coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैँका मुखमा सडकभर फोहोर

स्थानीय तहको लापरबाहीका कारण दसैँका मुखैमा उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित स्थानीय तहले फोहोर व्यवस्थापन नगर्दा मुख्य पर्वकै बेला उपत्यकावासीले सास्ती पाएका छन् । उपत्यकाका मुख्य सहरी क्षेत्रमै केही दिनदेखि फोहोरको डंगुर लागेको छ ।

स्थानीय तहले नियमित फोहोर उठाउन नसक्दा यसको दुर्गन्धले उपत्यकामा महामारी फैलने अवस्था आएको छ । उपत्यकामा तीन दिनदेखि फोहोर उठेको छैन । केही समयअघि पनि उपत्यकामा यस्तै समस्या देखिएको थियो ।

स्थानीय तहले नियमित फोहोर उठाउन नसक्दा यसको दुर्गन्धले उपत्यकामा महामारी फैलने अवस्था आएको छ । उपत्यकामा तीन दिनदेखि फोहोर उठेको छैन । केही समयअघि पनि उपत्यकामा यस्तै समस्या देखिएको थियो ।
‘दसैँका बेला गाउँघरतिर सरसफाइ गरेर चिटिक्क पारिन्छ,  काठमाडौंमा भने दसैँकै बेला फोहोर थुप्रिएको छ,’ आइतबार भद्रकाली मन्दिरनजिक भेटिएका धर्मेन्द्र श्रेष्ठले भने, ‘जताततै  फोहोरको डंगुर र दुर्गन्ध देख्दा राजधानी जस्तो पनि लाग्दैन ।’
फोहोरले स्थानीयवासीको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको कोटेश्वरका शालिकराम भट्टराईले बताए । ‘फोहोरले हैरान भइसक्यौँ,’ उनले भने, ‘यस्तै पारा हो भने महानगरपालिका कार्यालयअगाडि नै फोहोर फाल्नुपर्ने हुन्छ ।’
काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजाल पैसाको चलखेलले नियमित फोहोर उठ्न नसकेको बताउँछन् । ‘फोहोरमा मोहोरको धेरै नै चलखेल भइराखेको छ, त्यसैले बारम्बार अवरोध भएको हो,’ उनले भने, ‘चार दिनदेखि निजी क्षेत्रका पुराना कम्पनीलाई हटाएर नयाँ ल्याउँदा समस्या भएको हो ।’
उनका अनुसार वडा नम्बर १२, १३ र १५ ले पुराना कम्पनीलाई हटाएर नयाँ ल्याउँदा समस्या भएको आरोप लगाए । रिजालले वडा नम्बर १२ अन्तर्गत टेकुमा उपत्यका भरको फोहोर थुपार्न नदिन अवरोध गरिएकाले पनि समस्या थपिएको बताए ।
केही समयअघि नुवाकोटस्थित सिसडोलका स्थानीयवासीले उपत्यकाको फोहोर फाल्न नदिँदा पनि यस्तै समस्या आएको थियो । यसपटक भने उपत्यकाका जनप्रतिनिधिकै विवादका कारण फोहोर व्यवस्थापनमा समस्या देखिएको छ ।
सिसडोल क्षेत्र पर्ने धादिङको धुनीबेसी गाउँपालिका– १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले सिसडोल ल्यान्डफिल्ड साइडका स्थानीयले फोहोर फ्याँक्न अवरोध नगरेको बताए । ‘सिसडोलवासीले दसैँको मुखमा फोहोरमैला फ्याँक्न अवरोध गरेका छैनौँ,’ उनले भने, ‘काठमाडौंमै समस्या भएर फोहोरमैला नउठेको हो, चाडपर्वको मुखमा यहाँका स्थानीयले केही अवरोध गरेका छैनौँ ।’
काठमाडौं महानगरपालिकाका  प्रवक्ता ज्ञानेन्द्र कार्की फोहोर व्यवस्थापनमा बारम्बार समस्या आइरहेको स्विकार्छन् । ‘फोहोरमा बारम्बार अवरोध आइरहेको छ,’ उनले भने, ‘अब दीर्घकालीन योजना बनाएर व्यवस्थापन गर्नुपर्ने भइसक्यो ।’
उनका अनुसार केही दिनदेखि निजी क्षेत्रका फोहोरमैला संकलन गर्ने ठेकदारका कारण फोहोर उठ्न नसकेको हो । ‘शनिबार रातिदेखि नै फोहोर संकलन थालिसक्यौँ,’ उनले भने, ‘सबै फोहोर संकलन गर्न अझै दुई दिन लाग्छ ।’
दसैँलगत्तै संयुक्त योजना बनाएर फोहोर व्यवस्थापनको दीर्घकालीन योजना अघि बढाइने योजना रहेको उनले बताए । काठमाडौंमा मात्र दैनिक पाँच सय टन फोहोर संकलन हुँदै आएको छ ।
ललितपुर महानगरपालिकासहित दैनिक आठ सय टन फोहोर संकलन हुन्छ । उपत्यकामा ६३ प्रतिशत कुहिने र ३७ प्रतिशत नकुहिने फोहोरमैला संकलन हुने गरेको छ ।  

प्रकाशित: ९ आश्विन २०७४ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App