७ वैशाख २०८१ शुक्रबार
अन्य

बुटिकको बढ्दो आकर्षण

पछिल्लो समय बुटिकमा किनमेल गर्नेको संख्या बढेको छ । बुटिकमा विशेष किसिमका डिजाइन पहिरन पाइने आशामा फेसनप्रति चनाखो पुस्ताले बुटिकमा आँखा लगाउन थालेको छ । चाडपर्व तथा बिहेको याममा यस्ता बुटिक बढी व्यस्त देखिन्छन् । काठमाडौँको दरबारमार्ग, ललितपुरको कुपण्डोल लगायतका स्थानमा यस्ता बुटिक ह्वात्तै बढेका छन् । त्यसो त स–सानो लगानीमा अन्यत्र पनि बुटिक खुल्ने क्रम जारी छ ।

निभा फेशन
कुपण्डोल
१२ वर्षअघि कुपण्डोलमा खुलेको निभा फेसनमा कुर्ता पिस, साडी, कुर्ती, ब्लाउज पाइन्छन् । यहाँ बच्चाका लुगा पनि बनाइन्छन् । रेडिमेड र डिजाइन दुवै किसिमका लुगाको मूल्य एक हजारदेखि चालिस हजार रुपैयाँसम्मका छन् । अर्डर अनुसारका लुगा बनाइने यहाँ विविध चाडपर्वमा २० प्रतिशतसम्मको डिस्काउन्ट अफर दिएको छ । निभा बुटिक गएको तीजमा राम्रो व्यापार गरेको थियो । पाकिस्तानी सरारा सेट कुर्ता र लेहेँगाको माग पछिल्लो समय बढिरहेको निभा फेसनकी काजोल न्यौपानेको भनाइ छ ।
उनका अनुसार चाडपर्वमा बढी साडीहरु जाने गर्छन् । लगाउन सजिलो हुने भएकाले पछिल्लो समय महिलाहरुले कुर्ती रुचाइरहेका छन् । ‘अहिले ग्राहकहरुले भरेका लुगाभन्दा सिम्पल नै बढी मन पराइरहेका छन्,’ न्यौपाने भन्छिन्, ‘अहिले चलेका फेसनहरुमा कटनका कुर्तीहरु धेरै छ ।’ अहिले बुटिकको बिजनेस ठीकै रहेको उनको भनाइ छ । ग्राहकहरुले धेरैजसो जर्जट, चिकन वर्क भएको र धागोले बुनेका कुर्तीहरु बढी खोज्ने गरेका छन् । यस्ता कुर्ती सिम्पल र स्ट्यान्डर्ड देखिने उनको भनाइ छ ।   
समयअनुसार ग्राहकको रोजाइ फरक हुने उनको बुझाइ छ । गत वर्ष सर्वसाधारणको रुचि अनारकली कुर्ताको थियो । यस वर्ष भने लामो डिजाइनका सिधा खालको पाकिस्तानी सरारा कुर्ताको फेसन र माग बढ्दो छ । यस्ता कुर्ताको मूल्य ३ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म पर्ने गर्छ । अहिले बजारमा विभिन्न किसिमका साडी र लेहेंगाहरु पनि आएका छन् । बजारमा जर्जेट, नेट, भेल्भेट तथा फ्रेन्च सिफनका भरेका साडीको माग बढिरहेको छ । विभिन्न डिजाइनका विशेषगरी रातोमा हरियो, पहेँलो, नीलो रङ मिसाइएका साडीहरु बजारमा पाइन्छन् । तीज, दसैँ र तिहारका लागि भनेर ५ हजारदेखि ४० हजार रुपैयाँसम्मका साडीहरु तयार पारिएका छन् ।
तीज अघि र सकिएलगत्तै दसैं र तिहार लक्षित गरेर काठमाडौँका बजारमा नयाँ डिजाइनका साडी, लेहेँगा तथा कुर्ता भित्रिएका छन् । बजारमा अहिले लेहेँगाको आकर्षण र माग पनि अत्यधिक रहेको व्यापारीहरु बताउँछन् । पत्थर, धागो र जडीहरुले कुँदिएका भेल्भेट, जर्जेट र नेटका १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने लेहेँगाहरु तीज, दसैँ र तिहारका लागि बुटिकहरुमा तयार पारिएका छन् । अहिले बजारमा कटन कुर्ती विद इस्टकोट पनि धेरै चलेको छ ।

विभा बुटिक
कुपण्डोल
आधा दसकअघि कुपण्डोलमै स्थापित विभा बुटिकमा विशेष गरेर डिजाइजर साडी, लेहेँगा, अम्रेला, कुर्ता सलवार तथा गाउनहरु पनि बनाइन्छ ।
यस बुटिककी डिजाइनर सुनिता सुनवारका अनुसार यसपालिको दसैँ र तिहारलाई फोकस गरेर डिजाइनर साडी र लेहेँगा बनाइएको छ । विभा बुटिकले आपूmलाई चाहिने कच्चा पदार्थ इन्डियाको दिल्लीबाट ल्याउने गर्छ । यसपालिको दसैँमा धेरैजसो ग्राहकहरुले साडी र लेहेँगाको माग गरेको सुनवारले बताइन् । आफूहरुले अर्डरअनुसारका र रेडिमेड तयार गरिने सुनिता बताउँछिन् । यस बुटिकमा १६ हजारदेखि एक लाख रुपैयाँसम्मका पहिरन तयार पारिने उनको कथन छ ।
बिहे, पार्टी, चाडपर्वमा लगाइने विभिन्न किसिमका पहिरन मात्र होइन सिजनल पनि डिजाइन गरिने विभा बुटिकले तीजमा सामान्य व्यापार गरेको सुनिताले बताइन् । दसैँ–तिहार लगायतका चाडपर्वमा ५० प्रतिशतसम्मको सेल पनि राख्ने गरेको उनको भनाइ छ । ‘अचेल ग्राहकहरुले धेरैजसो कम भरेको, हल्का र सिम्पल लुगाहरु नै खोज्ने गर्छन्,’ सुनिता भन्छिन्, ‘धेरैजसो ग्राहकले हल्का रङको लुगामा, हल्का काम गरेको मन पराइरहेका छन् । एक समय ग्राहकहरुले धेरै बुनेको र काम धेरै भएको कपडाहरु खोज्ने गर्थे तर अहिले यस्तो चलन बिस्तारै कम भइरहेको छ ।’
अहिले दसैँको लागि जर्जटका साडीहरु विभिन्न खालका डिजाइनमा धेरै आएका छन् । साडीहरु मध्येमा पनि सादा किसिमका साडीहरुको माग धेरै छ । साडी सिम्पल आए पनि ब्लाउजहरु भने हेभी र धेरै भरेको आइरहेको सुनिताको अनुभव छ । ‘पहिले हेवी ब्लाउजहरुको फेसन थियो, बीचमा हराएको थियो भने अहिले पुनः त्यसको क्रेज फर्केर आएको छ,’ सुनिता भन्छिन्, ‘सिम्पल साडी र हेभी ब्लाउजको मिश्रण धेरै राम्रो हुन्छ । यसले महिलाहरुलाई नयाँ लुक दिने गर्छ ।’
चाडपर्वमा विशेष गरेर रातो, हरियो, पहेँलो रङका लुगाको माग धेरै हुने, यस्तो बेलामा ट्रेडिसनल र मोर्डन दुवैको मिश्रण भएको लुगाहरु लगाउन रुचाउने सुनिताको अनुभव छ । काठमाडौँमा बुटिकहरुबीच चर्को प्रतिस्पर्धा भएका कारण व्यापार सन्तोषजनक मात्र रहेको उनको भनाइ छ ।
क्यास क्रियटिभ एन्ड स्टाइल हाउस
कुपण्डोल
क्यास क्रिएटिभ एन्ड स्टाइल हाउसको स्थापना ४ वर्ष पहिले भएको हो । यस बुटिकले अनारकली गाउन र लेहेँगा लगायतका पहिरन डिजाइन तथा निर्माण गर्छ । यस बुटिकले विशेष गरेर मध्यम वर्गीय परिवारलाई लक्षित गरी पहिरन बनाइरहेको छ । यस बुटिककी प्रमुख संगीता खड्काले ग्राहकको माग र मूल्य अनुसार पहिरन तयार पारिने बताइन् ।
‘हाम्रो स्पेसलाइजेसन भन्नु नै दुलहीका पहिरन बनाउनु हो,’ संगीताले भनिन्, ‘हिन्दु तथा क्रिस्चियन दुलहीलाई कसरी बढीभन्दा बढी सिंगार्न सकिन्छ भन्ने हाम्रो ध्याउन्न छ ।’ विविध रेन्ज र स्टाइलका पहिरन निर्माण यहाँ गरिने भए पनि गाउन, वन पिस, सरल तथा सिल्कका पहिरन निकै चलेको संगीता बताउँछिन् ।
उनका अनुसार तीजमा धेरै हरियो र रातो रङको लुगाको माग बढी थियो । दसैँ–तिहार लगायत अन्य चाड पर्वमा हल्का रङहरु पहेँलो, पिङ्क, पिच, नीलोको माग बढ्ने भएकाले त्यस्तैमा काम भइरहेको संगीता बताउँछिन् । यसपालि लेहेँगाको माग पनि उत्तिकै रहेको उनले देखेकी छन् । ‘अहिले लेहेँगाभन्दा लेहेँगासँगै आउटरको पनि माग बढिरहेको छ,’ उनी भन्छिन्, ‘पहिले ग्राहकहरु धेरै ब्राइट रङ र हेभी बोर्डर भएका लेहेँगाको माग गर्थे भने अचेल लाइट र कम बोर्डर भएका लेहेँगा रुचाइरहेका छन् ।’
प्रतिस्पर्धा चर्को रुपमा बढेका कारण अहिले बुटिकको बिजनेस त्यति धेरै नचलेको उनको भनाइ छ । ‘एक दुई वर्षअघि बुटिकको बिजनेसमा फाइदा थियो,’ संगीता भन्छिन्, ‘अहिले टेलरिङमा बढी खर्च हुनाले बल्लतल्ल लगानी उठ्छ ।’
सामान्य ठाउँमा पहिरन किन्नु र बुटिकमा किन्नु धेरै फरक हुने उनी बताउँछिन् । ‘बुटिकको फिनिसिङ राम्रो हुन्छ,’ संगीताको दाबी छ, ‘त्यसैले ग्राहकले आफ्ना लुगा बुटिकमा बनाउँदा राम्रो हुन्छ । बुटिकमा बनाइएका लुगा बलियो र टिकाउ हुन्छ ।’

जूनकीरी बुटिक
कुपण्डोल
जूनकीरी बुटिकको स्थापना तीन वर्ष पहिले ललितपुरको कुपण्डोलमा भएको हो । यो बुटिक अन्य बुटिकभन्दा फरक देखियो किनभने यहाँ बालबालिकाका लुगा मात्र बन्ने गर्छ । बच्चाका लागि आवश्यक हरेक लुगा बनाइने हुनाले पनि धेरैले जूनकीरीलाई नै सम्झने सञ्चालिका विमला महर्जन बताउँछिन् ।
‘यहाँ बच्चाका लागि विभिन्न फ्रक, गाउन, लेहेँगा, कुर्ता बन्छ,’ विमला भन्छिन्, ‘अहिले बच्चाहरु कार्टुन क्यारेक्टरले लगाउने लुगाको माग गर्छन् । खासगरी सिन्ड्रेला, बेला, एलिस लगायतले लगाउने लुगाको डिजाइनमा बच्चाहरुले खोज्ने गरेको उनी बताउँछिन् । २५ सय देखि लिएर आठ हजार रुपैयाँसम्म त्यस्ता पहिरन यहाँ पाइने विमलाको भनाइ छ । बच्चाहरुका लागि पार्टी वेयर मात्र नबनाई माग अनुसारका जस्ता लुगा पनि तयार पारिने उनले बताइन् ।
जूनकीरी बुटिककी विमला भन्छिन्, ‘पहिलेका बच्चा बुबाआमाले जस्तो लुगा ल्याइदिए पनि लगाउँथे । अहिले समय परिवर्तन भइसक्यो । बच्चाहरु पनि परिवर्तन भइसके । उनीहरुलाई पनि रोजीछाडी पहिरन चाहिन थालेको छ । स्टाइलिस्टले बनाएका पहिरन खोज्ने गरेका छन् ।’
चाडपर्वका बेला राम्रै व्यापार हुने गरेको अनुभव बताउँदै विमला भन्छिन्, ‘तीजको बिजनेस ठीकै भयो र दसैँ÷तिहार, छठसम्म पनि राम्रो बिजनेस हुने अपेक्षा छ ।’
अहिलेका बालबालिकाले आफ्ना साथीभन्दा भिन्न र राम्रो लुगा लगाउन खोजिरहेका र खासगरी कलरफुल लुगा रुचाउने विमला बताउँछिन् । ‘उनीहरुले विशेष गरेर रातो, पहेँलो, गुलाफी, सेतो रङका लुगा लगाउन मन पराउँछन्,’ उनले भनिन्, ‘यसपालि फ्रक, गाउन, लेगिज र कुर्तीको माग बढिरहेको छ । अचेल बरु ठूला मान्छे तथा अभिभावकले सिम्पल लुगा लगाइरहेका छन् तर बच्चाहरुले भने फेन्सी लुगा लगाउन मन पराइरहेका छन् ।’  
यस बुटिकले आफ्नो ग्राहकका लागि भनेर चाडपर्वमा ५० प्रतिशतसम्मको डिस्काउन्ट दिने गरेको छ ।

लाइक्रा फेसन बुटिक
कुपण्डोल
‘खाने आफ्ना लागि तर लगाउने अरुका लागि’ भन्ने नेपाली आहानलाई लाइक्रा फेसन बुटिक ठ्याक्कै पक्रिएको छ । लाउने कुरामा पछिल्लो समय नेपालीजनले चासो राख्न थालेकाले एक कदम अघि बढेर डिजाइन गर्न रुचाउने लाइक्राले चाडपर्व मात्र होइन, जाडो महिनाका लागि पनि डिजाइन बजारमा ल्याइसकेको छ ।
१४ वर्षअघि स्थापित लाइक्रामा यतिबेला चाडपर्वलाई केन्द्रित गर्दै लेहेँगा, रसेलको कुर्ता, स्ट्रेट प्यान्ट फरक–फरक डिजाइन बजारमा ल्याएको छ । चाडपर्वसँगै जाडो महिना पनि नजिकिदै गएकाले यस्तोमा मानिसहरुले स्मार्ट लुक दिने खालका लुगाहरु लगाउन खोज्छन् ।
लाइक्राका अनुसार, पारम्परिक साडी चाडपर्वका समयमा महिलाहरुले रुचाउने गरेका छन् । अहिले साडी  सिम्पल नै चलेको छ तर ब्लाउज भने बढी इम्ब्रोइडरी गरिएको भेल्भेटको, फूलकारी फेब्रिकको ज्याकेट स्टाइलको ब्लाउज चल्तीमा रहेको छ ।
चाडपर्वका लागि भने लाइक्राले लेहेँगा विद आउटर, क्रप टप लेहेँगा ल्याएको छ । जाडो यामका लागि भने लामो वुलन स्कर्ट, कोट स्टाइलको टप्स, स्टाइलिस्ट नेक भएको लामो कुर्ता, वुलन पाइन्ट, लेदर पाइन्ट तथा ज्याकेट, लियोनार्दाे प्रिन्ट ज्याकेट तथा लङ कोटहरू पनि ल्याउने तयारीमा छ । अफिसियल वर्कका लागि निलेन्थ वुलन स्कर्ट, स्टकिङ, लङ बुट, लङ कोट तथा स्कार्फ पनि फेसनमा छ । कुर्ता लगाउनेहरूका लागि वुलन, भेल्भेट तथा फूलकारीका लामा कुर्ता फेसनमा छन् । पाइन्ट स्टाइलको वुलन सुरुवालसँग लगाउँदा यो स्टाइलिस्ट देखिने लाइक्राको दाबी छ ।
गर्मीमा धेरैले हल्का रङको पहिरन लगाउँछन् भने जाडोमा गाढा रङको छनोट गर्छन् । यस समय कलरफूल पहिरन लगाई आकर्षक देखिन सकिन्छ । कालो, रातो, ग्रे, ब्राउन, डार्क ब्लु क्ले ब्राउन,  डस्की सेडर, डार्क ग्रिन,  एरी ब्लु, ब्राइट रिच पर्पल रङका लुगाहरु लगाउने गर्छन् । यस समय एउटै कलरका भन्दा चेक पाइन्ट, लाइनिङ स्वेटर, प्रिन्टेड ज्याकेटजस्ता मिक्स एन्ड म्याच प्रिन्टयुक्त पहिरनहरुको माग धेरै हुन्छ ।
प्रस्तुतिः सुस्मिता लाल

प्रकाशित: ८ आश्विन २०७४ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App