७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश र संघीय चुनावका लागि माओवादी केन्द्रबाट उम्मेद्वार सिफारिस

उदयपुर-  प्रदेशसभा तथा संघीय चुनावका लागि नेपाल कम्युनिष्ट पार्टील (माओवादी केन्द्र) उदयपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ। भर्खरै सीमा तथा संख्या निर्धारण भएर ४ प्रदेशसभा र २ संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रको टुंगो लागेको उदयपुरमा चुनाव लड्न प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले पार्टीले नाम सिफारिस गरेको हो।

माकेको बिहीबार र शुक्रबार सम्पन्न सचिवालय बैठकले केन्द्र र प्रदेशमा उठ्ने सिफारिसमा परेका नामहरु स्थानीय नेतादेखि स्थायी समिति सदस्यसम्मका नेताहरु रहेका छन्। पार्टी जिल्ला स्रोतका अनुसार पूवमन्त्री तथा पार्टी स्थायी समिति सदस्य सुरेन्द्र कार्की (राम) र पूर्व सभासद् मोहनबहादुर खत्री (दिपक) संघीय प्रतिनिधिसभामा उठ्ने गरी सिफारिसमा परेका छन् । कार्की र खत्री उदयपुरको क्षेत्र नम्बर २ क्षेत्रबाट चुनावमा उठ्ने गरी सिफारिसमा परेका छन् । उनीहरुसँगै अर्का महाधिवेशन आयोगक समिति सदस्य केपी बरालको नाम पनि सिफारिसमा परिेको छ। 

१ नम्बर क्षेत्रबाट अर्का स्थायी समिति सदस्य सुरेशकुमार राई (हिमाल), सल्लाहकार सदस्य मीनबहादुर ठकुरी र महाधिवेशन आयोजक सदस्य पुष्प बस्नेतको नाम सिफारिसमा परेको छ । कार्की उदयपुरका लागि नयाँ अनुहार हुन् । उनी सप्तरीको फत्तेपुर स्थायी बसोबास गर्ने नेता हुन् भने राजनीति पनि उतैबाट गर्दै आएका छन् । खत्री पूर्व सभासद तथा पोलिट्व्युरो सदस्य जिल्ला ईन्चार्ज समेत हुन् । ०६४ मा ३ नम्बर क्षेत्रबाट संविधानसभा चुनाव जितेका उनी ०७० मा सोही क्षेत्रबाट पराजित भएका थिए। सिफारिसमा पर्ने अर्का नेता बराल गएको स्थानीय निर्वाचनमा कटारी नगरपालिका मेयरमा पराजित हुन् ।

१ नम्बरबाट सिफारिसमा परेका अर्का स्थायी समिति सदस्य राई दोस्रो संविधानसभा चुनावमा २ नम्बर क्षेत्रबाट पराजित भएका थिए । उनको स्थायी ठेगाना बेलका नगरपालिका हो । ठकुरी त्रियुगा नगरपालिका ३ र बस्नेत पनि सप्तरीको फत्तेपुरकै स्थायी बासिन्दा भए पनि उदयपुरको राजनीति गर्दै आएको पार्टीले जनाएको छ।

प्रदेशसभाका लागि पनि पार्टीले ३/३ जनाको नाम सिफारिस गरेको जनाएको छ । बेलका र चौदण्डीगढी नगरपालिकालाई समायोजन गरी बनाइएको प्रदेशबाट गणेश थाम्सुहाङ (विशाल), कुमारसिंह कार्की र राकेश किरातीको नाम सिफारिस भएको छ । महाधिवेशन आयोजक समिति सदस्य रहेका विशाल बेलकाका स्थायी बासिन्दा हुन् । एमाले बुद्धिजीवि कार्की पार्टी छाडेर भर्खरै सम्पन्न स्थानीय तह चुनावमा माकेबाट चौदण्डीगढी नगरपालिका मेयर उठेर पराजित हुन् ।

एउटा प्रदेश निर्वाचन क्षेत्र बनाइएको त्रियुगा नगरपालिकाबाट जीवनकुमार कार्की (कुशल), पूर्वसभासद रामबहादुर थापा मगर र बिमल किरातीको नाम सिफारिसमा परेको छ । महाधिवेशन आयोजक सदस्य र द्वन्द्वपीडित परिवारका रहेका कार्की यसअघि स्थानीय तह चुनावमा रौतामाई गाउँपालिका अध्यक्षमा टिकट नपाएर असन्तुष्ट हुन् । नेपाल आदिबासी जनजाति महासंघका तत्कालीन महासचिव मगर ०७० को संविधानसभामा समानुपातिक सभासद हुन् । महाधिवेशन आयोजक सदस्यसमेत रहेका किराती पार्टीको त्रियुगा नगर समिति सहसंयोजक हुन् ।

रौतामाई, उदयपुरगढी र सुनकोसी गाउपालिकालाई समायोजन गरी निर्मित अर्को प्रदेशबाट उठ्नेगरी नारायण बुर्जामगर, काजीमान तामाङ र एबीराज राईको नाम सिफारिसमा परेको छ । महाधिवेशन आयोजक सदसय मगर पार्टी जिल्ला सहसंयोजक पनि हुन् । सामुदायीक उपभोक्ता महासंघ उदयपुरका अध्यक्षसमेत रहेका मगर साविक भलायडाँडा गाविसका स्थायी बासिन्दा हुन् । महाधिवेशन आयोजक सदस्य तामाङ युद्धकालीन कार्यकर्ता हुन् भने राई पार्टी भ्रातृ संगठन वाईसिएलका पूर्व जिल्ला इन्चार्ज तथा हाल केन्द्रीय सदस्य हुन् ।

कटारी नगरपालिका र ताप्ली गाउँपालिकालाई मिलाएर बनाइएको अर्को प्रदेशमा उठाउनेगरी पार्टी जिल्ला संयोजक विनोद कटुवाल (दिवस), समानुपातिक सांसद भेषकुमारी राउत र महाविधवेशन आयोजक सदस्य हेमराज दाहालको नाम सिफारिसमा परेको छ ।

पार्टीले प्रदेश र संघीय प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेद्वारको नाम पनि सिफारिस गरेको जनाएको छ । पूर्व जिल्ला अध्यक्ष भिमबहादुर अधिकारी (अनिल), पूर्व सभासद मणि खम्बु किराती र भिमबहादुर विक संघीय प्रतिनिधिसभासदका लागि समानुपातिकमा सिफारिसमा परेका छन् । प्रदेशतर्फ समानुपातिकमा सिफारिसमा पर्नेहरुको नामावलीमा सांसद भेषकुमारी राउत पनि छिन्।

प्रदेशका लागि पनि पार्टीले ३/३ जनाको नाम सिफारिस गरेको छ । वेलका–चौदण्डीगढी प्रदेशबाट राजन किराती, सम्झना तामाङ र दिलकुमारी मगरको नाम सिफारिसमा परेको छ ।

अर्को त्रियुगा भुगोलबाट पार्टी जिल्ला सहसंयोजक दोण पौडेल, पृथ्वी विक र गंगाधर चौधरीको नाम सिफारिसमा परेको छ । रौतामाई, उदयपुरगढी र सुनकोसी भूगोलबाट सेतीमाया आले, झनक बिक र होम किरातीको नाम सिफारिसमा परेको छ । कटारी नगरपालिका र ताप्ली गाउँपालिका भुगोलको प्रदेशबाट भगवती खनाल, ढुङ्गराज विक, झण्डबहादुर राई र काजीलाल दनुवारको नाम सिफारिसमा परेको छ । विक ताप्ली गाउँपालिकामा स्थानीय तह चुनावमा अध्यक्षका पराजित हुन् ।

पार्टीले स्थायी समिति सदस्य हिमाल र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज खत्रीको कमाण्डमा छुट्टाछुट्टै २ वटा समिति निर्माण गरी चुनावको तयारीमा खटाउने निर्णय पनि गरेको जनाएको छ ।

 

प्रकाशित: ७ आश्विन २०७४ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App