६ वैशाख २०८१ बिहीबार
खेल

नेपालको जितमा शरद नायक

काठमाडौं- शरद भेषावकरले शतक तथा स्पिनरहरूले राम्रो बलिङ गरेपछि अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार तमिलनाडु ‘ए’ लाई १ सय ४७ रनले हरायो ।
तलिमनाडुस्थित मुरुगाप्पा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ११ रन बनायो । १ सय १९ बल खेलेका शरदले ११ चौकासहित शतक पूरा गरे लगत्तै आकाशको बलमा एन्टोन एन्ड्रयुमार्फत क्याच भएका थिए । ओपनर ज्ञानेन्द्र मल्ल ३१ रन बनाएर आउट भएपछि  शरदले ओपनर सागर पुनसँग दोस्रो विकेटका लागि १ सय ४७ रन तथा दीपेन्द्रसिंह ऐरीसँग ५६ रनको साझेदारी गरेका थिए ।
९९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सागर आर सथ्यनारायणको बलमा डी अन्चितमार्फत क्याच भए । आक्रामक इनिङ खेलेका दीपेन्द्रसिंहले ८ चौका र ४ छक्का प्रहार गरे । मध्यक्रममा विनोद भण्डारी पुनः एक पटक चल्न सकेनन् । पहिलो खेलमा १ तथा दोस्रो खेलमा बिनारन पवेलियन फर्किएका विनोदले शनिबार दोहोरो अंकमा रन बटुल्न सकेनन् । उनी ७ रन बनाउँदा जपनितको बलमा एन्ड्रयुमार्फत क्याच भए । दोस्रो खेलमा शतक पूरा गरेका ज्ञानेन्द्र र दीपेन्द्रसिंहलाई विगलेश रावले आउट गरेका थिए ।
नेपालका स्पिनरहरूले आपसमा ६ विकेट बाँडेपछि ३ सय १२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ‘ए’ ले ४५.३ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रन मात्र जोड्न सक्यो । सन्दीप लामिछानेले ३, सुशील कँडेलले २ तथा वसन्त रेग्मीले १ विकेट लिए । तीव्र गतिका बलर करण केसीले २ विकेट लिए भने ललितसिंह भण्डारी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १÷१ विकेट रह्यो ।
तमिलनाडुका आर सथ्यनारायणले अर्धशतक पूरा गर्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सथ्यनारायणले ८५ बलमा ५ चौका र २ छक्कासहित ६७ रन बनाए । त्योबोहक बाराथले २२, दनचितले १९ तथा निशान्थले १३ रन बनाए ।

 

प्रकाशित: ८ आश्विन २०७४ ०४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App