coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ढुंगैढुंगाको गाउँसम्म

सगुन सुसारा
यात्रा थाल्नु थियो । समय घर्किदै गइरहेको थियो । साथीहरुको अत्तोपत्तो छैन । श्याम भाइलाई हिजै (२०७३ जेठ ६) नै गाडीको टिकट भन्न लगाएकाले ढुक्क थिएँ । खासमा उभौली पर्व मनाउने योजना थियो साविक सिदिन गाविसको वडा नं. १ छिरुवामा । पहिला पहिला किराया जिल्ला, प्राकासमा मनाउने गर्थेँ । यो एउटा अर्को योजना पनि हो । साथमा भगिराज भाइले म्युजिक भिडियो बनाउने भनेपछि मलाई झन् कस्तो–कस्तो लाग्न थालेको थियो । उता आयोजकका भाइ राजकुमार झन् उत्साहित भएको थियो । बारम्बार फोन गरेर के हुँदैछ भनेर जानकारी लिइरहन्थ्यो । म्युजिक भिडियोका लागि भाइ भगिले मलाई कलाकार छनोटको जिम्मा पनि दिएको थियो । एक दुई जना भाइ, बहिनीहरुलाई फोन सम्पर्क पनि गरेँ । तर सकारात्मक जवाफ नपाएपछि भाइलाई नै त्यो जिम्मा फिर्ता गरेँ । खासमा यो मामलामा म जानकार पनि थिइनँ । सायद भाइले मलाई जुवा (सिक्ने मौका) भिराउन खोजेको जस्तो पनि लाग्यो ।
तीन बजे सिदिन जाने गाडी पाइन्छ भनेर अघिदेखि नै थाहा भएकाले हाम्रा योजनाहरु त्यसरी नै बनेका थिए । भगि भाइसँग केही कामहरु सँगै गर्ने योजना छ, यो ७२/७३ सालमा । तर कसो कसो ‘केमेस्ट्री’ मिलिराखेको छैन । यस्तै भो यस पटक पनि । म्युजिक भिडियोका लागि मुख्य पात्रको रुपमा राजु भाइ र समीक्षा भाञ्जीलाई मैले नै सिफारिस गरेको हुँ । भाइ (भगि) ले सहर्ष स्वीकार गर्यो । राजु भाइलाई त मैले नै पहिलो प्रस्ताव गरेँ । भाइले पनि सकारात्मक जवाफ दिएपछि समीक्षाका लागि भगि भाइलाई भन्न भनेको, सकारात्मक भइछिन् । जिल्लाबाहिर रहेकीले उनलाई ल्याउन निकै सकस भयो । खासमा व्यवस्थापनको कमजोरीले यसो भएको हो । भाइ (भगि) सँग यो सधैँ रहन्छ ।
सबै जना फिदिममा जम्मा भइ सक्यौँ तर समस्या रह्यो निर्माताको । निर्माताको ‘एटिएम’ बिग्रेछ, साथीभाइका कारणले । ओ हो ! कस्तो फसाद ? तीन बजिसक्यो निर्माता तथा निर्देशक (भगि) को हातमा शून्य छ भन्छ । आयोजक राजकुमार भाइ फोन गरेको गरेकै । कति जना आउने ? कतिखेर हिँड्दै हुनुहुन्छ ? अब साथीहरुले धोका दिने भए भन्ने लाग्दै थियो । साथीहरु नगए पनि श्याम भाइ र म भने जसरी पनि जाने सल्लाह भयो । साथमा राजेन्द्र वाम्बुले पनि जाने कुरा थियो भाइलाई पनि फोन गरेको आउन त आयो तर नजाने पो भन्छ । के भयो कुन्नी हिजो घरबाट वास्तवमा सिदिन जानकै लागि आएको हो । अचानक हामी छुट्टियौं । कुनै बेला यस्तो हुन्छ भन्ने मानेँ । राजु भाइ पनि आउन त आयो झोला नै नबोकी । अब केटाहरु नजानै रै’छ भन्ने लाग्यो । तर भाइलाई लु जाने भए झोला लिएर आऊ भनेपछि पो झोला लिन कोठा गयो ।
भगि भाइसँग फेसबुकमा गफ हुँदैछ ‘साथीले धोका दियो ।’ मन अमिलो भयो । अब छिरुवामा के भन्ने ? तै पनि केटा (भगि) ले हरेस खाको कुरा गर्दैन । पख्नु न म प्रयास गर्दैछु । समय साढे तीन भैसक्यो । अन्तिममा मैले फेसबुकमा म्यासेज छाडे एक दुई तीन, छिटो हिन ।’ अनि पो ऊ तातियो क्यो हो । अरु सबै काउन्टरमा भेला भइसक्यौँ । गाडी त गयो भन्छ काउन्टरमा । श्याम भाइलाई फोन गर्न लाको गाडी छ भन्छ । पर्खन लायौं । केटो (भगि) बल्ल चार बजेतिर हल्लिदै आयो । गाडीलाई बोलाको त सिटै छैन । पछाडि भारी नै भारी छ । बल्ल खलासीले एकातिरको सिटको भारी मिलाई दियो र बस्न पायौं । समीक्षालाई अगाडि राख्यौं र म, भगि (निर्माता÷निर्देशक), डिकेश (क्यामरापर्सन), श्याम डालीमा र राजु (नायक) हुटमा लाग्यौं । पानी उस्तै परेको त्यसको मूत ! बाटो कच्ची, खाल्डा र खुल्डी । पछाडि बसाई कम्ता मजा भो र ! कहिले टाउको ठोकिन्छ, कहिले पल्लो कुना पुगिन्छ, कहिले अर्को कुना, काँध जोतिएको उस्तै ।
इम्सावा साढे आठतिर पुगियो । श्याम भाइले त्यतै बस्ने भनेपछि लागियो फूलबारीतिर । त्यहाँ एउटा कुखुरा काट्न लायौँ फोनबाटै किनभने पुग्दा निकै समय बितिसक्ने देखियो । हामी पुग्दा साँच्चै कुखुराको मासु पाक्दै थियो डम्बर भाइकोमा । उम्माक बनाउन लायौं । आहा उम्माक त कति मिठो ! दुई बाल्टिन मात्र चार भाइले सक्यौं । त्यतिले मात्र गाडीको थकान अलि अलि आराम भयो । खाना खाएर हामी तीन भाइ श्याम, राजु र म श्यामको घरतिर सुत्न लाग्यौं र अरु तीन त्यहीँ सुते । बिहान अलि छिट्टै ब्युँझिएँ । चिया सिया खाएर हामी बाटो लाग्यौं । श्याम भाइले ४५ मिनेट भनेको बाटो तन्किएको तन्किएकै गर्छ । एक घण्टा सकियो बाटो आधा हुँदैन । घामले पोल्न थालेको उस्तै ! पहिला पनि हिँडेकोले बाटो यत्ति छ भन्ने थाहा थियो मलाई र श्यामलाई । अरु भने पहिलो पटक भएकाले निकै सकस परेको थियो । डिकेस भाइ त म भन्दा समस्यामा पो थियो ।
साढे दसतिर पुगियो छिरुवा अर्थात कार्यक्रम स्थल । धेरै साथीहरु काममा व्यस्त थिए । राजकुमार भाइसँग भेट भो । कार्यक्रमको बारेमा जानकारी दिनु भो । खाना खाएपछि कार्यक्रम अलि ढिलो सुरु भो । साकेलाको प्रदर्शनी हुँदै गर्दा हामीले केही ‘क्लिप’ लिनु थियो, त्यो लिँदै गर्दा केही व्यवधान पुग्न गयो । साकेला प्रतियोगितामा एक टोली मात्र सहभागी रहेछ । आयोजकको तीन टोली रहेछ अप्रतियोगी । अन्य कार्यक्रम पनि थियो तालेक हान्ने, बिनायो र मुर्चुङ्गा बजाउने प्रतियोगिता । कार्यक्रमको बीचमा पानी परेर केहीबेर कार्यक्रम रोकियो । निकै साँझमा मात्र कार्यक्रम सकियो । राजकुमारको परिवारले किराती चियाको व्यवस्था गरेकाले र गलेकाले निकै चापियो । खाना खान छिरुवाढुंगामुनि सुवासजीकोमा व्यवस्था रहेछ । यताको एउटा विशेषता छ, प्रत्येक घरमा किराती चियाको जोहो हुन्छ । हामी नाथेलाई चाहिएको फेरि त्यही, कम मिलेको हो र ? डिकेस भाइलाई अलि स्वास्थ्यमा गडबढी भइरहेको थियो । बेलुका समीक्षालाई झानेको ल्याउन लगाएपछि पो मजा भो ! निद्रा पनि लाग्यो, स्वास्थ्य पनि सुध्रियो ।
नौ गते बिहानको खाना खान रमेश/कुसुमको निम्तो थियो । भगिजीको ज्वाइँ ÷छोरी, मेरो भान्जा÷बुहारी । बिहान उठ्दा केही ढिलो भएको कारण चिया लिँदा झन् हामी ढिला भयौं । निम्तो आयो, प्रदिपजीको । घरघरमा चिया खाँदा त झन बेलाले डाँडा निकै काट्यो । र पनि सञ्जयजीलाई केही कलाकार उपस्थित गराउन भनेकाले सुटिङका लागि केही सहज भएको थियो । सबै भेला हुन केही समय लाग्यो । हामीसँग लाइट नभएकाले घाम चर्केपछि सुटिङ गर्न निकै गार्हो भो । समय निकै बितिसकेको थियो । भोक पनि निकै लागिरहेको थियो । सुटिङ पनि गर्नु थियो । मैले ‘प्याकअप’ गर्न लागेको, निर्देशक नै मान्दैन । सञ्जय भाइले पनि भन्यो ‘केको भोक लाग्नु ? धेरैलाई यहाँ रहर छ ।’ यसको मतलब सबैलाई काँचको पर्दामा देखिने रहर छ भन्ने थियो । फेरि राजकुमार÷मनिषाले चियाको व्यवस्था गरेकाले अलिकति पेट भर्यौं । निकै तागत आयो । उकालो तालखर्कतिर लाग्दै गरेको मिलन दाइले बाटोमा भेटेर हैरान पारे मेरोमा कसरी चिया नखाई जाने भनेर । खेताला जाँदै गरेको पनि फर्केर आए । बजायौं त्यहाँ पनि खाने जतिले । सिस्नेटार पुगेर केही ‘सट’ लियौँ । हामी पुगेर स्थल अवलोकन के गर्दै थियौँ, राजकुमार भाइ त च्याउ टिपेर पनि आइपुगे । रोपी राखे जस्तो । त्यहाँ केही सट लियौँ र लाग्यौँ बाटो । बाटोमै रबिना बहिनीको घर छ । उनले पनि कम्ता ढिपी गरेको होइन चिया खान । भरै फर्कंदा भनेर बल्लबल्ल टार्यौँ । अनि पुग्यौँ रमेश÷कुसुमको घर । खाना खाइयो, चिया खाइयो । रमेशजी त्यहाँको निमाविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुँदोरहेछ र मिटिङतिर लाग्नु भो । हामी भने आहालेतिर उक्लियौँ । त्यहाँको चौरमा पनि निकै सटहरु लियौँ । जितेन भाइको गोठ रहेछ त्यहाँ । आराखा ल्याएर दियो । कम्ता मिठो होइन आराखा । डिकेस भाइको गिलास लडाइदिएछु अन्जानमा, कलाकारलाई केही कुरा निर्देशन गर्दा । भाइले कम्ति ‘छुक’ मानेको होइन । अनि झर्यौं रबिना बहिनीकोतिर । उनकोमा नबसेदेखि नै हामीलाई पछ्याइरहेकी थिइन् । उनका पापा हिजैदेखि हामीसँगै हुनुहुन्छ, दाजु चन्द्रकुमार पनि । ओहो ‘टिपिकल’ घर एउटा यस्तै घर चाहिएको कुरा भगिले गर्यो । तर मौसमको कारण खिच्न सकेनौँ । रबिनाले पनि उही किराती चिया दिई । नथपुँ भनेको मान्दै मानिन र भनेँ ‘मेरो माया सय तिम्रो माया निनान्सय ।’ पछि मुहारकिताबमा पनि यस्तै लेखेँ । यहाँबाट भने केही कलाकार साथीहरुसँग छुट्टियौँ । फेरि लाग्यौँ छिरुवातिर ।
बेलुकाको खानाका लागि बिपरानेमा (नाना) को निम्तो थियो । राजकुमार भाइले टिपेको च्याउ त नखाइ जानै नदिने भो । च्याउ र चिया खाएर लाग्यौँ नानाकोतिर । समीक्षा भान्जी घर नगइ नसक्ने भएपछि हामीलाई छाडिन । नानाको घरमा पुग्दा निकै अँध्यारो भइसकेको थियो । सुरुमा आराखा र बाक्सा आयो । आराखा त ठूलो गिलासको भरी । म आत्तिएँ । राजुभाइसँग आधा आधा खायौँ । खानापछि पुनः आयो आराखा । गफ चल्न थाल्यो । त्यसपछि त आराखा बाँड्नै मन लागेन । दुई गिलास त सिनित्तै बनाएपछि मात्र सुत्न गइयो । आफैँलाई लाज लाग्यो भोलिपल्ट । कत्रो पिएको भनेर ! यो गाउँमा खाबाट र सा चाहिँ अनिवार्यजस्तै हुन्छ । एक घरमा जेको सा छ अर्कोको घरमा पनि त्यही हुन्छ । बिहानै फेरि नाना भेनाले खाजा बनाउनु भएछ । थुक्पा र उम्मा । आजदेखि राजु भाइले पनि साथ दिन थालेको छ । भेना अलि कम कान सुन्नु हुँदोरहेछ । नाना भेनाको कहिलेकाहीँ त्यसैले ठाकठाक–ठुकठुक पर्दोरहेछ । दुई पल्ट भो यता आको भान्जी कवितालाई कहिल्यै भेट भएन । नाना भेनासँगको चिनजान भनेको नै भान्जीमार्फत् भा’को हो । सुकराजजीकोमा जानुपर्ने निम्तो आयो । जीतेन भाइ त्यहाँ धन्दा गर्न सघाउँदैछ । कसो–कसो कुरा उक्यायो भाइले ‘यो अभागीको कर्मै यस्तो रहेछ ।’ भगिराज र डिकेस छक्क पर्छन् । जता गयो उतै जीतेन भाइ धन्दा गर्न आइपुग्छ ।
बिहानको खाना खान अन्जना भान्जीले बोलाएको कुरा राजकुमार भाइले सुनाएपछि झन् गम खाइयो । फोन गरेको गरेकै छ भनेपछि नगई भएन । नानासँग चिनजान भयो । अरु पाकाहरु आए । किन हो कुन्नी, म त्यता गएपछि पाकाहरु निकै झुम्मिन्छन् । आँखा नदेख्ने सुखेपाका कुराहरु खुब सुन्न मन थियो । समय कम थियो । उहाँले घुमेको, भोगेको कथाहरु सुन्न मन थियो । तथापि छोटो भेटमा थुप्रै कुरा गर्यौँ । धेरै सिक्ने मौका पाएँ । उता राजकुमार भाइको पापा त झन् म आउने थाहा पाएर गोठ छोडेर नै दुई रात आउनु भयो । तर पहिलाको जस्तो भाषाको, संस्कृतिको कुरा गर्न समय मिलेन । मलाई थकथक लागेको छ । उता उनको डेवा पनि मसँग केही कुरा गर्न चाहनु हुन्थ्यो, त्यो पूरा भएन । म यति सानोले के जानेको हुँला र ? तैपनि यी पाकाहरु मलाई महान् सम्झन्छन् । महान् त उहाँहरु हो, भाइ राजकुमारलाई भन्ने गरेको छु । खाना खाएर, चिया पिएर निकैबेर गफ गरियो, सुखेपा, गणेशबहादुर म र नाना लगायत सञ्जय, जीतेन भाइ । अनि बाटो लाग्यौँ तर गणेश दाइले पनि उहाँकोमा चिया नखाई जान नदिने भन्न थाल्नु भयो । फेरि त्यहाँ पिउन थालियो । कुरै कुरामा उहाँले भन्नुभयो, ‘यो गाउँ हो । साथीभाइले दिएको पिउँ । यो सित्तैमा पनि हो । उनीहरुको मन पनि रहन्छ तर अलि पर गएर लु आइज खाउँ नभनुँ । हाम्रो यो बानी साह्रै नराम्रो छ । पैसा तिरितिरी पो खान्छौँ त ।’ हामी तीन जना (म, भगि, डिकेस) अवाक भयौँ । अनि डिकेस भाइले पनि थप्यो, ‘यो छिरुवा छिर्न गाह्रो र छिरिसकेपछि निस्केर जान झन् गाह्रो र’छ ।’ खासमा यहाँको चलन के रहेछ भने कसैको घरमा पाहुना आयो, त्यो गाउँकै पाहुना हुँदोरहेछ । अनि त निस्केर जान कम गाह्रो हुन्छ ।
जीतेन भाइले उसकोमा पनि छिरेर जाने आग्रह गरेपछि झर्यौँ उसको घरमा । भाइले आराखा पो लिएर आयो, सिक्किमे पनि देखायो । हामी लोकलमै रमायौँ । आम्मै, लडुवाको र’छ, कम्ता मजाको । भाइले एक्लो भएको कुरा पनि ग¥यो । अब जोडी खोज्ने कुरा पनि हामीले भन्यौँ । आहा भाइहरु त तल ओगेम्बा पो झर्ने रहेछन् । अनि बाटो लाग्यौँ । यो छिरुवाको सबैभन्दा पहिचानको रुपमा रहेको यहाँ भएको ढुंगाहरु हुन् । यहाँको ढुंगाको हरेक नाम छ । जस्तैः— छिरुवालुङ, हाँगेलुङ, खालालुङ, जोरलुङ, डल्लेलुङ, कोलालुङ, चुच्चेलुङ, किवालुङ, प्रसादेलुङ, युङखालुङ, धारेलुङ, बनझाक्रीलुङ, इरुङलुङ, छानलुङ । यही ढुंगाहरुमा यहाँको जनजीवन, संस्कृति, परम्परा गाँसिएको छ । त्यसैले लुङ सेवा, छिरुवाबासी सेवा, तपाईंहरुको मायालाई सेवा ।

प्रकाशित: ८ आश्विन २०७४ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App