coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साउनमा मूल्यवृद्धि २.३ प्रतिशत

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्यवृद्धि २.३ प्रतिशत कायम भएको छ । गत असारमा मूल्यवृद्धि २.७ प्रतिशत रहेकामा साउनमा थोरै कमी आएको होे । अघिल्लो वर्ष भने यस्तो मूल्यवृद्धि ८.६ प्रतिशत थियो । राष्ट्र बैंकले गत वर्षको आधार मूल्य उच्च रहेकाले यो वर्ष कमी आएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार साउनमा खाद्यवस्तुको मूल्यवृद्धि १ प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा यो ९.३ प्रतिशत थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३ प्रतिशत, तरकारीको मूल्यमा ११.७ प्रतिशत, मसलाको मूल्यमा ३.५ प्रतिशत र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकाले समग्र खाद्य मूल्यवृद्धि ऋणात्मक रहन गएको हो ।
यस्तै यो अवधिमा गैरखाद्य मूल्य वृद्धि ४.९ प्रतिशत छ । अघिल्लो वर्ष यो ८.१ प्रतिशत थियो । यससमूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मुद्रास्फीति कम रहन गएको हो
क्षेत्रगत आधारमा विश्लेषण गर्दा यो अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत र काठमाडौं उपत्यकामा १.३ प्रतिशत छ । अघिल्लो वर्ष यो हिमालमा ७.१ प्रतिशत, तराईमा ८.५ प्रतिशत, पहाडमा १०.९ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत र भारतको ३.४ प्रतिशत छ । यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ८.६ प्रतिशत र ५.१ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार साउनमा कुल वस्तु निर्यात ३.९ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले वृद्धि भएको थियो ।
यो समयमा भारततर्फ १०.१ प्रतिशतले निर्यात घटेको छ भने चीनतर्फ ११.३ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जस्तापाता, धागो, तयारी पोसाक, पिना लगायत वस्तुको निर्यात बढेको छ भने उनी गलैंचा, पोलिस्टर धागो, दन्तमञ्जन, अलैंची लगायत वस्तुको निर्यात घटेको छ ।
आयात भने ९.३ प्रतिशतले बढेर ७७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १३ प्रतिशतले बढेको थियो । भारतबाट नौ प्रतिशत र चीनबाट १४.२ प्रतिशतले आयात बढेको छ । अन्य मुलुकबाट हुने आयात ७.१ प्रतिशतले बढेको छ ।
पेट्रोलियम पदार्थ, सुन, सिमेन्ट, हटरोल सिट इन क्वाइल, हवाईजहाजका पार्टस लगायत वस्तुको आयात बढेको छ । खाने तेल, मेसिन तथा पार्टस्, बिजुलीका सामान, कोल्ड रोल्ड सिट इन क्वाइल, कृषि उपकरण, लगायत वस्तुको आयातमा कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, विरगन्ज भन्सार, सुख्खा बन्दरगाह र कैलाली भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ । आयाततर्फ, वीरगन्ज भन्सार, सुक्खा बन्दरगाह, विराटनगर भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, नेपालगन्ज भन्सार, कृष्णनगर भन्सार, कैलाली भन्सार र जलेश्वरबाट भएको आयातमा वृद्धि भएको छ ।
साउनमा कुल वस्तु व्यापार घाटा १०.७ प्रतिशतले बढी ७० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १३.६ प्रतिशतले बढेकोे थियो । निर्यात–आयात अनुपात ८.६ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.८ प्रतिशत थियो ।

साउनमा विप्रेषण आप्रवाह सात प्रतिशतले बढेर ५५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाहमा २.५ प्रतिशतले कमी आएको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या (पुनः श्रम स्वीकृति बाहेक) मा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६.९ प्रतिशतले घटेको थियो । साउनमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।
राष्ट्र बैंकका अनुसार गत साउनमा दुई अर्ब ३२ करोडले घाटामा रहेको चालु खाता व्यापार घाटा बढेको कारण यो साउनमा पाँच अर्ब ४३ करोडले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पहिलो महिनामा दुई अर्ब ११ करोडले घाटामा रहेको समग्र शोधनान्तर स्थिति यो वर्ष तीन अर्ब २९ करोडले घाटामा छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७४ असारको १० खर्ब ७९ अर्ब ५२ करोडमा ०.१ प्रतिशतले कमी आई साउनमा १० खर्ब ७८ अर्ब ८४ करोड रहेको छ ।
साउनमा नगद प्रवाहमा आधारित सरकारी बजेट ७४ अर्ब एक करोडले बचतमा छ । अघिल्लो वर्ष साउनमा यस्तो बचत ५२ अर्ब चार करोड थियो ।
यो अवधिमा कुल सरकारी खर्च १८ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो खर्च दुई अर्ब ३१ करोड थियो । साउनमा सरकारी राजस्व संकलन ११.५ प्रतिशतले वृद्धि भई ४५ अर्ब ७९ करोड पुगेकोे छ । गत वर्ष यस्तो राजस्व ३६ प्रतिशतले वृद्धि भई ४१ अर्ब सात करोड पुगेको थियो । साउनमा राजस्व संकलन लक्ष्यभन्दा कम छ ।

प्रकाशित: ८ आश्विन २०७४ ०६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App