८ वैशाख २०८१ शनिबार
राजनीति

ब्रान्ड ‘मेयर साब’ मुनी साह

जितपछि समर्थसँग लहानका मेयर मुनी साह । तस्बिरःनागरिक

लहान – स्वतन्त्र उम्मेदवारको रुपमा २०४९ को स्थानीय निकाय निर्वाचन लड्दा मुनी साहको चुनाव चिन्ह थियो– साइकल छाप । उनी चुनाव जितेर नगरमा विकास र सम्वृद्धिको पाइडल चलाउन चाहन्थे । तर, परिणाम उनको पक्षमा आइदिएन।

त्यो अवसर पाउन उनले पाँच वर्ष कुर्नुपर्यो । २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी नेकपा एमालेबाट लहानको मेयर निर्वाचित भए । राजनीतिक खेल मैदानमा उनको यो पहिलो ‘इनिङ’ थियो, जुन अवधिमा उनले लोकप्रिय काम गरेर जनताको मन जिते । चुनावका बखत विभाजित मतलाई एकत्रित पारेर सेवा प्रवाह गरे । विकासको सन्दर्भमा आफूलाई एउटा राजनीतिक ‘ब्राण्ड’ को रुपमा स्थापित गरे– ‘मेयर साब’ को रुपमा।

२० वर्ष पछि लहान नगरपालिकामा मुनी साहको पुनःप्रवेश भयो । लहान नगरका जनताले दल हैन लोकप्रिय ब्राण्ड ‘मेयर साब’ रोजे । उनी आबद्ध दलले मधेस विरोधी आरोप खेपिरहेको बखत मधेस आन्दोलनको उद्गम स्थल लहानमा साहले भने सानदार जित निकाल्दै एमालेको रातो झन्डा फरहराए । उनी आवद्ध दल नगरका २४ मध्ये ९ वडामा सीमित हुँदा साहले सानदार जित निकाले । ‘उहाँ नगरको खानदानी व्यक्ति भएपनि व्यवहारमा कहिल्यै त्यसको प्रभाव देखिएन’ उनको चुनावी अभियानका अभियन्ता विनोद साह भन्छन्,‘लहानका जनतामा विकासवादी भिजन भएको नेताको छवि हुनाले पनि चुनावमा जित सुनिश्चित गर्‍यो।’

दुई दशकअघि मेयर हुँदा उनले लहानको खुट्टी खोला सिंचाई योजना, सडक विकास, पानी निकासका लागि नाला निर्माणजस्ता थुप्रै काम गरे । दिन दुःखीको सहयोगमा व्यतिmगत लगानी पनि गर्थे । उनी मेयरको पदभार सम्हाल्दा नगरको आन्तरिक आम्दानी २९ लाख थियो । उनले आन्तरिक आम्दानी सोही वर्ष बढाएर १ करोड ३४ लाख पु¥याए । लहान नगरको बीचबाट बग्ने खुट्टी खोलामा पुल नहुँदा वर्षाको समयमा यहाँका जनता दुबैतिर घेरिन्थे । उनले खोलामा पुल हाल्ने अठोट गरे । र, सफल पारेरै छोडे।

लहानको एक नम्बरको चौडा सडक र दुबैतिर हरिया रुख लगाउने काम उनकै कार्यकालमा भयो । उनले गरेका राम्रा कामको प्रतिस्पर्धी नेता कार्यकर्तापनि प्रशंसा गर्छन् । ‘उतीबेला उहाँले गरेका राम्रा कामले उहाँले अहिलेसम्म मेयर सावको सम्मान पाइरहनु भएको छ’ नेपाली कांगे्रसका एक कार्यकर्ताले भने,‘उतीबेलाकै कामले उहाँ हरेक चुनावमा फाईदा लिनुभयो, अहिले लहानवासीले फेरि मौका दिएका छन् ।’ यो उहाँका लागि अवसर र चुनौती दुवै हो।’

साहले पाँच वर्ष अवधि(२०५४–२०५९) मा लहानको मुहार बदल्ने काम गरे । यसले उनको राजनीतिक यात्रालाई अझ मजबुत बनायो । उनको विकासे योजनाले जनतामा भरोसा भर्ने काम गर्‍यो । मुनी साहले जित्यो भने लहानको विकासमा केही गर्छ भन्ने विश्वास देखियो लहान–७ का सुनिल साहले भने,‘उहाँले पनि मतदातामा यो विश्वास भर्न सक्नुभयो।’

करिब ९० हजार मानिस बसोबास गर्ने लहान नगरपालिकामा ४७ हजार ५ सय मतदाता छन् । चुनावमा दलभन्दा व्यक्ति हेर्ने लहानको विशेषता हो । यहाँका झन्डै २० देखि ३० प्रतिशत मतदाता कुनैदलप्रति आवद्ध नभई तटस्थ बस्ने गरेको अनुमान गरिन्छ । निर्वाचनमा यिनै मतदाताले उम्मेदवारको दल हैन, व्यक्तित्व(अनुहार) हेरेर मत खसाल्छन्।

यसपल्टको निर्वाचनमा मौन मतदाता साहतिर ढल्किए । कतिपय पार्टीकै प्रतिवद्ध सदस्यले पनि व्यक्तित्वलार्इ प्राथमिक्ता दिए । ‘वडाअध्यक्षमा रुख जित्ने तर, मेयरमा साहको मत बढी हुने कस्तो अच्चम ? लहानका एक कांग्रेस नेताले भने, ‘हाम्रा कार्यकर्ताहरु पनि मेयरमा दलभन्दा व्यतिmको अनुहार हेरेको देखियो ।’ यो लगत संस्कारको विकास भयो ति नेताले भने यसले केही हदसम्म राम्रा जनप्रतिनिधि छाने पनि दललाई दीर्घकालसम्म नोक्सान पुर्‍याउने निश्चित छ।’

एमालेले संविधान संशोधनको औचित्य प्रष्ट नपारी पक्षमा उभिन नसकिने अडान राखिरहँदा यसपटक उनका लागि राजमार्गभित्रका मधेसी भोट प्रतिकूल ठानिएको थियो । साहले भने सोही क्षेत्रबाट अपेक्षाभन्दा बढी भोट ल्याए । उनी आफैं यो चुनावलाई विकास र नगरको सम्वृद्धिसंग जोडेर चुनावी अभियान चलाए । ‘उहाँले आफ्नो पहिलो कार्यकालमा पनि नगरको विकासलाई प्राथमिकतामा राखेर काम गर्नुभयो’ लहानका शिक्षक बद्रीनारायण चौधरी भन्छन्,‘अहिले जसले जे भने पनि उहाँप्रतिको पुरानो जनविश्वासले चुनावमा काम गर्यो।’

सबैले भन्छन्–‘मेयर साब’(मुनी साह) लहानमा एक राजनीतिक ब्रान्ड हुन, चुनाव लड्नका लागि उनका लागि नामै काफी छ । दुई दशकअघि स्थापित ‘मेयर साब’  ब्रान्डलाई यसपटकको निर्वाचनले लोकप्रिय भएको प्रमाणित गरको छ । यसले स्वयं साहलाईपनि उत्साही बनाएको छ । ‘मेयर साब ‘ब्रान्ड’! यो त जनताले म प्रति विश्वास व्यक्त गर्नुभएको हो,’ जितपछि उनले भने, ‘मचाहिँ अझ कसरी जनताको पक्षमा राम्रो गर्ने भन्नेमा छु।’

मतदातापनि यसपटक दुई दशकअघिको भन्दा अझ परिस्कृत ‘मेयर साब’ को अपेक्षमा छन् । यसका लागि उनले विकाससंगै चुनावमा विभाजित मतलाई एकत्रीत पार्दै सबैका लोकप्रिय मेयरसाबको भूमिका निर्वाह गर्नुपर्ने छ।

 

प्रकाशित: ९ आश्विन २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App