८ वैशाख २०८१ शनिबार
कला

नेवारी सिर्जनालाई ‘पिपल्स च्वाइस अवार्ड’

काठमाडौं- पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेस्रो संस्करण आइतबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्युजिक भिडियो र चलचित्रहरू बीच उत्कृष्टलाई आइतबार आयोजित समारोहबीच पुरस्कृत गरिएको हो ।
कार्यक्रममा नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका संगीतकर्मी विष्णु जल्मिलाई यस वर्षको ‘पेजथ्री लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । कलाकार जल्मिलाई ‘ई ल्वहं पब्लिकेशन’का संस्थापक धर्मवीर शाक्यले सम्मानपत्र प्रदान गरेका थिए भने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवार्ड प्रदान गरेका थिए ।
कार्यक्रममा संगीत क्षेत्रमा विभिन्न ८ वटा विधा, म्युजिक भिडियो क्षेत्र अन्तर्गत ७ वटा र चलचित्र अन्तर्गत १८ विधाका  उत्कृष्टलाई पुरस्कृत गरिएको हो । नामांकनमा पर्न सफलमध्ये एकलाई अवार्ड प्रदान गर्ने क्रममा संगीत अन्तर्गत उत्कृष्ट गायन महिलातर्फ ‘खालिगु भ्वँतय्’ गीतको लागि दीपा महर्जनले अवार्ड जितिन् भने उत्कृष्ट गायन पुरुषतर्फ ‘भिंगु कर्म यानाः’ गीतबाट सानुबाब्ु महर्जन उत्कृष्ट घोषित भए । उत्कृष्ट संगीत संयोजकको अवार्ड भूपेन्द्र वज्राचार्यले ‘जिगु वैंश धाल’का लागि आफ्नो पोल्टामा पारेका थिए ।  ‘म्हिगः चान्हय्’ गीतको लागि जुगल डंगोलको संगीतलाई उत्कृष्ट घोषणा गरिएको अवार्ड समारोहमा नातिवज्र वज्राचार्यको रचना ‘छंगु माया’ उत्कृष्ट ठहरिएको थियो । उत्कृष्ट युगल गीत तर्फ भने ‘लिक्क च्वनाः’ गीतबाट शिवराज जोशी र रत्नशोभा महर्जनले अवार्ड हात पार्न सफल भए । ‘तुयूतुयू धाःगु’ गीतको लागि विरज महर्जन उत्कृष्ट नव प्रतिभाको रूपमा पुरस्कृत भए । पूर्णकाजी ज्यापुको एल्बम ‘ऋतुया लसं पिज्वःगु सः’उत्कृष्ट ठहरियो ।
म्युजिक भिडियो अन्तर्गत उत्कृष्ट मोडल महिलातर्फ ‘मुसुमुसु न्हिला’बाट रजनी खड्गी, उत्कृष्ट मोडल पुरुषतर्फ ‘छंगु लिक्क’को लागि सुरज व्यन्जनकार, उत्कृष्ट कोरियोग्राफर सुनिता राजभण्डारी (लिक्क च्वनाः), उत्कृष्ट निर्देशन राजन शाही (छंगु लागिं हे जि), उत्कृष्ट छायांकार शैलेश डंगोल (न्ह्यःने मदुसां), उत्कृष्ट सम्पादन बालकृष्ण वंशी (चागः मालाः देगः लूथें), उत्कृष्ट म्युजिक भिडियो रुपेन्द्र श्रेष्ठको मुसुमुसु न्हिलाः छं ले अवार्ड जित्न सफल भयो ।
चलचित्र अन्तर्गत सबैभन्दा बढी अवार्ड ‘तिन तिकः महाःबिकः’ले जित्यो । चलचित्रले उत्कृष्ट चलचित्रको अवार्डको साथै सोहन मानन्धरले उत्कृष्ट दृश्य सम्पादन र उत्कृष्ट छायांकार, सोही चलचित्रको शीर्ष गीतले उत्कृष्ट ओरिजिनल साउन्ड ट्र्याक, उत्कृष्ट कलाकार पुरुष मुख्य भूमिकातर्फ रुपेन्द्र थक्वाः, उत्कृष्ट नवप्रतिभा महिलातर्फ निकी महर्जन, उत्कृष्ट नव कलाकार पुरुषतर्फ योगेन महर्जनले अवार्ड जित्न सफल भए ।
कार्यक्रममा उत्कृष्ट पटकथा सुरेन्द्र तुलाधर (अंश), उत्कृष्ट संवाद आर्यम नकःमि (तुयूमति), अंश चलचित्रबाट राजेन्द्र खड्गीले उत्कृष्ट द्वन्द निर्देशक, उत्कृष्ट बालकलाकार नस्वाः जोशी (थ्व ला ग्यान्पु स्टाइल), उत्कृष्ट कोरियोग्राफर विधामा भुवन श्रेष्ठ (अंश) ले जित्न सफल भए । उत्कृष्ट निर्देशन विधामा आर्यम नकःमि (तुयूमति), उत्कृष्ट महिला कलाकार मुख्य भूमिका भिन्तुना जोशी (मू मदुगु जिन्दगी), उत्कृष्ट पुरुष कलाकार सह भूमिकामा श्यामसु्न्दर शिल्पकार (तिमिला), उत्कृष्ट महिला कलाकार सह भूमिकामा रोजिना सुवाल (थ्व ला ग्यान्पु स्टाइल), उत्कृष्ट हास्य कलाकार सविन शाक्य (तुयूमति), उत्कृष्ट खल कलाकार मानकृष्ण वावा (थ्व ला ग्यान्पु स्टाइल) ले जित्न सफल भएका थिए ।
कार्यक्रममा राजु शाक्य र संगीता खड्गीको भैरवकाली चर्या नृत्य र इन्द्र विनायक क्लबको समूह नृत्य प्रस्तुत गरिएको थियो भने अञ्जन श्रेष्ठले लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित विष्णु जल्मिका गीतलाई प्रस्तुत गरेका थिए । कार्यक्रम नेपालभाषाको पहिलो रंगीन पाक्षिक पत्रिका पेज थ्रीले आयोजना गरेको हो ।

प्रकाशित: ९ आश्विन २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App