coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरम लोकतान्त्रिकमा मन्त्री फेर्न दबाब

काठमाडौं- फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ । फोरम लोकतान्त्रिकको शनिबार र आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको प्रस्तुति राम्रो नरहेको भन्दै उनीहरुलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनुपर्ने सुझाव राखेका थिए ।  
पार्टीबाट सरकारमा २ मन्त्री र ३ राज्यमन्त्री सहभागी छन् । मन्त्रीको कार्यशैली चित्तबुभ्mदो नभएको र पार्टीलाई उल्टै घाटा भएको आरोप नेताहरुको छ ।
बैठकमा सबैभन्दा बढी पर्यटनमन्त्री जितेन्द्र देव र भूमिसुधारमन्त्री गोपाल दहितको आलोचनो भएको थियो । देवको गृहजिल्ला सप्तरीमै  पार्टीले शून्य परिणाम ल्याएपछि नेताहरु उनीमाथि खनिएका थिए ।
पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूले पार्टीलाई फाइदा पुग्ने कामभन्दा पनि आफूलाई फाइदा पुग्ने काम गरेको गुनासो नेताहरूले गरेका छन् ।
पार्टीका उपाध्यक्ष रामजनम चौधरीले  पार्टीबाट प्रतिनिधित्व गरेका ६ मन्त्रीमध्ये अध्यक्ष विजय गच्छदारबाहेक पाँच मन्त्रीलाई फेर्ने सहमति पार्टी सरकारमा जाने बेलैमा भएको भन्दै दसैंपछि उक्त सहमति कार्यान्वयन हुने बताए । ‘पार्टीबाट प्रतिनिधित्व गरेका ६ मन्त्रीमध्ये अध्यक्षबाहेक ५ मन्त्रीलाई पर्ने निर्णय यसअघि नै भइसकेको थियो । दसैंपछि निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।
सांसद पवनकुमार सारडाले पदाधिकारी बैठकमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको बताए । ‘पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कार्यशैली ठिक भएन । उनीहरूलाई फेर्नुपर्छ भन्ने कुरा बैठकभित्र उठ्यो,’ बैठकमा सहभागी सारडाले भने । पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई फेर्ने नफेर्ने अधिकार बैठकले पार्टी अध्यक्षलाई दिएको छ । ‘निर्णय गर्ने जिम्मेवारी अब अध्यक्षको हातमा छ,’ उनले भने ।
स्रोतका अनुसार पदाधिकारी बैठकमा रामजनम चौधरी, योगेन्द्र चौधरी, सारडा, मुस्ताक आालमलगायतले मन्त्रीहरू फेर्नुपर्ने  माग गरेका थिए । आलमले भने, ‘पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई फेर्नुपर्छ भन्ने माग बैठकभित्र उठेको छ । के निर्णय हुन्छ, त्यो हेर्न बाँकी छ,’ उनले भने । सरकारमा फोरम लोकतान्त्रिकबाट देव, दहित र तीन राज्यमन्त्री जनकराम चौधरी, सुमित्रा थरूनी र यशोदा लामा छन् ।

प्रकाशित: ९ आश्विन २०७४ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App