्रै महँगो जग्गा भयो । महँगोमा जग्गा किन किनेको ? अब जग्गा थोडै उहाँले महँगो बनाएको हो र ? जग्गाको भाउ त उसै पनि बढिरहेकै छ । भाउ नै महँगो त उहाँले के गर्ने ? अब उहाँ कुनै जग्गा दलाल त होइन नि, कहाँ कुन जग्गाको भाउ कति छ भनेर बुझिहिँड्न । उहाँको काम त पेट्रोलको भाउ बुझ्ने हो, जग्गाको भाउ बुझ्ने होइन ।   
अब जेहोस्, आयल निगमले जग्गा किनी नै सकेको छ । सुनिन्छ, निगमले जुन जग्गा किनेको हो, त्यहाँ पेट्रोल भण्डारण गर्न मिल्दैन । ठीकै छ, पेट्रोल भण्डारण गर्न नमिले मकै रोप्न त मिल्छ होला । मकै नै रोपौँ । मकै उत्पादन गरौँ । र, पप कर्न बनाएर बेचौँ । आयल निगमद्वारा उत्पादित पप कर्न !
यदि पप कर्न उत्पादन नगर्ने हो भने अरु पनि उपाय छ । अहिले सुनिँदै छ कि सरकारले अब छिटै नेपालमा पेट्रोल खानी खोज्ने काम थाल्दै छ रे । हुन त पेट्रोल खोज्ने काम नेपालमा धेरै अघिदेखि नै हुँदै आएको हो । तर अहिलेसम्म पेट्रोलपम्प बाहेक अरुतिर एक थोपा पनि पेट्रोल भेटिएको छैन । नेपालमा पेट्रोल भेटिने ठाउँ भनेको उही पेट्रोल पम्प मात्रै हो । यस्तो किन भइरहेको छ ? सायद पेट्रोलको खोजी नै गलत ठाउँमा पो भइरहेको छ कि ? पेट्रोल खोज्न त पेट्रोल हुने ठाउँमै जानुप¥यो नि । पेट्रोलै नहुने ठाउँमा गएर कसरी पेट्रोल पाउन सकिन्छ र ?
अब आयल निगमले भर्खरै जो जग्गा किनेको छ, पेट्रोल सायद त्यहीँ पो छ कि ? पेट्रोल भण्डारण गर्ने भनेर जग्गा किनेको हो । त्यहाँ पेट्रोल भण्डारण होइन, पेट्रोलको भण्डारै पो छ कि ? अन्वेषण त गर्नुप¥यो नि । जग्गा नपाएर हामीलाई अन्वेषणको पनि समस्या भइरहेको थियो । अब जग्गा पाइहालियो । त्यही जग्गामा पेट्रोलको अन्वेषण गर्ने हो कि ? हेर्नुस्, यो जग्गाको नाम मात्रैले पनि देशमा यत्रो आगो बलिरहेको छ । त्यहाँभित्र कुनै आगो भएरै त आगो बल्यो होला नि, त्यसै बल्छ आगो ?

प्रकाशित: ७ आश्विन २०७४ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App